Kathmandu Press

एक्सन रुमबाट प्रधानमन्त्रीले हेरे सडक निर्माण, भन्छन्- ‘सन्तुष्ट हुन सकिएन’

सडकका लागि निर्माण सामग्री समयमै उपलब्धताको लागि सम्बन्धित निकायमा जानकारी आए सानातिना समस्या समाधान गर्न सकिने भन्दै उनले नियमित प्रतिवेदन दिनुपर्ने बताए।
एक्सन रुमबाट प्रधानमन्त्रीले हेरे सडक निर्माण, भन्छन्- ‘सन्तुष्ट हुन सकिएन’

काठमडौं, पुस २ : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।

एक्सन रूमबाट निर्माणाधीन सडकको निरिक्षण पछि प्रधानमन्त्री दाहालले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे।

‘हाम्रा परियोजनाहरू भनेजस्तो गरी अगाडि  बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ,’ निरक्षिण पछि प्रधानमन्त्री दाहालले भने।

सडकका लागि निर्माण सामग्री समयमै उपलब्धताको लागि सम्बन्धित निकायमा जानकारी आए सानातिना समस्या समाधान गर्न सकिने भन्दै उनले नियमित प्रतिवेदन दिनुपर्ने बताए।

‘गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो,’ उनले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्‍यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।’

अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने बताउँदै उनले अब धेरै समय विकासका कामलाई दिने बताए।

‘तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन,’ उनले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’

प्रधानमन्त्री दाहालले अहिले आफूलाई काम गर्ने अन्तिम अवसर भएको पनि दोहोर्‍याए। उनले अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको बताए।

राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्ने बताउँदै उनले यसका लागि गम्भीर गृहकार्य गर्ने बताए।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्