Kathmandu Press

‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल हो’

प्रधानमन्त्री दाहालले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत बताए।
‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल हो’

काठमाडौं, पुस ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे।

‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं। एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, उ उतै बढी इन्गेज छ। अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकीे छ। विचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ,’ उनले भने, ‘उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो। यसमा म एकदम क्लियर छु।’

अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको दाहालले दाबी गरे। अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताए। त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उनले बताए।

प्रधानमन्त्री दाहालले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत बताए। उनले अगाडि भने, ‘साँचो भएको भए म बाँच्न नसक्ने हुन्थ्यो । झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु।’

‘प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरि मेरा विरुद्ध लागिपरेका छन्। केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु? मलाई थाहा छ, चुप लागेको हो,’ उनले भने, यहाँ समितिमा प्रश्न उठेकोलेमात्रै जवाफ दिएको हो । बेलायतमा कम्पनी खडा गर्ने भनिएकोलाई पनि म राम्रोसँग चिन्छु।’

 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्