सर्वोच्चको आदेशपछि डा.पौडेल वीर अस्पताल पुगे

काठमाडौं, पुस ३ : वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा.सन्तोष पौडेलले सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै पद सम्हाल्न वीर अस्पताल पुगेका छन्।
डा.पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदबाट हटाएपछि रिट लिएर सर्वोच्च पुगेका थिए। मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेपछि पद बहालीको बाटो खुलेको थियो।
सर्वोच्चले अन्तरिम आदेशमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको छ।
स्वास्थ्य मन्त्रालयले डा.पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो।
पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए। सर्वोच्चको आदेशलगत्तै पदभार समाल्न उनी वीर अस्पताल पुगेका हुन्।











