निष्ठावान् पछि पारिनु चुनौतीको विषय : सञ्चारमन्त्री शर्मा

काठमाडौं, मंसिर ३० : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पछिल्लो समयमा सबै क्षेत्रमा निष्ठाको कमी आउनु समाजका लागि ठूलो चुनौती र चिन्ताको विषय भएको बताएकी छन्।
प्रदर्शनीमार्गमा शनिबार आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौं साधारण सभामा बोल्दै उनले निष्ठापूर्वक बस्ने मानिस पछाडि पर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्। यस्तो प्रवृित्तलाई हटाउनु समाजकै लागि चुनौती बनेको उनले बताइन्।
उनले भनिन्, ‘पछिल्लो समयमा सबै क्षेत्रमा निष्ठाको कमी भएको छ। निष्ठापूर्वक बस्ने मानिस पछाडि पर्ने जुन स्थिति बनेको छ, यो कसरी हटाउने भन्ने हाम्रा अगाडि चुनौतीको विषय बनेको छ। यस क्षेत्रमा साहित्यले के सेवा दिन सक्छ भन्ने कुरा हो।’ यस्तै, राजनीतिक आन्दोलनहरुले व्यवस्था परिवर्तन गर्दै गर्दा संस्कार संस्कृतिमा पनि आवश्यक परिवर्तन भने गर्न नसकेको उनले बताइन। व्यवस्थाको सुदृढीकरणका लागि फेरि एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको उनको भनाइ थियो।
उनले भनिन्, ‘राजनीतिक व्यवस्था परिवर्तन गर्दै गर्दा हामीले हाम्रा संस्कार संस्कृतिलाई परिवर्तन गर्न सकेनौं की भन्ने विषयमा पनि सोच्न आवश्यक छ। यसको मूल सहजीकरण राजनीतिक दलहरुले नै गर्ने हो।
जसरी हामी राजनीतिक परिवर्तनका लागि सहकार्यमा हिँडेका थियौं, अहिले व्यवस्थाको सुदृढीकरणका लागि, समस्या समाधानका लागि फेरि अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ।’ उनले यस क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।











