मह जोडीको ‘विज्ञापन’ले चम्केको लक्ष्मीको कला यात्रा

काठमाडाैं,मंसिर ६ : फिल्म, टेलिफिल्ममा लक्ष्मी गिरी छुची बूढीको रूपमा चिनिन्छन्। उनको खलपात्रीय भूमिका खतरनाक लाग्छ। त्यसो त उनले सकारात्मक भूमिका निभाएका थुप्रै फिल्म छन्। उनी सकारात्मक भूमिकामा पनि उत्तिकै जम्छिन्।

पछिल्लो सफल चलचित्र झोलामा उनले निभाएको परिवर्तनकारी विद्रोही नारीको भूमिका प्रशंसनीय छ, जसबाट उनले अवार्ड पाएकी छन्। झोलामा उनको अभिनयको उत्कर्ष, भावभंगिमा, संवाद, सबै प्रकारले यति सशक्त भूमिका देखिन्छ, जो उनले जीवनभरि निभाएका खलपात्रीय भूमिकालाई छायामा पार्न काफी लाग्छ।

लक्ष्मीले अहिलेसम्म एक सय ५० जति फिल्म, चार सयभन्दा बढी टेलिफिल्म, भिडियो फिल्ममा अभिनय गरेकी छन्। अझै पनि उनी सक्रिय छिन्। अझ उनी २२ वर्ष राष्ट्र बैंकमा जागिरे हुन पनि भ्याइन्। लक्ष्मी कसरी कला क्षेत्रमा आइन् ?

‘२८ वर्षको उमेरमा गन्यमान्य दर्शकमाझ’

तत्कालीन राजपरिवारदेखि सम्पूर्ण बैंक परिवार दर्शक थियो। लक्ष्मीले अभिनय गर्न पाइन्, हरिहर शर्माको निर्देशनमा विजयबहादुर मल्लको ‘सपना नसम्झ’ नाटकमा। यो ०३८ सालको कुरा हो, राष्ट्र बैंकको रजत महोत्सव थियो।

महोत्सवमा बैंककै कर्मचारीले नाटक देखाउने कुरा भयो। त्यतिवेलाका चर्चित कलाकार हरिहर शर्मा, शकुन्तला शर्मा र विजयबहादुर मल्लले कलाकार छान्ने भए। राष्ट्र बैंककी कर्मचारी लक्ष्मी पनि सामेल भइन् र छानिइन्। नाटक प्रज्ञा भवनमा देखाइएको थियो।

यो नाटक खेलेपछि लक्ष्मीले डबल ग्रेड पाइन्, दुई ग्रेड बढुवा भयो– नगद सहायकमा, यो अहिलेको सुब्बा सरहको पद हो। लक्ष्मीले देशका ठूला मान्छेका अगाडि नाटक खेलेको यो नै पहिलो थियो।

बालकलाकार  

स्कुलमा अतिरिक्त क्रियाकलाप भइरहन्थ्यो, जसमा नाचगान र नाटक पनि पर्थे। लक्ष्मीले स्कुलमा नाचगान गरिन्, नाटक खेलिन्। त्यतिवेला डबलीहरूमा वेला–वेला विभिन्न रङ्गकर्म चलिरहन्थे– नाटक, नाचगान। लक्ष्मी डबलीहरूमा हुने नाटकमा पनि खेल्न थालिन्, बालकलाकारका रूपमा।

 

लक्ष्मी भन्छिन्, ‘शारदा निमावि अगाडि डबली थियो, त्यहाँ महिना, ६ महिनामा नाटक भइरहन्थ्यो। मैले त्यहाँ बालकलाकारको रूपमा नाटक खेल्थेँ, कति नेवारी नाटक पनि खेलेँ। स्कुलमा हुने नाटकमा पनि भाग लिइरहन्थेँ।’

०२६ सालमा उनी सात कक्षामा पढ्दै थिइन्, त्यहीवेला स्काउट नेपालमा पनि आबद्ध भइन्। स्काउट, जो बालबालिका तथा युवा वर्गलाई आधिकारिक रूपमा सहभागी गराई शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने संस्थाको रूपमा चिनिन्छ।

नर्सकी नातिनी

लक्ष्मीको जन्म देवपतन पशुपति क्षेत्र काठमाडौंमा भयो, ११ माघ २०१० मा। उनका दुई हजुरआमा हुन्। लक्ष्मीकी बुवाकी आमा देवकुमारी नर्स थिइन्।

२०१८ सालमा सुरेन्द्र भवनमा स्टाफ नर्सका लागि तालिम दिइयो। नेपालमा स्टाफ नर्स सुरु भयो। त्योभन्दा पहिलादेखि नै अनमी, वार्डेन भन्ने हुन्थ्यो। देवकुमारीले २००९ सालदेखि हस्पिटलमा काम गर्न थालेकी थिइन्। उनलाई भारतबाट आएका डाक्टरहरूले तालिम दिएका थिए।

वीर अस्पतालको इतिहास पुरानो हो। लक्ष्मीका अनुसार त्यतिवेला नर्स हुन बिहे गरेका महिलाले पाउँदैनथे, कि त विधवा हुनुपथ्र्यो, कि घर छाडेको हुनुपथ्र्यो।

लक्ष्मीका हजुरबुवाको उमेर छँदै देहान्त भएपछि देवकुमारी नर्स क्षेत्रमा लागेकी थिइन्।

देवकुमारीपट्टि दुई छोरा भए। लक्ष्मीका बुवा मुक्तिनाथ पौडेल जेठा हुन्। कान्छाको सानै उमेरमा देहान्त भयो। मुक्तिनाथकी एक मात्र छोरी हुन्, लक्ष्मी गिरी।

मुक्तिनाथले भारतको पटनामा पढे र एयरलाइन्समा काम गर्न थाले। पहिले सिमरादेखि पोखरासम्म जहाज चल्थ्यो, व्यापारीहरूले जहाज भाडामा लिएर सामान ल्याउँथे। त्यतिवेला दुईवटा एयरलाइन्स थिए– जैमिनी र गरुड। मुक्तिनाथले दुवैमा काम गरे।

भारतबाट विभिन्न सामान नेपाल आउँथे, चुरोट पनि आउँथे। मुक्तिनाथ २०१२ सालपछि चुरोटको सेल्स म्यानेजर भएर भैरहवामा पनि बसे। तर, ३८ वर्षको कलिलो उमेरमा उनको देहान्त भयो।

नोगजाँ अर्थात् नोट गन्ने जाँच्ने जागिर

लक्ष्मीले तत्कालीन शारदा निमावि चामुण्डा माविमा पढिन्, एसएलसी उत्तीर्ण गरिन्।

लक्ष्मीलाई शारदामा पढाउने शिक्षक दामोदर दुवाडी राष्ट्र बैंकमा नोट विभागको जिएम थिए। उनी लक्ष्मीका छिमेकी थिए। यही सम्पर्कले लक्ष्मी राष्ट्र बैंकमा जागिर गर्न पुगिन्, ०२८ सालमा, जति वेला उनी ९ कक्षामा पढ्दै थिइन्। त्यतिवेला बैंकको नोट विभागमा जागिर खानलाई पारवारिक पृष्ठभूमि हेरिन्थ्यो।

लक्ष्मी भन्छिन्, ‘अलिकति आयस्रोत हुने परिवारको व्यक्तिले पैसा तल–माथि नगर्ने र इमानदार हुने विश्वास गरिन्थ्यो। मेरो परिवारको आयस्रोत राम्रै भएकाले पनि राष्ट्र बैंकमा जागिर पाएँ।’

राष्ट्र बैंकमा उनी ०२८ सालेदेखि जागिरे भइन्, सहायक पदमा। उनको कामलाई त्यो वेला नोगजाँ भनिन्थ्यो अर्थात् नोट गन्ने र जाँच्ने। पछि नाटक खेलेर उनको प्रमोसन भयो।

टेलिसिरियलमा

नेपाल टेलिभिजनको स्थापनापछि निजी तबरबाट टेलिफिल्म बन्न थाले। उज्ज्वल घिमिरेले ‘यस्तै हुन्छ’ सिरियल गर्ने भए। जसअन्तर्गत विभिन्न भाग र उपशीर्षकमा टेलिफिल्म आउँथे। त्यसमध्येकै तीन भागको ‘अप्रिल फस्र्ट’मा लक्ष्मीले अवसर पाइन्। त्यसपछि उनी निरन्तर टेलिफिल्म खेल्दै आएकी छन्।

लक्ष्मी भन्छिन्, ‘मैले चार सयभन्दा बढी टेलिचलचित्रमा खेलेकी छु।’ उनले खेलेका चर्चित सिरियल हुन्- यस्तै हुन्छ, देवी, हिजोआजका कुरा, परिचय, गंगा जमुना, कथा सुखदु:खको, मुटुको व्यथा, तीतो सत्य, मेरी बास्सै आदि।

लक्ष्मीलाई चलचित्रमा वरिष्ठ निर्देशक चेतन कार्कीले ल्याएका हुन्, चलचित्र भुमरीबाट। अनुबन्धितका हिसाबले उनको पहिलो फिल्म भुमरी हो, वैशाख ०४६ मा उनी भुमरीमा अनुबन्धित भइन्। त्यसपछि जेठमा फेरि भेटौँलामा अनि असोजमा कन्यादान र मायामा अनुबन्धित भइन्।

उनी घर भन्ने टेलिफिल्म खेल्दै थिइन्। निर्देशक प्रकाश थापालाई धनी महिलाको भूमिकामा खेल्ने महिला चाहिएको थियो, फिल्म कन्यादानका लागि। उनले टेलिफिल्ममा लक्ष्मीलाई हेरेर फिल्ममा लिएका थिए। यसरी ०४६ सालमा मात्रै उनले चारवटा फिल्म पाइन्।

विज्ञापन

राष्ट्र बैंकको रजत महोत्सवका वेला मदनकृष्ण र हरिवंशले पनि बैंकेश्वर नाटक देखाएका थिए। यही सिलसिलामा लक्ष्मीको मदनकृष्ण र हरिवंशसँग चिनजान भयो।

लक्ष्मीले ‘सपना नसम्झ’मा गरेको अभिनयलाई मह जोडीले ख्याल गरेका रहेछन्। यसैले लक्ष्मीले महको चर्चित नाटक ‘विज्ञापन’ खेल्न पाइन्, ०४३ मा। विज्ञापन मह जोडीको चर्चित नाटक हो। यही नाटकबाट लक्ष्मी अमेरिका, बेलायत, हङकङको भ्रमण गर्न पाइन्।

यसरी नै उनी टेलिफिल्म र ठूला चलचित्रमा व्यस्त हुन थालिन्, कलाकारितामा उनको माया झन्झन् गाढा हुँदै गयो। फिल्ममै समय दिन उनले राष्ट्र बैंकको जागिरबाट स्वेच्छिक अवकाश लिइन्, ०५० सालमा।

पहिलो ड्राइभर महिला

फिल्ममा प्राय: धनी महिलाको भूमिका निभाउँदा ड्राइभिङ पनि गर्नुपर्ने हुन्थ्यो। तर, उनलाई ड्राइभिङ आउँदैनथ्यो। ड्राइभिङ सिक्नुपर्ने महसुस भएपछि उनले जागिर छाड्नेबित्तिकै ०५० सालमा ड्राइभिङ सिकिन्।

०५० सालमै उनले चलचित्र अनर्थमा गाडी चलाउनुपर्ने भयो। उनले कार चलाइन्।

उनी भन्छिन्, ‘सायद नेपाली फिल्ममा कार चलाउने पहिलो महिला कलाकार मैँ हुँला। मैले ०७० मा प्याराग्लाइडिङ पनि गरेँ।’

लक्ष्मीको विवाह रत्नकुमार गिरीसाग भयो, ०३० मा। लक्ष्मी स्काउटमा आबद्ध थिइन्। उनी शारीरिक अभ्यासका लागि टुँडिखेल जान्थिन्। त्यहाँ रत्न पनि वेला–वेला पुग्ने गर्थे। बाटोमा पनि उनीहरूको देखादेख हुन्थ्यो।

पछि बिहेको कुरा आयो, रत्नकी दिदीमार्फत।

लक्ष्मी भन्छिन्, ‘हाम्रो जात त मिल्दैनथ्यो, हामी बाहुन, उहाँ क्षत्री। तर, हलेसीको महन्थ भनेपछि सबैतिरबाट सकारात्मक कुरा आयो, हाम्रो बिहे भयो।’

त्यतिवेला रत्नले स्नातक सकिसकेका थिए, टियुमा प्रशासनमा काम गर्थे। लक्ष्मीले एसएलसी दिएकी थिइन्। जमानाअनुसार पढे–लेखेकी र जागिरे पनि। उनीहरूको २०३० सालमा बिहे भयो। अघिल्लो वर्ष लक्ष्मीकी हजुरआमाको देहान्त भएको थियो।

लक्ष्मी भन्छिन्, ‘हजुरआमा भएको भए पनि हाम्रो बिहे हुँदैनथ्यो होला, किनभने उहाँले क्षत्रीसँग बिहे गर्न दिनुहुँदैनथ्यो सायद।’

लक्ष्मीका दुई छोरा र एउटी छोरी भए। अहिले लक्ष्मी कपनको घरमा परिवारसँग छन्, खुसी छन्। कलाकारितामा सक्रिय छन्।

बिहेपछि उनलाई कलाकारितामा लाग्न कस्तो वातावरण मिल्यो होला ? उनी रमाइलो पारामा भन्छिन्, ‘कहिलेकाहीँ म सुटिङबाट बेलुका ढिला घर फर्कन्थेँ। श्रीमान्ले ढोका खोल्नुपथ्र्यो।

मुडअनुसार कहिलेकाहीँ उहाँ झर्कनुहुन्थ्यो। अनि मैले भन्थेँ, ‘बिहान जा भन्ने, अहिलेचाहिँ किन झक्र्या बूढा ? अब जाँड खाएर आको भए पनि मैले जाँड खाएर रिसाउनुभयो भन्नु ? बिहान तपाईंसँग सल्लाह भएर त गाको हो नि ! अनि उहाँले ‘भो–भो धेरै हल्ला नगर’ भन्नुहुन्थ्यो।’
०००

 

 Published Date: Monday, 22nd November 2021 3:06:00 pm