Kathmandu Press

‘ओली नै अध्यक्ष बन्नुहुन्छ, नेतृत्व लिन कार्यकर्ता र जनताले बुझेको, चिनेको, स्विकारेको हुनुपर्छ’

यसमा कुनै किन्तु–परन्तुको कुरा छैन। कमरेड केपी शर्मा ओली दोस्रो कार्यकालका यस महाधिवेशनबाट अध्यक्ष बन्नुहुन्छ- सम्भव भए सर्वसम्मत, नभए निर्वाचन प्रक्रियाका माध्यमबाट।
‘ओली नै अध्यक्ष बन्नुहुन्छ, नेतृत्व लिन कार्यकर्ता र जनताले बुझेको, चिनेको, स्विकारेको हुनुपर्छ’

काठमाडाैं, मंसिर ९ : नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार (१० मंसिर) देखि चितवनमा हुँदै छ। महाधिवेशनका लागि दुई हजार एक सय २७ प्रतिनिधि छनोट भइसकेको एमालेले जनाएको छ। यसपालिको महाधिवेशनबाट एमालेले कस्तो नेतृत्व पाउँछ, युवाको भूमिका के रहन्छ र पार्टीलाई समावेशी बनाउन यस महाधिवेशनमा के कस्तो अभ्यास हुन्छ भन्ने सन्दर्भमा नेकपा एमालेका केन्द्रीय सदस्य र केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापासँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ता: 

नेकपा एमालेको यो १०औं महाधिवेशनलाई कसरी लिनुभएको छ ? 

यो पार्टीको १०औं राष्ट्रिय महाधिवेशन हाम्रो विगत ७२ वर्षको कम्युनिस्ट आन्दोलनको विशेष आयोजना हो। यो एक विशेष घटनाका रूपमा सम्पन्न हुन गइरहेको छ। राष्ट्रिय राजनीति प्रतिकूल भएको अवस्था रहे पनि महाधिवेशनको तयारीका सिलसिलामा विधान महाधिवेशन र वडा, पालिका अधिवेशन सम्पन्न गर्‍याे। यसले पार्टीलाई जनआधारित बनाउने, कार्यकर्ताको जिम्मेवारीलाई नयाँ ढंगबाट व्यवस्थित गर्ने खालको नयाँ उत्साह र ऊर्जा थप्ने काम गरेको थियो। 

यस महाधिवेशनले हाम्रो जीवनमा असाध्यै महत्त्वपूर्ण स्थान राख्छ। माधवकुमार नेपालको नेतृत्वमा पार्टीलाई टुक्राएर शेरबहादुर देउवालाई बैसाखी बन्ने गरी पार्टीलाई क्षति पुर्‍याउने काम भएको थियो। क्षतिपूर्ति गर्ने मात्र होइन, त्यसभन्दा धेरै ठूलो शक्ति पार्टीमा गोलबन्द र सक्रिय बनाउने काम यो महाधिवेशनको सक्रियताले गरेको छ। 

तपाईंको विचारमा यो महाधिवेशनबाट पार्टीले कस्तो नेतृत्व पाउनुपर्छ ? 

यसमा कुनै किन्तु–परन्तुको कुरा छैन। कमरेड केपी शर्मा ओली दोस्रो कार्यकालका यस महाधिवेशनबाट अध्यक्ष बन्नुहुन्छ– सम्भव भए सर्वसम्मत, नभए निर्वाचन प्रक्रियाका माध्यमबाट। 

उहाँको अनुभवी, योग्य, सक्षम र प्रभावकारी नेतृत्वबाट पार्टीले एउटा सबल टिम प्राप्त गर्छ। केन्द्रीय कमिटी त्यस ढंगबाट निर्वाचित हुन्छ। पदाधिकारी पनि सोही ढंगबाट निर्वाचित हुनुहुन्छ। यस हिसाबले पार्टीको विगतको सीमा र कमजोरी, नेतृत्वमा विगतमा प्रकट भएका गन्जागोल अवस्था, सबैलाई व्यवस्थापन गरेर पार्टी अगाडि बढ्छ। 

नयाँ पुस्ताले मूल नेतृत्वमा मौका पाएनन् भनिन्छ, यस्तो किन भइरहेको छ ? 

मौका पाएका छैनन् भन्नु फजुलका कुरा हुन्। हाम्रो पार्टीमा चार पिँढी छन्। जसमा पहिलो र दोस्रो पिँढी भनेको पार्टी निर्माण गरेको अनुभवी पिँढी हो। त्यस्तै, तेस्रो र चौथो पिँढी भनेको युवा पिँढी हो। चारै पिँढीलाई हामीले ठीक ढंगले समायोजन गरेर अगाडि बढ्छौं। 

७० वर्ष उमेर पुगेपछि हाम्रोमा नेतृत्व लिन पाइँदैन। उमेर समूहकै हिसाबमा हेर्दा हाम्रो पार्टीमा तीन पिँढी क्रियाशील छ– ७० वर्ष उमेर भन्दामुनि र ६० भन्दा माथिको एउटा पिँढी, ६० वर्ष भन्दामुनि र ४० वर्ष उमेरसम्मको एउटा पिँढी, ४० वर्षभन्दा मुनिको एउटा पिँढी। 

अहिले पार्टीमा प्रतिस्पर्धा छ। धेरै नेता कार्यकर्ता हुनुहुन्छ। त्यस हिसाबले युवा आन्दोलनमा नखारिएका मान्छे एकैपल्ट पार्टीको नेतृत्वमा आउने अपेक्षा गर्नुहुन्न। युवालाई बाटो छेक्ने, ढोका बन्द गर्ने, नेतृत्वमा आउन नदिने, झन्डा मात्र बोकाउने काम हाम्रो पार्टीले गरेको छैन। आवश्यकता अनुसार नेतृत्वमा ल्याउने, नेतृत्वमा स्थापित गर्ने काम पार्टीले गरेको छ। 

मूल नेतृत्वमा नयाँ पुस्ता आउन सक्छन् ?

मूल नेतृत्वमा नयाँ पुस्ता होइन, विधानको व्यवस्था अनुसार कमरेड केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुहुन्छ। पार्टीमा कोही पनि एकैपल्ट अध्यक्ष हुँदैनन्। त्यसका निम्ति लामो अनुभव क्रियाशीलता, स्वीकार्यता चाहिन्छ। केपी शर्मा ओली पहिलोपल्ट २०७१ सालमा अध्यक्ष बन्नुभएको हो। अब दोस्रोपल्ट बन्नुहुन्छ। सबै युवा एकैपल्ट अध्यक्ष हुने, वरिष्ठ उपाध्यक्ष हुने, महासचिव हुने भन्ने हुँदैन। 

कार्यकर्ता र जनताले बुझेको, चिनेको, स्विकारेको हैसियत बनाएर क्रमशः पार्टीको नेतृत्वमा स्थापित हुने हो। व्यक्ति स्थापित हुने होइन कि व्यक्तिको स्वीकार्यता, अनुभव, हैसियत, सक्रियता एक साथ स्थापित हुने हो। उहिले मदन भण्डारीले लेख्नुभएजस्तो दारी उम्रिएर मात्र नेता बनिने होइन। नेता बन्नका लागि योग्यता, क्षमता, क्रियाशीलता, सक्रियता चाहिन्छ। त्यो ढंगले परिपक्व बन्दै मानिस नेता बन्छन्। 

अघिदेखि नै मूल नेतृत्व समावेशी भएन भनिन्छ नि ? 

यो गलत हो। अहिले ३३ प्रतिशत महिला प्रतिनिधि र ३३ प्रतिशत केन्द्रीय कमिटीमा महिलाको सहभागिता सुनिश्चित गरेका छौँ। एक सय ९५ देखि दुई सय १० सम्म दलित समुदायको प्रतिनिधित्व हुन्छ, महाधिवेशन प्रतिनिधिका हिसाबले। यो १० प्रतिशतको हाराहारी हो। 

पदाधिकारी क्रमशः योग्यताका हिसाबले स्थापित हुने हो। पदाधिकारीमा समावेशी होइन, हामी केन्द्रीय कमिटीको समग्र दुई सय २५ को संख्यामा ३३ प्रतिशत केन्द्रीय कमिटीमा महिला सुनिश्चित गर्छौं। 

प्रतिनिधिमा ३३ प्रतिशत पु¥याउने प्रयास गर्छौं। अहिले ३० प्रतिशतको हाराहारी संख्या छ। बुधबार ३५ जना महिला मनोनित हुनुभएको छ। यस हिसाबले नेतृत्वमा समावेशितालाई सबैभन्दा जोड दिएका छौँ। म दाबीका साथ भन्छु, नेकपा एमालेले महिला, दलित, जनजाति, मधेसी लगायतलाई संविधान बमोजिम प्रतिनिधित्व गराएको छ। सबै पार्टीले हामीबाट सिक्दै जाने हो, यति अरु कसैले पनि गरेका छैनन्।

तपाईं महाधिवेशनमा के हुने ? 

म नवौं महाधिवेशनबाट लोकप्रिय मतका आधारमा निर्वाचित केन्द्रीय सदस्य हुँ। पार्टीले दिएको सबै जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु। वैचारिक, राजनीतिक रूपमा मैले पार्टी र नेतृत्वको रक्षाका निम्ति प्रतिरक्षाको अग्र मोर्चामा उभिएर आफ्नो भूमिका निर्वाह गरेको छु। 

यस क्रममा अरुका प्रहार खेप्दै पार्टीलाई बलियो बनाउन लागिपरेको छु। देशभरिको पार्टी पंक्तिले मलाई त्यस ढंगले बुझ्नुभएको छ। हामी फ्रन्टलाइनमा बसेर नलडेको भए सायद यो पार्टीको नाम र चुनाव चिह्नको वैधानिकता अहिले अरू कसैले कब्जा गरिसकेको स्थिति हुन्थ्यो। 

त्यो कब्जा, अपहरण र लुटपाटबाट पार्टीलाई बचाउने काम हामीले गरेका छौँ। पार्टी बचाउन भूमिका खेलेका हामीलाई देशभरिका महाधिवेशन प्रतिनिधिले त्यही ढंगले उपयुक्त स्थानमा राख्नुहुनेछ। म केन्द्रीय कमिटीमा दोस्रो काल स्वाभाविक रूपमा उम्मेदवार हुन्छु नै। 

त्यसपछि पार्टीको नेतृत्वले भनेको कुरा सल्लाहमा गर्ने हो। र, महाधिवेशन प्रतिनिधिहरूको निर्णय नै सर्वोपरी हुन्छ। त्यही अनुसार नै अगाडि बढ्न लागिपरेको छु।

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्