प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ

काठमाडौं, मंसिर २९ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश सुवेदी मुसलमानको सुनुवाइ गरेको हो।
सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो। हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केहि मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उहाले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गरे।
त्यस्तै उहाले न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुयाउने धारणा राखे।
त्यस्तै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता जनाए। न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उहाले बताए।
न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।
प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुनुहुन्छ। अन्य प्रस्तावित न्यायाधीशको क्रमश सुनुवाइ हुने र निर्णय सुनाउने समितिले जनाएको छ।











