‘बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ’

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्।
ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउने बताएका हुन्।
मुलुकका समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित रहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र संवर्धन गर्नु दायित्व मात्रै नभई अधिकार पनि भएको धारणा राखे। प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए।
प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका साथै सरकारका दस्तावेजमा लेख्नुपर्ने निर्णय गरेको भन्दै बिस्तारै अव राष्ट्रिय सम्वत नेपाल सम्वतमात्रै हुने बताए।











