मुलुकको आवश्यकता र परिस्थितिजन्य बाध्यता, कांग्रेसमा अब एकपटक देउवा
लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ। यो मान्यतामा देउवा सदैव दृढ छन्। जीवनको उत्तरार्धमा आफ्नो निष्ठामा विचलित हुने ठाउँ उनलाई छैन।सात दशक लामो गौरवमय इतिहास बोकेको नेपाली कांग्रेस पार्टी यतिबेला चौधौं महाधिवेशनको सम्मुखमा छ। लोकतन्त्र, शक्तिपृथकीकरण, विधिको शासन, मानवअधिकार, वैयक्तिक स्वतन्त्रता, सामाजिक न्याय, समानताका खातिर अनेक हण्डर खेप्दै जेलनेल भोगेका लाखौं कार्यकर्ताको पंक्तिले भरिएको पार्टी हो कांग्रेस। महाधिवेशनमार्फत यस्तो स्वर्णिम इतिहास रहेको कांग्रेस पार्टीको नेतृत्व कस्तो हुनुपर्छ या कस्तो आउला भन्नेमा भित्रबाहिर जिज्ञासा उठ्नु स्वाभाविकै हो। शनिबार सम्पन्न उम्मेदवारी मनोनयनको मुखैमा कांग्रेसका अग्रज सादगी वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति नै निकालेर सभापतिको प्रतिस्पर्धामै नरहेको उद्घोष गरिसकेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाका समकालीन अग्रज नेताको भावुक अभिव्यक्तिसहितको विज्ञप्तिपछि नेपाली कांग्रेसको राजनीतिले एकाएक नयाँ मोड लिएको छ। प्रतिस्पर्धामा नेता पौडेलको अनुपस्थितिबाट एकसरो ढंगले अड्कलबाजी पनि हुन थालेको छ। ६ दशक बढी समय कांग्रेस राजनीतिमा घामपानी खेपेका अग्रज गुरुलाई टिमभित्रैबाट किन यति सारो अवमूल्यन र अर्घेल्याइँ गरियो भन्ने पाटो कांग्रेस राजनीतिमा भोलि छुट्टै समीक्षाको विषय बन्ला नै, सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैं आखिर कांग्रेस सभापति देउवाले नै बोहोराटार पुगेर आफ्ना समकक्षीलाई सद्भाव र सहानुभूति दर्साएको दृश्यले कांग्रेसको भावना जोडेको छ।भावनात्मक सम्बन्धको हस्तमिलनले आम कांग्रेसका आँखा फेरि एकपल्ट रसाएका छन् । यो विषय एक बसाइमा समग्र पाटोमा बहसपैरवी गर्न सम्भव छैन।
एउटा यथार्थ सत्य यो हो कि कांग्रेसजस्तो संघर्षपूर्ण इतिहासले भरिएको एउटा जीवन्त पार्टीमा रातारात नेता वा नेतृत्व जन्मेको होइन। त्यो हुन सम्भव पनि छैन। अनेक परीक्षणमा पास हुँदै आम कार्यकर्ताको विश्वास जितेर मात्रै कांग्रेसमा नेता बन्न सम्भव भएको हो। कांग्रेसको यस महाधिवेशनमा आइपुग्दा फेरि एकपटक अनुभव र परिपक्वता कि वंश परम्पराको निरन्तरता भन्ने सवाल जोडतोडले उठ्नेछ। साढे ९ लाख क्रियाशील सदस्य र ४५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको पार्टीको नेतृत्व गर्न अनुभवले खारिएका व्यक्तिबाट मात्र सम्भव छ। काँचो नेतृत्वले कांग्रेसको सुदूर भविष्यप्रति आम कार्यकर्तालाई ढुक्क बनाउन सक्दैन।
खारिएको अनुभव, युवाको जोस
नयाँ परिवेशमा खारिएको अनुभवले मात्र आम कार्यकर्तामाझ उत्साह भर्ने विश्वास गर्न सकिन्छ। कांग्रेस रूपान्तरणका लागि परिपक्व अनुभव र नयाँ जोसको समिश्रण समयको माग हो। भविष्यको कांग्रेस बलियो देख्न सबैलाई समेटेर अघि बढ्न जरुरी छ। लोकतन्त्रबिना राष्ट्रिय एकता असम्भव छ। राष्ट्रिय एकता नभए मुलुकको स्वाधीनता कमजोर हुन्छ। आर्थिक विकासबिना लोकतन्त्र सबल बन्न सक्दैन। यी चिजलाई कांग्रेसले मात्र अगाडि बढाउन सक्छ। शान्ति र समृद्धिको विषय पनि यसैमा निर्भर छ। आगामी दिनमा देशको आर्थिक विकासका नीति तथा योजना बिपीको लोकतान्त्रिक समाजवादी आर्थिक नीति तथा सिद्धान्तलाई आधार मानी खरो ढंगले व्यवहारमा उतार्न आवश्यक छ। जुन अघिल्लो पुस्ताको ज्ञान र अनुभव युवापुस्ताको ऊर्जाको सम्मिश्रणबाटै सम्भव छ।
यसरी हेर्दा समसामयिक नेपाली राजनीतिमा अनुभवी एवं परिपक्व नेताहरूको खोजी हुँदा शेरबहादुर देउवाको नाउँ अग्रपंक्तिमा आउँछ। केही विशिष्ट गुणहरूकै कारण कांग्रेसमा मात्र नभई वर्तमान राजनीतिको मियो बन्न सफल भएका हुन्। सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझेका नेता हुन् उनी। पाँच दशक लामो राजनीतिक संघर्ष र कमीकमजोरीबाट सिक्दै अघि बढेका कारण पनि यसमा सन्देह छैन। वास्तवमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने अवस्थामा सबैका लागि सहज विकल्प देउवा नै हुन्। मुलुकमा उत्पन्न जुनसुकै संकटलाई पनि लोकतान्त्रिक विधि र पद्धतिमार्फत समाधान दिन सक्ने नेता मुलुकको आवश्यकता हो।
सहमति, समन्वय र सन्तुलनको खुबी
परिवर्तित सन्दर्भमा कांग्रेसलाई एकढिक्का बनाएर मुलुकलाई अप्ठ्यारोबाट बाहिर निकाल्न देउवाले समन्वयकारी खुबी देखाउन सक्छन्। केपी ओली नेतृत्वको दुई तिहाइको सरकार विघटनपछि विशेष परिस्थितिमा मुलुकको नेतृत्व सम्हाल्न जिम्मेवारी लिएबाटै पनि यो स्पष्ट भएको छ। आज पनि राष्ट्रिय सहमति निर्माणमा माउ भूमिका खेल्न सक्ने नेताका रूपमा देउवालाइ हेरिएको छ। देउवामा अन्तरनिहित राजनीतिक संस्कारले पनि राष्ट्रिय एकता कायम गर्न अभिप्रेरित गर्छ।
पछिल्लो समय संसद्मा केवल ६३ सिट भएको कांग्रेसको संसदीय दलको नेता रहेका देउवाले१६५ जना सांसदको विश्वास जित्न सफल हुनु यसैको दृष्टान्त हो। कांग्रेस, माओवादी केन्द्र, जसपाका दुवै खेमा, राजमो मात्र नभएर माधव नेपाल पक्षलाई समेत एक ठाउ“मा उभ्याउन सक्नु विश्वासकै प्रतिफल थियो। यतिबेला देउवाको नेतृत्वलाई सिंगो मुलुकले नै स्वीकार गरेको छ। अरू त अरू केपी ओलीले समेत देउवाविरुद्ध औंला ठड्याउन सकेका छैनन्। बिनापूर्वाग्रह वस्तुनिष्ठ ढंगले भन्ने हो भने आजको दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली राजनीतिका मियो हुन्। देउवा राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्ने नेता मानिन्छन्। पटकपटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवामा निहित लचकता एउटा छुट्टै विशेष गुण नै हो।
जुनसुकै संकटलाई पनि लोकतान्त्रिक विधि र पद्धतिमार्फत बुद्धिमत्तापूर्ण तरिकाले समाधान दिने नेता आज मुलुकलाई चाहिएको छ। अनुभव र परिपक्वताको अभावमा मुलुक, राजनीति होस् या पार्टी सही ढंगले सुसञ्चालन हुन सक्दैन। यसकारण, मुलुकलाई अप्ठ्यारोबाट बाहिर निकाल्न सक्ने फरक खुबीका रूपमा देउवालाई हेरिएको छ। यति मात्र होइन उनले समन्वयकारी भूमिका खेल्न सक्छन् भन्ने विश्वास कांग्रेसभित्र मात्र नभई अन्य पार्टीमा समेत छ। खासमा देउवा ‘गिभ एन्ड टेक’ मा उदार मानिन्छन्। उनमा प्रचुर अनुभव र परिपक्वता छ। पाँच दशक लामो राजनीतिक संघर्षबाट खारिएका कारण पनि देउवा आफैंले राजनीतिमा विशिष्ट स्थान बनाएका हुन्।
अहिलेको आवश्यकता : भुक्तभोगी र अनुभवी नेता
इतिहासलाई फर्केर हेर्दा कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भएका बेला पार्टी संकटमा पुगेको छ। हाल कांग्रेसका सभापति नै मुलुकको प्रधानमन्त्री रहेको स्थिति छ। कांग्रेस नेतृत्वमाथि गठबन्धन सरकारको नेतृत्व गर्ने बाध्यता र जिम्मेवारी छ। कांग्रेस महाधिवेशनमा जिल्ला तहबाट आएको प्रारम्भिक परिणामले पनि देउवा आफैंमा कांग्रेसभित्र एक शक्तिशाली व्यक्तित्व रहेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। स्थानीय तह र आमनिर्वाचन सम्मुखमा छ। प्रधानमन्त्री देउवाले नै निष्पक्ष र भयमुक्त निर्वाचन गर्नुपर्ने गह्रुँगो अभिभारा छ। कांग्रेसलाई बहुमत पनि दिलाउनु छ। देउवामा अन्तर्निहित परिपक्वता, अनुभव र कूटनीतिका कारण आगामी चुनावमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने विश्वाससमेत गरिएको छ।
कांग्रेसभित्र मात्र नभई गठबन्धनका अन्य दलहरूको पनि देउवाबाटै निष्पक्ष निर्वाचनको अभिभारा पूरा हुने अपेक्षा छ। परिपक्व नेतृत्वकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको हो भन्ने कुरालाई नकार्न मिल्दैन। गठबन्धनका आधारमा प्रदेशहरूमा नयाँ सरकार बनेका छन् र प्रदेश सरकारको नेतृत्वमा शून्य रहेको कांग्रेसले कर्णाली र गण्डकीमा नेतृत्व गर्न सफल भएको छ। अन्य प्रदेशमा पनि कांग्रेस सत्तामै छ। देउवाको नेतृत्वमा बिथोलिएको मुलुकको राजनीति ट्र्याकमा आएको छ। जुन देउवाको परिपक्वताको कारण नै हो। बलियो र एकताबद्ध कांग्रेस लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ, न कि क्षणिक क्रान्तिकारी भाषण र चर्का नाराले। कांग्रेसमा आजजस्तै भोलि पनि परिपक्व नेताको आवश्यकता छ। जसले राष्ट्रिय राजनीतिको मियोका रूपमा मार्गदर्शन गर्न सकोस्।
स्थिरता र आन्तरिक एकताका लागि पनि देउवा
एक क्षणलाई अनुमान गरौं, महाधिवेशनले कदाचित अर्को पार्टी सभापति चुन्यो भने कस्तो स्थिति आउला रु विगतमा जस्तै नेतृत्व परिवर्तनका लागि दबाब आउन सक्छ। नेतृत्व परिवर्तन भए कांग्रेसले सरकारको नेतृत्वबाट विमुख बन्नुपर्ने स्थितिमा पुग्न सक्छ । गठबन्धन धर्मराउन बेर लाग्दैन। यदि यस्तो अवस्था सिर्जना भए फेरि मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिनेछ। यसर्थ, पनि देउवा नै पुनः सभापति हुनु मुलुकका लागि अपरिहार्य छ। मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि कांग्रेस आज एकढिक्का छ । पार्टीलाई एकगठ बनाउन सक्नु देउवाको ठूलो उपलब्धि हो । हिजोजस्तो अग्रजहरूले पार्टी नै छाड्नुपर्ने अवस्था आज छैन। यो किन भयो रु बहुमतका आधारमा नभई सहमति र सहकार्यकै कारण एकताबद्ध कांग्रेस भएको हो। आजका दिनमा आम कांग्रेस कार्यकर्तामा देउवाप्रतिको विश्वास र भरोसामा कुनै मानेमा कमी आएको छैन।
लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ। यो मान्यतामा देउवा सदैव दृढ छन्। जीवनको उत्तरार्धमा आफ्नो निष्ठामा विचलित हुने ठाउँ उनलाई छैन। कानुनी राज, विधिको शासन, मानवअधिकार र स्वतन्त्रताका लागि अनेक कष्ट बेहोर्दै स्थापित भएका कारणले पनि शंका गर्ने ठाउँ छैन। एकाध वर्षको कुरा मात्र होइन, २०४८ सालयता हरेक चुनावमा प्रत्यक्ष निर्वाचित भएर पटकपटक जनताको परीक्षामा पास भएका नेता हुन् देउवा। कांग्रेस नेतृत्वको सरकारसामु निकट भविष्यमै स्थानीय, प्रदेश र संघको चुनाव सम्पन्न गर्नुपर्ने गहन दायित्वसमेत छ। स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्दै लैजाने गहनतम जिम्मेवारी सरकारको काँधमा छ। निकट भविष्यमै कांग्रेस जनपरीक्षणमा उत्रनुपर्ने अवस्थाले पनि कांग्रेसलाई बलियो पार्टी बनाउन अनुभव र परिपक्व नेताको खाँचो छ।
हुन पनि कांग्रेसका लागि यो विशिष्ट अवसर नै हो। स्थानीय निर्वाचन र आम चुनाव सम्पन्न गर्ने गहनतम जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई पुरानै हैसियतमा पु¥याउने अठोटलाई अविश्वास गर्नुपर्ने कारण छैन। कांग्रेस कार्यकर्तालाई बलियो र दरिलो कांग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धि चाहिएको हो।
लोकतन्त्र र संविधानको रक्षामा देउवाको चट्टानी अडानमा कसैलाई सन्देह छैन। हजारौं सहिदको बलिदान र घाइते योद्धाले भावी सन्ततिका लागि नासोका रूपमा दिएको यो लोकतन्त्र र संविधानलाई चिरस्थायी बनाउन वर्षौवर्ष खारिएका भुक्तभोगी नेताले मात्र सक्छन् भनेर विश्वास पनि गर्नुपर्छ। एकपटक होइन, दुईपटक होइन, पाँचपाँचपटक मुलुकको नेतृत्व सम्हालेको अनुभव देउवामा बाहेक अरू कसैमा छैन। बरु बाह्य शक्तिसँग साँठगाँठ गर्दै पार्टी भित्रैबाट हिजोका दिनमा हातखुट्टा बाँधेर पूरा अवधि काम गर्न नदिएको दुःखद यथार्थ हो। आज परिस्थिति बिल्कुल बदलिएको छ। पुराना ती डोबहरूलाई आँखा चिम्लन सकिन्छ, बिर्र्सन सकिँदैन।
सत्य के हो? के होइन?
मुलुकमा नयाँ संविधान जारी भएपछि तिनै तहको चुनाव कुशलतापूर्वक सम्पन्न गरी संविधानको सफल कार्यान्वयन देउवाबाटै सम्पन्न भएको थियो। आम चुनावपछि नै बिथोलिएको राजनीतिले सही ‘ट्र्याक’ लिएको हो। मुलुकको राजनीतिलाई लिकमा ल्याउन देउवाले लगाएको गुनलाई आजको दिन मूल्यांकन हुन आवशयक छ। एमाले र माओवादी केन्द्रको अपवित्र गठजोडका कारण चुनावमा अर्को खालको परिणाम आएको तथ्यलाई कार्पेटमुनि छोपेर पार्टी सभापतिलाई अनाहकमा ठोस्ने कर्ममा लाग्नु बेइमानी हो।
सत्ता साझेदार घटक माओवादी केन्द्र विपक्षी एमालेसँग मिलेर चुनावमा गएको प्रतिकूल अवस्था थियो। त्यस्तो अवस्थामा पनि देउवा प्राविधिक कारणले पार्टीको जित हारभन्दा लोकतन्त्रिक प्रक्रिया र संविधानको सुरक्षाका खातिर दह्रोसाथ उभिएका हुन्। लामो समय कोइराला परिवारको प्रभावमा रहेको कांग्रेसलाई पारिवारिक बिरासतबाट मुक्त गरेरै १३औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएका थिए। इतिहासलाई छोपेर राख्न सकिँदैन, न त अवमूल्यन गरेर ओझेलमा पार्न सकिन्छ। बरु, भएगरेका उल्लेख्य कामलाई विगतमा कांग्रेसले नै बजारीकरण गर्न सकेन। मानिसमा भएका गुणको प्रशंसा नगर्ने, नभएका गुण खोजेर आलोचनामा रमाउने राष्ट्रिय रोग नै छ। वास्तवमा देउवा धुलोबाट उठेका एक राष्ट्रप्रेमी नेता हुन्। राष्ट्रिय राजनीतिमा देउवा आफ्नै बलबुताले उदाएका हुन्। उनी सुदूरपश्चिमको विकट भूगोलमा किसानको कोखबाट जन्मेर पनि अनेक बाधा, व्यवधान, हण्डर र ठक्कर झेल्दै आजको स्थितिसम्म आइपुगेका हुन्। न कसैको बिरासत न आशीर्वाद। अरू कसैले होइन, देउवाको उदार भावनाले नै गर्न सक्छ अग्रजको सम्मान, समकक्षीको व्यवस्थापन र युवाको प्रोत्साहन।
समावेशीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध : बिपीपछिको देउवा युग
खासमा समावेशीकरणको मुद्दालाई बिपी कोइरालापछि जबर्जस्त उठान गर्न अनि लागू गराउन देउवाको अग्रणी भूमिका छ। विगत सरकारको नेतृत्व गर्दैगर्दा सामाजिक न्याय र समावेशीकरणमा थुप्रै काम भएका छन्। महिला, दलित, आदिवासी, भूमिहीन वर्ग, उपेक्षित क्षेत्र र मधेसी समुदायले थुप्रै अधिकार प्राप्त गरेका छन्।
पार्टीभित्रै पनि आन्तरिक संघर्ष गरेर देउवाले महिला, दलित, आदिवासी अनि मधेसी समुदायको समावेशीकरणको विषयलाई उठाएको सन्दर्भ चाँडै बिर्सन सकिँदैन। दलित वर्गलाई न्याय र अधिकारका लागि राष्ट्रिय दलित आयोग, महिला अधिकार प्रवद्र्धनका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजातिको हक स्थापनार्थ भिन्नै विकास प्रतिष्ठानजस्ता संरचनाको विकास देउवाको अग्रसरताकै उपज थियो।
देउवा नेतृत्वको सरकारकै कार्यकालमा महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार दिन मुलुकी ऐनको ११औं संशोधन २०५९ आएको ऐतिहासिक क्षण थियो। कांग्रेसमा कर्णाली, दलित, महिला, जनजाति र मधेसी ९कदमजम० लाई समानुपातिक सहभागिताको नारा दिने देउवा नै थिए। विकास प्रतिफलको समन्यायिक वितरण हुनुपर्छ भन्ने चेतले देउवामा काम गरेको देखिन्छ। देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र साझेदारी आवश्यक पर्छ भन्ने भरपुर ज्ञान उनमा छ।
केही अघि मात्र विश्व जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डको ग्लास्गोमा भएको प्रस्तुति, उपस्थिति अनि विश्वका शक्तिशाली राष्ट्रका नेताको सद्भावले पनि देउवाको हैसियत प्रस्ट पारेको छ। विश्वका समाजवादीहरूको संगठन सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष रहेर अनुभव सँगालेका कारण समेत उनी सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका राम्रो जानकार हुन्। यसर्थ पनि अन्तर्राष्ट्रिय जगत्मा कांग्रेसको प्रभाव अभिवृद्धि गर्न उनलाई विशेष सुविधा प्राप्त छ। यसर्थ लामो अनुभव एवं अभ्यासबाट पाठ सिकेका देउवाले पुनः अन्तिम एकपल्ट पार्टी सभापति हुने हक राख्छन्।
अन्त्यमा, वास्तविक धरातललाई चटक्कै बिर्सेर एउटा अघि बढ्न सकिँदैन। दुई दशकभन्दा लामो समय पार्टीभित्रै आन्तरिक संघर्ष गर्दै, अनेक प्रताडना खेप्दै देउवा आफैंले कांग्रेसमा फराकिलो मैदान बनाएका हुन्। आज फेरि पनि कांग्रेसलाई खाँचो छ– युवादेखि पुरानो पुस्तासम्म समेट्न, सबैको भावना छुने उही पार्टी नेतृत्वको निरन्तरता। भनिन्छ नि, ‘कथाले फेरि देउवा माग्यो।’ समग्र घटना र परिवेशले नै यस्तो ठाउँमा पुर्याइदिएको छ। हरेक नेता कार्यकर्तामा आत्मसम्मानको भावना जगाउने नेता को हो भनेर महाधिवेशन प्रतिनिधिले चिन्नेछन्। विशेष ऐतिहासिक घडीमा कांग्रेसका आम महाधिवेशन प्रतिनिधिले एकपल्ट धर्तीको माटो छोएर विवेकको प्रयोग गर्नेछन्। सत्यको सच्याइ मर्न दिनेछैनन्।