प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सकियाे, नाम अनुमाेदन पर्सि
न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन्।
काठमाडौं, पुस २ : सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सकिएको छ।
न्यायाधीशमा सिफारिस ६ जनाको शुक्रबार सुरु भएको सुनुवाइ आज (सोमबार) सकिएको हो। उनीहरुको नाम अनुमोदन पर्सि (पुस ४) हुनेछ। त्यसका लागि अर्को बैठक बस्ने निर्णय सुनुवाइ समितिले गरेको छ।
न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन्।
सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दाहरुलाई किनारा लगाउदै जाने कुरालाई एकीकृत कार्ययोजनाका साथै प्रणालीगत बिकास गर्नुपर्ने बताए। उनले बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरि बहस गर्नुपर्नेमा जोड दिए।
त्यस्तै अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै बिकृति, भ्रष्टाचार अन्त्य गर्न आफुले पहल गर्ने बताए। उनले न्यायीक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफु लागिपर्ने जिकिर गरे।
बैठकमा समिति सदस्यहरुले सहज रुपमा छिटो न्याय प्रदान गर्न प्रस्तावित न्यायाधीशहरुको कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए । सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरे मात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।











