Kathmandu Press

‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ’

प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गरे।
‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ’

धनुषा, मंसिर २९ : प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताए।

जनकपुरधाममा आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताए।

त्यसैगरी नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गरे।

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले दुई देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।

 भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राखे।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र शान्तिनिकेतन हिन्दी प्रचारसभा पश्चिम बङ्गाल भारतको संयुक्त आयोजनामा सुरु भएको साहित्य उत्सवमा सर्वभाषा कवि सम्मेलन, विभिन्न सांस्कृतिक तथा साहित्यीक पक्षमाथि छलफललगायत कार्यक्रम हुने कार्यतालिका छ।

प्रकाशित मिति: ०७:०७ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्