गठबन्धन हल्लाएर हल्लिने स्थितिमा छैन : प्रधानमन्त्री दाहाल
एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे।-1702739157.jpg)
काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गरेका छन्।
राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले गठबन्धन टुटाउनका लागि सरकारलाई कम्जोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दाबी गरेका हुन्।
‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ,’ उनले भने, ‘कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन। मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ।’
एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे।
‘भारतदेखि सुरु भएको इटाली हुँदै अमेरिका र चीनसम्मका भ्रमणबाट एकथरी मानिसहरुलाई लागेको थियो सायद माओवादी नेतृत्वमा, प्रचण्डको नेतृत्वमा हुने यी विदेश भ्रमण कहीँ न कहँ सरकार नराम्रोसँग चिप्लिन्छ र त्यही मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखेका थिए । तर ती सपनाहरु चकनाचुर भए,’ उनले भने।
उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारे नयाँ घोषणा गर्ने उद्घोष गरे। उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवे र अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे।
अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएको उनले बताए।











