कैलालीकाे लक्ष्मीनारायण मन्दिरमा डा. केसीले सुरु गरे अनशन
धनगढीस्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बस्ने तयारी गरेका केसी संघर्ष समितिको विरोधपछि लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका हुन्।
कैलाली, मंसिर २९ : प्रा.डा गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरबाट पुनः अनशन सुरु गरेका छन्। सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा.केसीले साँझ ५ बाजेबाट तीनदिने अनशन थालेका हुन्।
केसीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै आजै साँझबाट अनशन बस्ने जानकारी दिएका थिए।
धनगढीस्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बस्ने तयारी गरेका केसी संघर्ष समितिको विरोधपछि लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका हुन्।
उनले विगतमा भएका सम्झौता कार्यान्वयनलाई मूख्य माग बनाएका छन्। सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउनुपर्ने, सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्नेलगायत माग पनि उनले राखेका छन्।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने माग पनि उनको रहेको छ।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडिकै सम्झौताबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेज स्थापना गर्ने माग पनि उनका छन्।











