Kathmandu Press

ऐनाको भुलभुलैया : एक रोमाञ्चक अनुभव

एउटा बन्द कोठा, जहाँ नीलो बत्ती बलिरहेको छ। वरिपरि ऐना नै ऐना, जसमा देखिने प्रतिविम्बका कारण बाहिर निस्कन खोज्दा बाटो नभेटिएर झुक्किन पुगिने, अगाडि आफूसँगै गएको साथीलाई छुन खोज्दा समेत ऐनालाई छुन पुगिने– एक प्रकारको गज्जबको छाया–भ्रम।
ऐनाको भुलभुलैया : एक रोमाञ्चक अनुभव

काठमाडाैं, मंसिर ७ : पाँच–सातजना ग्राहक मिरर–मेज (ऐना भुलभुलैया) भित्र यताउता गरिरहेका थिए। कुन सिसा हो र कता खाली हो भनी ठम्याउन नसक्दा हातले अगाडि छाम्दै उल्झनमा परिरहेका थिए। एकअर्कासँग ठोक्किन पुगेर हाँसिरहेका पनि थिए। एक युवक त मलाई प्रतिविम्ब ठानेर मतिर हात बढाउँदै आए। मैले हाँस्दै ‘म रियल हो है’ भनेपछि उनले पनि हाँस्दै ‘सरी’ भने।

सोमबार दिउँसो काठमाडौंको चावहिलस्थित मिरर मेज नेपाल भ्रमण गर्दाको दृश्य र अनुभव हो यो।

एउटा बन्द कोठा, जहाँ नीलो बत्ती बलिरहेको छ। वरिपरि ऐना नै ऐना, जसमा देखिने प्रतिविम्बका कारण बाहिर निस्कन खोज्दा बाटो नभेटिएर झुक्किन पुगिने, अगाडि आफूसँगै गएको साथीलाई छुन खोज्दा समेत ऐनालाई छुन पुगिने– एक प्रकारको गज्जबको छाया–भ्रम।

यस्ता भुलभुलैया हलिउड वा बलिउड फिल्ममा खुबै देख्न पाइन्छ। भारतीय चलचित्र ‘प्रेम रतन धन पायो’, ‘फिर हेरा फेरी’, हलिउड फिल्म ‘आइटी च्याप्टर २’, ‘चार्ली च्याप्लिन’ लगायत धेरै फिल्ममा यस्ता दृश्य राखिएका छन्। अब फिल्ममा मात्रै होइन, ललितपुरको कुमारीपाटी, काठमाडौंको चावहिल पुगेपछि मिरर–मेजको आनन्द लिन सकिन्छ।

मिरर मेजका सञ्चालक तेन्जिङ नुरु शेर्पा ।

यो मिरर मेजलाई तेन्जिङ नुरु शेर्पाले सञ्चालनमा ल्याएका हुन्। नेपालमै पहिलोपटक आफूहरुले यस्तो भुलभुलैया प्रकारको रमाइलो खेल सुरु गरेको उनको दाबी छ। ‘यो एक खालको ह्युमन–पजल हो। हामीले ग्राहकलाई यो पजलभित्र पठाएपछि सिसैसिसा बीचमा रहेको बाटो पत्ता लगाएर बाहिर निस्कनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर सिसामा देखिने प्रतिविम्बले गर्दा उहाँहरु झुक्किनुहुन्छ, यही नै यस खेलको रमाइलो हो।’

‘मिरर थिम’

चावहिलचोकस्थित चावहिल प्लाजाको पाँचौँ तलामा रहेको ‘मिरर मेज’ एक शाखा हो। शेर्पाले सुरुमा सन् २०१८ मा ललितपुरको कुमारीपाटीमा मिरर–मेज सञ्चालन गरेका हुन्। त्यसको डेढ वर्षपछि चावहिलमा सुरु गरिएको हो। कुमारीपाटीस्थित मिरर–मेजमा तीनवटा थिम छन्– ब्लु, डार्क र हरर थिम। चावहिल शाखामा ब्लु र लेजर थिम छन्। यहाँ भर्खरै इन्फिनिटी रुम पनि सञ्चालनमा आएको छ।

‘मिरर मेजमा मानिस ऐनैऐना भएको कोठामा आउँछन्, बाटो पत्ता लगाएर निस्कन्छन् भने इन्फिनिटी रुम केही भिन्न छ। इन्फिनिटी रुममा एक प्रकारको भ्रम हुन्छ। जसमा लाइट नै लाइट भरिएको हुन्छ। जति टाढा गए पनि बाटोको अन्त्य नै नभएको जस्तो भावना दिन्छ,’ शेर्पा भन्छन्।

मिरर मेजको दुईवटै शाखामा गरी अहिले दैनिक ४० देखि ५० जनासम्म ग्राहक आउने गरेका छन्। ‘सुरुदेखि नै राम्रै मार्केट लिइरहेको थियो,’ शेर्पा भन्छन्, ‘बीचमा कोरोनाका कारण बन्द गर्नुप¥यो। अहिले फेरि ग्राहक बढ्दैछन्।’ अहिले नयाँ ठाउँ र नयाँ अनुभव बटुल्न चाहनेको संख्या बढ्दै गएको उनको अनुभव छ।

शुल्क

मिरर मेज भ्रमण गर्न १० मिनेटको दुई सय ५० रुपैयाँ तिर्नुपर्छ। विद्यार्थी परिचय–पत्र हुनेलाई भने ५० रुपैयाँ छुटसहित दुई सय रुपैयाँ मात्रै तिरे पुग्छ। त्यस्तै, इन्फिनिटी रुम (जुन चावहिलमा छ) भ्रमण गरेको भने सय रुपैयाँ मात्र लाग्छ, यसमा विद्यार्थीलाई छुट छैन।

हेर्नुस् भिडियाे

रकम तिरेर पास लिइसकेपछि ग्राहकलाई खुट्टाका लागि सु–कभर र हातका लागि पन्जा लगाउन दिइन्छ। त्यसपछि त्यहाँका कर्मचारीले बाटो पत्ता लगाउन र भित्र के गर्न मिल्छ वा मिल्दैन लगायत कुरा बुझाउँछन्। ग्राहक कोठाभित्र छिरेपछि समय सुरु हुन्छ। ग्राहकले १० मिनेटको समय पाउँछन्। भुलभुलैयाबाट निस्कन नसक्नेलाई समय पुगेपछि कर्मचारी लिन आउँछन्।

‘फिल्मको सिनभित्र छिरेजस्तै भयो’

गत शुक्रबार २१ वर्षीय विश्वास न्यौपानेले साथीहरुसहित चावहिलस्थित मिरर–मेजको भ्रमण गरे। टिकटकमा मिरर मेजको भिडियो देखेपछि साथीहरूको ग्रुप बनाएर आएको उनी बताउँछन्। ‘टिकटकमा भिडियो देखेको थिएँ। रमाइलो होला जस्तो लाग्यो। यसको फेसबुक पेजमा रहेको नम्बरबाट बुझेर आएका हौँ,’ उनी भन्छन्, ‘मूल्य पनि सस्तो लाग्यो। हामी ब्लु थिममा गएका थियौँ। कुनै फिल्मको सिनभित्र छिरेजस्तै अनुभव भयो।’

यहाँ १० जना वा भन्दा बढीको समूह बनाएर जाँदा छुटको व्यवस्था पनि छ। मिरर मेजमा अहिले अधिकतम युवा आउने गरेको सञ्चालक शेर्पा बताउँछन्। ‘मानिसहरू रमाइलो गर्नका लागि फनपार्क, रेस्टुरेन्ट र फिल्म हलमा गइरहेका छन्। उनीहरूले यहाँ नयाँ र ह्युमन पजलको अनुभव गर्नेछन्,’ शेर्पा भन्छन्, ‘मानिसहरूले पहिला पत्रिकामा, क्युबमा र मोबाइलमा मात्रै पजल सल्भ गर्थे। यहाँ आफैँ इन्भल्भ हुन पाउने भएकाले ग्राहकले रुचाएका छन्।’

‘कन्सेप्ट’

बिबिए दोस्रो वर्षको अध्ययनमा शेर्पाले ‘इन्टरप्रेनरसिप’को प्रोजेक्ट गर्नुपर्ने थियो। कलेजले एउटा प्रोजेक्टलाई दुई–दुईजनाको समूहले गर्ने व्यवस्था मिलाएको थियो। जसमा एउटा अफिस कल्पना गरी प्रोजेक्ट तयार गर्नुपथ्र्यो। यही प्रोजेक्ट गर्दा उनलाई एउटा वास्तविक अफिस खोल्ने विचार आएको हो। उनले विदेशका केही ठाउँमा मिरर–मेज घुम्ने अवसर पाएका थिए। कलेजमा प्रोजेक्ट–वर्क गर्दा साथी रेसिका आचार्यले आफूलाई काल्पनिक अफिसमै बढी मेहनत गरेर वास्तविक अफिस सञ्चालन गर्न सुझाएको उनी बताउँछन्।

‘अफिस सञ्चालन गरेको कल्पना गरी प्रोजेक्ट मात्र पूरा गर्नुभन्दा त्यसमै बढी मेहनत गरेर वास्तविक अफिस नै खोलौँ र अनुभव पनि बटुलौँ भनेर साथी रेसिकाले सुझाव दिइन्। मलाई उनको कुरा ठीक लाग्यो र मिरर मेज सञ्चालनमा ल्याएँ। यसमा मेरी दिदी निमा शेर्पाले पनि हौसला दिनुका साथै आर्थिक लगानी गर्नुभयो,’ शेर्पा भन्छन्, ‘सोचेभन्दा धेरै राम्रो भइरहेको छ। अरु ठाउँमा पनि शाखा विस्तार गर्ने योजनामा छौँ।’

कुमारीपाटीमा ‘मिरर मेज’ तयार गर्न ३५ लाख रुपैयाँ लगानी लागेको उनी बताउँछन्। ‘यसका लागि आवश्यक सिसा निकै महँगो हुन्छ,’ उनी भन्छन्, ‘स्टुडियो तयार गर्न मजदुर पनि मलेसिया र भारतबाट ल्याएकाले बढी खर्चिलो भयो।’

 

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्