Kathmandu Press

संसद अवरोध गर्दै कांग्रेसले भन्यो, ‘अख्तियारले आफ्नै अधिकार दुरुपयोग गर्‍यो’

काठमाडौं, माघ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक पनि अवरूद्ध गरेको छ।

अख्तियार दुरुपयोग अनुसन....

संसद अवरोध गर्दै कांग्रेसले भन्यो, ‘अख्तियारले आफ्नै अधिकार दुरुपयोग गर्‍यो’
फाइल

काठमाडौं, माघ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक पनि अवरूद्ध गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा खरिदविक्री गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाउँदै बैठक अवरोध गरेको हो।

Hardik ivf

शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रस सांसदले उठेर विरोध जनाए। त्यसपछि विशेष समयमा बोल्दै कांग्रेस सांसद मीन विश्वकर्माले अख्तियारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएका थिए। 

उनले सुशान कायम गर्न र मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन भूमिका खेल्ने अख्तियारले आफ्नै अधिकार दुरुपयोग गरेको आरोप लगाए। ‘भर्खरै अख्तियारले गरेको निर्णय हेर्दा सुशासन कायम गर्न भूमिका खेल्नुपर्नेमा आफ्नो अधिकार आफैंले दुरुपयोग गरेको छ,’ उनले भने, ‘हामी दशकौं लोकतन्त्रका लागि लडेका छौं। बैठक अवरोध गर्नु हाम्रो रहर हैन। तर, सबै किसिमका अन्यायको न्याय माग्ने थलो संसद हो। त्यसैले संसदीय मर्यादामा रहेर कुरा उठाएका हौं।’

उनले ललिता निवास जग्गा प्रकरणमा प्रस्ताव लैजाने मुख्य सचिव लिलामणी पौडेल, पास गराउने प्रधानमन्त्री माधवकुमार नेपाल, सरकारी जग्गाको लालपुर्जा पाएका विष्णु पौडेलका छोरालगायतलाई उन्मुक्ति दिएर निर्दोषमाथि मुद्दा चलाएको भन्दै आपत्ति जनाए। ‘प्रस्ताव लैजाने, पास गर्ने र लालपुर्जा बोक्ने महान हुने। तर, कित्ताकाट गर्ने, लालपूर्जा बनाउने क्षेत्राधिकार नै भएको भौतिकपूर्वधारमन्त्रीमाथि मुद्दा चल्ने?,’ विश्वकर्माले प्रश्न गरे, ‘भौतिक पूर्वाधार मन्त्रालयको काम त पूर्वाधार बनाउने हो। अनी मन्त्री कसरी दोषी भयो।’

उनले विष्णु पौडेलले बालुवाटारको जग्गा बैंकमा राखेर ४९ लाख ऋण लिएको कुरा समेत बाहिर आएकाले उनी कसरी निर्दोष भए भन्दै प्रश्न उठाए। ‘गाँउघरमा उखान छ। स्कुल पढ्दा बाख्री हरायो भन्ने होइन, तस्कर पल्कियो भन्ने मुख्य कुरा हो,’ उनले भने, ‘कसुरदारले मुक्ती पाउने र निर्दोषहरु थुनिने यो कस्तो न्याय हो। लालपूर्जा फिर्ता गर्दा मुक्ती पाइने भए भोलि कुनै डाक्टरले मिर्गौला चोर्यो र पछि फिर्ता गर्यो भने कारबाही हुन्छ की हुँदैन?’

अख्तियारलाई सरकारको छाँया बनाएको उनको आरोप थियो। ‘सरकारका प्रवक्ताले यो प्रकरणमा अख्तियारले मुद्दा दायर गर्नु पनि सरकारको उपलब्धि हो भनेर अभिव्यक्ति दिनुभएको छ। त्यसो हो भने अख्तियार सरकारको छाँया बन्यो,’ उनले भने, ‘सरकारले कांग्रेसका मान्छे छानीछानी थुन्ने प्रपन्च रच्यो। यो विभेदपूर्ण र प्रतिसोधपूर्ण छ। सरकारको छाँयामा बसेर अख्तियारले आफ्नालाई च्याप्ने र विरोधीलाई ठोक्ने रणनीति लियो।’

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी आइतबारसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, माघ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्