Kathmandu Press

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानवअधिकार आयोगकाे आग्रह

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानवअधिकार आयोगकाे आग्रह

काठमाडौं, पुस १ : राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।

केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको विभिन्न स्राेतबाट प्रापत हुन आएको भन्दै आयोगले  गम्भीर ध्यानाकर्षण भएकाे बताउँदै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो।

'केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको छ,' आयोगले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेकाे विज्ञप्तिमा युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

'मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आयोगले आग्रह गर्दछ,' आयोगले भनेकाे छ।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्