‘उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजानुपर्छ’
(6)-1702894051.jpeg)
काठमाडौं, पुस २ : त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ भन्ने मान्यताका साथ सरकार अघि बढेको बताए।
त्रिविको ४९औं दीक्षान्त समारोहका अवसरमा सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्ने उनले बताए।
विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनु र विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने बिषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको उनले बताए। उनले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको धारणा पनि राखे।
प्रधानमन्त्री दाहालले भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताए।
'विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन रु विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ?' प्रधानमन्त्री दाहालको प्रश्न थियो ।
उनले एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ भन्दै शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए।
सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री दाहालले यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधैँ तत्पर रहेको स्मरण गराए। उनले दीक्षित हुने विद्यार्थीहरूले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य जिम्मेवार रुपमा पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस् भनी शुभकामना पनि दिए।
प्रधानमन्त्री दाहालले एक वर्षको अनवरत मेहनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गए पनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेकाले सरकारको इमान्दार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहने विश्वास पनि व्यक्त गरे।
दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए। निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।











