Kathmandu Press

‘मैले पार्टी वा संगठन जोगाउन सकुँ, निवार्चित नभए पनि हुन्छ’

भनाइ नै छ, ‘संघे शक्ति कलौ युगे’ अर्थात् कलियुगमा संघ–संगठन नै शक्ति हो। निर्वाचन जित्नका लागि पनि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा समूह चाहिन्छ, संगठन चाहिन्छ, त्यो स्वाभाविक छ। तर समूहको एकअर्का बीचको सम्बन्ध, एकअर्काप्रतिको भावना र प्रतिस्पर्धालाई बिस्तारै अस्वस्थ हुँदै गएको छ।
‘मैले पार्टी वा संगठन जोगाउन सकुँ, निवार्चित नभए पनि हुन्छ’

काठमाडाैं, मंसिर २१ : कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन्। पाण्डे १३औं महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुन्। नेविसंघमा दुई कार्यकाल उपाध्यक्ष पनि रहे। उनलाई हामीले सोध्यौँ– पिछडिएको क्षेत्रबाट यहाँले उम्मेदवारी दिनु कतिको तार्किक हो, पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने सही व्यक्ति यहाँ नै हो त ? उनले यसमा आफूले क्रमिक रुपमा उम्मेदवारी दिँदै आएको र पद दोहोर्‍याउन नहुने बताए। प्रस्तुत छ, उनको उम्मेदवारी र १४औँ महाधिवेशनका सन्दर्भमा काठमाडौं प्रेसकर्मी शुष्मा बरालीले उनीसँग गरेको वार्ता :

१४औं महाधिवेशनबाट कस्तो नेतृत्व आउने यहाँको अपेक्षा छ ? र, यहाँको धारणामा कस्तो नेतृत्व ल्याउनुपर्छ ?

१४औं महाधिवेशनबाट समय सापेक्ष, समयसँगै चल्न सक्ने, समयको पदचापलाई बुझ्न सक्ने नेतृत्व आवश्यक देख्छु। अहिले राजनीतिक पार्टीहरूमा केही विसंगति बढेका छन्, त्यो विसंगतिलाई निराकरण गर्न सक्ने, पार्टीलाई विधि र विधानको बाटोबाट चलाउन सक्ने, विधि मान्ने र विधि व्यवस्थापन गर्न सक्ने नेतृत्वको खाँचो छ।

Hardik ivf

संक्षिप्तमा भन्दा, अहिलेको नेतृत्व परिवर्तन भयो भने नयाँ पुस्ता आउँछ, उसले केही नयाँ परिवर्तन गर्ला भन्ने अपेक्षा आम मानिसको छ, त्यही अनुसार नेतृत्व आउनुपर्छ भन्ने लाग्छ।

कांग्रेस पार्टीभित्र पुरानो गुटगत प्रवृत्ति छ, यो प्रवृत्ति हटाएर कांग्रेसलाई साझा पार्टी बनाउन के गर्नुपर्ला ?

निर्वाचनका बेला विभिन्न समूह बन्छन्। किन बन्छन् भने, निर्वाचन एक्लै जितिने र एक्लै गरिने काम होइन यो। राजनीति, संगठन भनेको एक्लै गर्न सकिँदैन। कुनै जमाना थियो होला, व्यक्तिसँग दैविक शक्ति थियो, अहिले शक्ति भनेकै समूह हो। एउटा भनाइ नै छ, ‘संघे शक्ति कलौ युगे’ अर्थात् कलियुगमा संघ–संगठन नै शक्ति हो। निर्वाचन जित्नका लागि पनि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा समूह चाहिन्छ, संगठन चाहिन्छ, त्यो स्वाभाविक छ। तर समूहको एकअर्का बीचको सम्बन्ध, एकअर्काप्रतिको भावना र प्रतिस्पर्धालाई बिस्तारै अस्वस्थ हुँदै गएको छ। किनभने, आफूले जित्नैपर्ने, आफू मात्रै बन्नुपर्ने संस्कार छ। त्यो संस्कारमा न्यूनीकरण ल्याउन आवधिक अधिवेशन भइरहन्छ, आइरहन्छ, गइरहन्छ, यसपटक मैले हार्नु र जित्नुले धेरै ठूलो फरक पार्दैन। मैले पार्टी वा संगठन जोगाउन सकुँ, निवार्चित नभए पनि हुन्छ। किनभने अर्कोपटक हुन सक्छु। यही भावनाले प्रतिस्पर्धाको रुप लियो भने पार्टीले सही गन्तव्य पक्रन्छ भन्ने लाग्छ। तर, समूह वा गुट चाहिँदैन भन्नु र यसलाई हटाउन खोज्नु असम्भव छ।

कांग्रेसमा राजनीति गर्न पैसावाला हुनुपर्ने देखिएको छ, यसमा यहाँको धारणा के छ ?

कांग्रेसमा मात्र होइन, समग्र राजनीतिमै यो अवस्था बढेर गएको छ। एउटा सत्य के हो भने, लोकतन्त्र भनेको अलिकति खर्चिलो राजनीतिक प्रणाली रहेछ। किनभने हामीले अन्य देशमा हेर्दा पनि यस्तै चलिरहेको देखिन्छ। अहिले झट्ट हेर्दा राजनीतिमा आउन पैसा चाहिने, चुनावी प्रचारलाई भड्किलो बनाउने प्रवृत्ति देखिन्छ, जुन विडम्बनापूर्ण छ। जो विचार र सिद्धान्तको राजनीति गर्न खोज्छ, उसलाई यो प्रवृत्तिले समस्यामा पारिरहेको छ। त्यसकारण यो खर्चिलो, भड्किलो र प्रचारात्मक प्रवृत्तिलाई बिस्तारै मीतव्ययी बनाउन जरुरी छ। यस्ता विकृत प्रवृत्तिलाई पार्टीहरू र मूल नेतृत्वले अन्त्य गर्न सक्छन्। नेतृत्व आफैँ पनि ‘सादा जीवन उच्च विचार’मा विश्वास गर्ने भएकाले परिमार्जन गर्न सक्छ। हो, यसमा समय लाग्न सक्छ। झट्ट सुन्दा यो निकै आदर्श जस्तो लाग्ला, तर हामीले यो विषय उठाइरहनु र दबाब दिइरहनुपर्छ।

भनेपछि यसपालि पनि प्रचारमुखी राजनीति हाबी हुने र सीमान्तकृत समुदायबाट नेतृत्व आउन सक्ने देखिएन, होइन ?

हो ! एकातिर हामीले समावेशितालाई स्थापित गरेका छौँ। पछाडि पारिएको वर्ग, समुदाय, क्षेत्र, लिंगलाई नेतृत्वमा ल्याउन खोजेका छौँ, अर्कोतिर तडकभडकको राजनीतिले ती समुदायलाई खुला राजनीतिमा आउन दिएको छैन। समावेशिता भनेको समाजका सबै वर्ग, समुदायलाई समावेश गरिनु हो। यसमा धनी, गरिब सबै समावेश हुन्छन्। तसर्थ समावेशिताप्रति हामी सबै अलि संवेदनशील हुन जरुरी छ।

यसो भए कांग्रेस कतिको समावेशी पार्टी हो ?

कांगेस नै पहिलो पार्टी हो, जसले ०७५ मै आफ्नो विधानलाई संविधान अनुकूलको समावेशी बनाएको थियो। महिलाको उपस्थिति ३३ प्रतिशत सुनिश्चित गरिएको छ। दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, खसआर्य समुदायको प्रतिनिधित्व छ। संविधानले परिभाषित गरे अनुसार नै हामीले विधानमा समावेशिताको व्यवस्था गरेका छौँ। तसर्थ यसपालि विधानबमोजिम नै अधिवेशन, महाधिवेशन सम्पन्न गर्दै गर्दा वडा तहदेखि केन्द्रसम्म पार्टी समावेशी हुने अवस्था छ। तसर्थ, अन्य देशका पार्टी र हाम्रै देशका मूलधारका पार्टीको तुलनामा कांग्रेसले सबैभन्दा पहिले समावेशिताको अभ्यास गरेको छ।

यहाँले पिछडिएको क्षेत्रबाट सह–महामन्त्रीमा उम्मेदवारी दिने भन्नुभएको छ। यहाँको बुझाइमा पिछडिएको क्षेत्र र व्यक्तिमा के भिन्नता हो ?

राज्यले नौवटा जिल्ला साबिकको कर्णाली अञ्चलका पाँच, साबिकको सेती अञ्चलको तीन (बझाङ, बाजुरा र अछाम) र साबिकको भेरी अञ्चलको एक (जाजरकोट) लाई पिछडिएको क्षेत्र मानेको छ। यो पिछडिएको क्षेत्रबाट उम्मेदवारी हामी दिन सक्छौँ, दिन पाउँछौँ। नौ जिल्लाकै महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दिन्छौँ, यसमा देशभरिकै साथीहरूले मतदान गर्ने हो। थारु, मधेसी, महिला, दलित, मुस्लिम लगायतको संविधान अनुसारका ८ वटा क्लस्टर छन्, कांग्रेसले सोही अनुसार पद व्यवस्था गरेको छ। पिछडिएको क्षेत्र क्लस्टरबाट मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ। पार्टीको नीति–निर्माण तहमा पिछडिएको क्षेत्रको आवाज पुर्‍याउने मैले उम्मेदवारी दिएको हुँ।

यहाँ १३औं महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित र नेविसंघमा दुई कार्यकाल उपाध्यक्ष हुनुभएको व्यक्ति, यहाँलाई आफूले पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिनु कतिको तार्किक हो भन्ने लाग्छ ? पिछडिएको क्षेत्रबाट उम्मेवारी दिने सही व्यक्ति यहाँ नै हो त ?

नेविसंघमा म क्रमिक रूपमा विकास हुँदै आएँ।स्कुल इकाइबाट सुरु भएको मेरो राजनीतिक यात्रा क्याम्पस इकाइको सदस्य, क्याम्पस इकाइको सचिव र क्याम्पस इकाइको अध्यक्ष हुँदै स्ववियु सभापति अनि जिल्ला अध्यक्ष, स्ववियु परिषद्को सभापति, नेविसंघको केन्द्रीय सदस्य, सह-महामन्त्री, उपाध्यक्ष हुँदै अगाडि बढ्यो। यो हिसाबले म नेविसंघभित्र क्रमिक रूपमा विकास भएको हुँ। यो क्रममा मेरो स्वाभाविक दाबेदारी र उम्मेदवारी रह्यो। मैले सेती अञ्चलबाट प्रतिनिधित्व गरेँ, १२औं महाधिवेशनमा। १३औं महाधिवेशनमा अञ्चलहरू प्रदेश भए, मैले भौगोलिक प्रतिनिधित्व एकपटक गरिसकेँ, भौगोलिक प्रतिनिधित्वमा अरु साथीहरूलाई स्थान दिनुपर्छ भनेर म खुला प्रतिस्पर्धामा आएँ।

अहिले मलाई के लाग्यो भने, केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल रहिसकेकाले अब पदाधिकारीमा जानुपर्छ। त्यसो हुँदा अन्य साथीहरूले ठाउँ पाउनुहुन्छ, मैले पनि नयाँ किसिमले भूमिका पाउँछु भनेरै यसपालि मेरो सहमहामन्त्रीमा उम्मेदवारी हो। मैले प्रतिनिधित्व गर्न सक्ने दुईवटा ठाउँ थियो– एउटा खसआर्यको क्लस्टर, अर्कोे पिछडिएको क्षेत्र। धेरै नेता र साथीहरूको विश्लेषण के रह्यो भने, खसआर्यमा देशभरि अन्य साथीहरूको प्रतिस्पर्धा छ, पिछडिएको क्षेत्र अलि सुरक्षित पनि छ, त्यसैले मैले पिछडिएको क्षेत्रबाटै उम्मेदवारी दिनुपर्ने साथीहरुको सुझाव रह्यो।

मैले भन्दै आएको छु- म अहिले निर्वाचित भए वा नभए पनि १५औँ महाधिवेशनमा मलाई पुनः सहमहामन्त्रीको उम्मेदवारका रूपमा पाउनुहुन्न। किनभने परिवर्तन हँुदै जानुपर्छ। मैले कोही नेता विशेषलाई इंगित गरेको होइन, तर मेरो भनाइ यो हो कि आगामी दिनमा एक व्यक्ति, एक पद र एक कार्यकाल हुनुपर्छ। यो थिति हामीले बसाउनुपर्छ। त्यो हिसाबले पनि पद नदोहोरिने गरी मैले आफूलाई क्रमिक विकास गरेको हुँ।

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्