Kathmandu Press

मेलम्ची सञ्चालनमा सरकार गम्भीर देखिएन : नेता पौडेल

सुरूङभित्रको फोहोर सफा गर्ने भन्दा पनि ठेकेदारले भुक्तानी नपाएको र त्यहीकारण काम अगाडि बढ्न सकेको बताए ।
मेलम्ची सञ्चालनमा सरकार गम्भीर देखिएन : नेता पौडेल

काठमाडौं, मंसिर ३० : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अर्बौं रुपैयाँ खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजनामा सञ्चालनमा सरकार गम्भीर नदेखिएको बताएका छन्।

सरकारले चाहेमा अस्थायीरूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको नेता पौडेलले बताए। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन्।

‘मेलम्चीको पानी कहिले आउँछ भनेर काठमाडौंले पर्खिरहेको छ। सरकारले आउँछ, बनाउँदैछौँ भनिरहेको छ, तर काठमाडौँबासीले पानी खान पाएका छैनन्,’ उनले भन ‘अहिले तत्काल अस्थायी समाधान गर्न गाह्रो देखिँदैन। सुरूङमा बाढीले त्यस्तो धेरै फोहोर जम्मा गरेको अवस्था पनि होइन। थोरै प्रयास गर्दामात्रै पनि पानी लैजान सकिने अवस्था छ। अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा सरकार थोरै गम्भीर हुनुपर्छ।’

काठमाडौं–५ बाट निर्वाचित सांसद पौडेलले काठमाडौंबासीलाई तत्कालै पानीको प्यास मेटाउने गरी आयोजनाको अघि बढाउन सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत ध्यानाकर्षण गराउने बताए।

सुरूङभित्रको फोहोर सफा गर्ने भन्दा पनि ठेकेदारले भुक्तानी नपाएको र त्यहीकारण काम अगाडि बढ्न सकेको बताए । उनले अरबौँ खर्च गरेर बनाएको योजनामा साना साना कुराले अल्झाउन नहुने उल्लेख गरे।

‘समस्या छ भनतेर छोडिराख्नु भएन । के समस्या हो ? कसरी समाधान गर्न सकिन्छ भनेर काम सुरू हुनुप¥यो,’ उनले भने। उनले सरकारले आयोजनालाई दिगो बनाउने विषयमा समेत ध्यान दिनुपर्ने माग गरे ।

 

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्