Kathmandu Press

भारतको राजधानी दिल्ली प्रदुषणले निस्सासिदैं

भारतको राजधानी नयाँ दिल्ली आइतबार विषाक्त “स्मग”ले ढाकिएको थियो। सयौं उडान रद्द भए। कति अन्यत्रै मोडिए। यो संकट टार्न नसकेकोमा नेताहरू एकअर्कालाई दोषारोपण ....

भारतको राजधानी दिल्ली प्रदुषणले निस्सासिदैं
Hardik ivfHardik ivf

भारतको राजधानी नयाँ दिल्ली आइतबार विषाक्त “स्मग”ले ढाकिएको थियो। सयौं उडान रद्द भए। कति अन्यत्रै मोडिए। यो संकट टार्न नसकेकोमा नेताहरू एकअर्कालाई दोषारोपण गर्नमै व्यस्त थिए। पछिल्ला वर्षहरूमा नयाँ दिल्ली यति प्रदुषित भएको यो नै पहिलो पटक हो।

हरेक जाडोमा दुई करोड जनसंख्या भएको यो महानगर कारको धुवाँ, औद्योगिक उत्सर्जन र छिमेकी राज्यका कृषि फारममा डढाइने परालबाट निस्कने स्मग अर्थात् धुँवा र धुलोको विषालु कुहिरोले ढाकिन्छ। वायुमण्डलमा साढे दुई माइक्रोन वा सोभन्दा कम व्यास भएका मसिना कणहरूको सघनता यो वर्षकै उच्च भएको सिस्टम अफ एयर क्वालिटी वेदर फोरकास्टिङ एन्ड रिसर्च (सफर) ले जानकारी दिएको छ। सफर राज्यद्वारा सञ्चालित संस्था हो।

हावाको पिएम २.५ गुणस्तर सूचकांक ८१० पुग्यो। दिल्लीस्थित अमेरिकी दूतावासले जनाए अनुसार यो खतरनाक तहभन्दा धेरै हो। दूतावासले पनि स्वतन्त्र रूपमा प्रदुषणको मात्रा अनुगमन गर्ने गर्दछ। विश्व स्वास्थ्य संगठनले दैनिक अधिकतम २५ भन्दा माथिको मापनलाई असुरक्षित मानेको छ।

“प्रदुषण असह्य बिन्दुमा पुगेको छ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार ट्विट गरेका थिए। दिल्ली विमानस्थलमा “भिजिबिलिटी” यति कम थियो कि ३७ ओटा उडान अन्यत्रै मोडिएको र सयौं उडान रद्द भएको अधिकारीले बताए। बंगलादेश र भारतबीच हुने ट्वेन्टीट्वेन्टी इन्टरनेसनल आइतबार योजना अनुसार नै उड्यो। सरकारी निकायले चेतावनी दिए पनि यात्रु झण्डै पूर्ण क्षमतामा उपस्थित थिए।

“साँच्चै भन्नुपर्दा डरलाग्दो छ। अगाडि के छ केहि देखिदैंन,” प्रदुषण नियन्त्रण गर्न नेताहरूलाई आव्हान गर्ने दिल्लीमा आइतबार आयोजना गरिएको एउटा र्‍यालीका सहभागी जयभिप्राले बताए। प्रदर्शनमा सहभागी नर्सहरूले स्मगले धेरैभन्दा धेरै मानिस प्रभावित भएको बताए।

“फोक्सो र श्वासप्रश्वासका धेरैभन्दा धेरै रोगीहरू आउन थालेका छन्। यस्तो लाग्छ उनीहरू दमबाट पीडित छन्,” रेस्मा सिएमले भनिन्।

परिस्थितीले राज्य र संघीय नेताबीच आरोपप्रत्यारोपको खेल सुरू भएको छ। शुक्रबार “आकस्मिक” तहमा पुगेको अधिकारीहरूले बताए। गत साता छिमेकी पञ्जाब र हरियाणा राज्य सरकारलाई केजरीवालले ठोस कारवाहीको माग गर्दै ट्विट गरेका छन्। “छिमेकी राज्यहरूमा बाली जलाएर निस्किएको धुँवाले दिल्ली ग्याँस चेम्बर बनेको छ,” उनले ट्विट गरेका छन्।
केजरीवालले मुद्दालाई राजनीतिकरण गरेको र दुई राज्यलाई शत्रुको रूपमा प्रस्तुत गरेर नराम्रो छवि बनाएको संघीय वातावरण मन्त्री प्रकाश जवादेकरले आरोप लगाए।

दिल्लीका विद्यालयलाई मंगलबारसम्क बन्द गर्न निर्देशन दिइएको छ। निर्माण कार्य ठप्प छ। सोमबारदेखि जोरबिजोर नम्बरका सवारी साधन चलाइनेछ। गैरनाफामुखी संस्था भाइटल स्ट्राटजिसको वातावरणीय स्वास्थ्यका वरिष्ठ उपाध्यक्ष डेनियल कासले अस्थायी उपायहरू सहयोगी भए पनि समयसँगै तिनको सिमीत प्रभाव हुने बताए।

“तिनीहरू वायु प्रदुषणको सबैभन्दा महत्त्वपूर्ण पक्षको सम्बोधन गर्न पर्याप्त छैनन्। मानिसहरू दैनिक जीवनमा त्यसबाट प्रभावित छन्,” कासले भने। हावाको गुणस्तरमा सुधार ल्याउन स्थानीय तथा राष्ट्रिय स्तरमा थुप्रै उपायहरू अवलम्बन गर्नुपर्ने उनले बताए। कृषिको अभ्यासमा परिवर्तन ल्याउनेबाहेक सार्वजनिक यातायातमा बढि लगानी, दुई पाङ्ग्रे सवारी साधनको उत्सर्जन नियन्त्रण, विद्युत उत्पादनका श्रोतको प्रयोग र कोइलाको साटो प्राकृतिक ग्याँसले घर न्यानो बनाउने कार्य पनि समावेश गर्नुपर्ने उनले बताए।

पोहोर संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनमा विश्वका १५ सबैभन्दा धेरै प्रदुषित शहरमध्ये १४ ओटा भारतमा रहेको उल्लेख गरिएको थियो। एउटा अमेरिकी अध्ययन अनुसार प्रदुषणले प्रत्येक वर्ष दश लाख मानिसको अल्पायुमै ज्यान गरेको छ।

प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्