‘पुरुषले जग्गा बेचेर भए पनि चुनाव लड्छ, महिलालाई त्यो अवस्था छैन’
‘चुनाव लडेर राजनीतिमा आउन सकिन्छ, तर चुनावै महँगो छ,’ उनी भन्छिन्, ‘चुनावका नाममा अनावश्यक खर्च गर्ने परिपाटीमा परिवर्तन गर्न आवश्यक छ । चुनावको समयमा रक्सी र मासु खुवाउने प्रचलन पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्छ । महिलाका नाममा सम्पत्ति हुँदैन, आर्थिक आयस्रोत हुँदैन अनि कसरी यस्तो महँगो चुनाव लड्न सक्छन् ?’काठमाडौं, पुस १९ : नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव यति बेला चर्चामा छन्, कांग्रेसको १४औँ महाधिवेशनमा सर्वाधिक मत (३,९६९)ले मधेसी महिला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको चर्चा चुलिएको हो । राजनीतिक सफलताको यो चर्चा एकातिर छ, अर्कोतिर उनी पुत्र गुमाएको गहिरो पीडामा छन् । २० वर्षको पुत्र गुमाएकी आमाको व्यथा जोकोहीले अनुमान गर्न सक्छन् ।
सबै क्षेत्रमा, विशेषतः राजनीतिमा उसैको चर्चा हुन्छ, जो सफल हुन्छ । सर्वाधिक मतले विजयी भएकी मुक्ताको सफलता र संघर्षको कथा कस्तो होला ? यही जान्न हामीले फोन वार्ता गरेका थियौँ । उनी त तीन वर्षअघि गुमाएको छोराकै शोकमा रहिछन् ।
उनका जेठा छोरा काठमाडौंमा इन्जिनियरिङ पढ्दै थिए । राष्ट्रिय सभा सदस्य भएपछि शपथग्रहण गर्न मुक्ता ०७४ फागुन २० गते काठमाडौं आएर छोराहरूकै कोठामा बसेकी थिइन् । जेठा छोराले नै उनलाई बानेश्वरस्थित संसद् भवनमा पु¥याइदिएका थिए । फागुन २८ गते उनका जेठा छोरा आफन्तको विवाहमा जनकपुर गए । विवाह सकेर चैत १ गते काठमाडौं फर्कने सल्लाह भएको थियो । तर, उनी कहिल्यै फर्केनन् । मुक्तालाई चैत २ गते राति फोन आयो– सडक दुर्घटनामा परी तपाईंका छोरा रहेनन् ।
मुक्ता रातारात जनकपुर पुगिन् । ‘त्यहाँ पुगेपछि थाहा पाएँ, छोरालाई त धारिलो हतियार प्रयोग गरी हत्या गरिएको रहेछ,’ उनी भन्छिन्, ‘मलाई धेरैले भने– दुर्घटनामा परेको होइन, हत्या भएको हो । केही मानिसले राजनीतिक प्रतिशोधका लागि मेरो छोराको हत्या गरेका हुन् । तर, प्रहरीको रिपोर्टमा सडक दुर्घटना उल्लेख गरिएको छ । अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।’
राजनीतिमा मुक्ता
महोत्तरीमा जन्मेकी मुक्ताको परिवार पहिलेदेखि नै कांग्रेसप्रति आस्थावान् हो । उनका बुवा शिक्षक थिए । परिवार शिक्षित भए पनि समाजमा त्यतिबेला बालविवाह प्रचलित थियो । त्यसैले १४ वर्षको उमेरमै उनको विवाह भयो, धनुषामा । विवाह हुँदा उनी कक्षा ९ मा पढ्दै थिइन् । विवाहपछि पढाइलाई अगाडि बढाएकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
पढाइसँगै उनी शिक्षण पेसामा आबद्ध थिइन् । परिवार नै कांग्रेसी पृष्ठभूमिको भएकाले उनी सुरुमा शिक्षक संघमा आबद्ध थिइन् । ‘११ वर्ष पढाएँ । ०७० मा सुशील कोइरालाले समानुपातिकबाट सभासद् बनाएपछि शिक्षण पेसाबाट राजीनामा दिएँ,’ उनी भन्छिन्, ‘त्यसयता म कांग्रेस राजनीतिमा सक्रिय छु ।’
कांग्रेसको ११औँ महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि थिइन् । १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा लडिन् । तर, दुवैपटक हार व्यहोरिन् ।
मुक्ताको आत्मविश्वास र अनुभव छ– कुनै पनि क्षेत्रमा निरन्तर लाग्ने हो भने सफलता हासिल भएरै छाड्छ । ‘दुईपटकसम्म पराजित हुँदा पनि म विचलित भइनँ,’ उनी भन्छिन्, ‘पूर्ण लोकतन्त्रमा हारजित हुनुलाई सामान्य मान्नुपर्छ ।’
महँगो चुनाव महिलाले कसरी लड्ने ?
हाम्रो संविधानले राजनीतिमा समावेशीको व्यवस्था किटान गरेको छ । तर, पार्टीहरूमै समावेशी कोटा रिक्त रहेको अवस्था छ । यो अवस्थामा महिलाहरूलाई राजनीतिमा आउन केले रोकेको होला ? ‘नेपाली राजनीतिमा महिलाहरू अवसर र चुनौतीका बीचबाट गुज्रनुपरेको छ,’ मुक्ता भन्छिन्, ‘किनभने महिलालाई पुरुषसरह राजनीतिमा आउन सहज छैन । घरायसी काम, सन्तानको जिम्मेवारी महिलाको काँधमा हुन्छ ।’
राजनीतिमा महिला स्थापित हुनका लागि विविध पक्षले असर गर्छ । सामाजिक, आर्थिक र सांस्कृतिक रुपमै महिलालाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउनुपर्ने उनी बताउँछिन् । ‘चुनाव लडेर राजनीतिमा आउन सकिन्छ, तर चुनावै महँगो छ,’ उनी भन्छिन्, ‘चुनावका नाममा अनावश्यक खर्च गर्ने परिपाटीमा परिवर्तन गर्न आवश्यक छ । चुनावको समयमा रक्सी र मासु खुवाउने प्रचलन पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्छ । महिलाका नाममा सम्पत्ति हुँदैन, आर्थिक आयस्रोत हुँदैन अनि कसरी यस्तो महँगो चुनाव लड्न सक्छन् ?’
सम्पत्तिको स्वामित्व पुरुषको हातमा हुने भएकाले कुनै पनि क्षेत्रमा आउन पुरुषसरह महिलालाई सहज नभएको उनले बताइन् । ‘पछिल्लो समय कर कम लाग्छ भनेर महिलाका नाममा घर, जग्गा किन्नेदेखि कम्पनी दर्ता गर्ने प्रचलन बढेको छ,’ उनी भन्छिन्, ‘तर खरिद–बिक्रीको गर्ने हक महिलालाई हुँदैन । पुरुषले चुनाव लड्न जग्गा बेच्न सक्छ, तर महिलाले त्यसो गर्न पाउँदैनन् ।’
पारिवारिक पृष्ठभूमि राजनीतिक भएका, आर्थिक र शैक्षिक अवस्था मजबुत भएका एकाध महिला राजनीतिमा सक्रिय रहेको उनी बताउँछिन् । ‘राजनीतिमा आउन महिलामा पनि गरिब, दलित, मधेसी महिलालाई चुनौतीका पहाड छन्,’ उनी भन्छिन्, ‘अर्कोतिर पितृसत्तात्मक समाजका कारण राजनीतिमा महिलाको नेतृत्वलाई स्विकार्ने अवस्था अझै राम्रोसँग विकास भइसकेको छैन ।’
यद्यपि कांग्रेसमा समानुपातिक सहभागिता व्यावहारिक भएको उनी बताउँछिन् । ‘अब स्थानीय तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउनुपर्छ,’ उनी भन्छिन्, ‘संख्यात्मक हिसाबले मात्रै होइन, गुणात्मक हिसाबले पनि सशक्त महिला ल्याउनुपर्छ ।’
पछिल्लो स्थानीय निर्वाचनमा स्थानीय तहको प्रमुखमा अधिकांश पुरुष र उपप्रमुखमा अधिकांश महिला आउनुको पछाडि धेरै कारण रहेको उनको बुझाइ छ । ‘महिलालाई देखाउनका लागि मात्रै कोटामा ल्याइएको देखिन्छ,’ उनी प्रश्न गर्छिन्, ‘किन प्रमुखमा महिला आउन सकेनन् ?’
अब सबै पार्टीहरूले महिलालाई प्रमुख पदमा ल्याउन सक्नुपर्छ । त्यसका लागि राजनीतिक पार्टीमा लैंगिकमैत्री वातावरण बनाइनुपर्छ ।