विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएका छौं : परराष्ट्रमन्त्री साउद
उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए।-1702733301.jpg)
काठमाडौं, मंसिर ३० : परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको बताएका छन्।
दोहा २१औं फोरममा सहभागिता जनाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए।
‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकहरुलाई सुरक्षित रोजगारीका थप अवसरहरु उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको कुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु,’ उनले भने, ‘यी विषयहरुमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ।’
मन्त्री साउदले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरी सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए। उनलेजलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरुको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरुका बारेमा जानकारी गराएको बताए।
परराष्ट्रमन्त्री साउद दोहा २१औं सम्मेलनमा सहभागी हुन गत शनिबार कतार गएका थिए।











