मृत्युको मुखबाट फर्केकी उपप्रमुख
जनयुद्ध ठट्टा थिएन, परिवर्तनका लागि तरबारको धारमा हिँड्नु थियो, जीवन र मृत्युको दोसाँध थियो। जनयुद्धकै जगमा देशमा गणतन्त्र आयो। लामो संघर्षपछि हामीलाई आफ्नै क्षेत्रको विकास र सेवामा खटिने संयोग जुरेको हो।काठमाडाैं, मंसिर २ : प्रेमकुमारी सुनार मुसिकोट नगरपालिका रुकुम (पश्चिम) की उपप्रमखु हुन् भने उनका श्रीमान् गोप्यश्वर केसी मुसिकोट नगरपालिका–१० का वडाध्यक्ष। यो अन्तर्जातीय जोडीको भेट र विवाह १० वर्षे जनयुद्धका बीचमा भएको हो। यी दुई श्रीमान्–श्रीमतीले २०७४ को स्थानीय तहको चुनाव जितेपछि निकै चर्चा चलेको थियो। बाहिरबाट हेरेजस्तो उनीहरूले सहजै चुनाव जितेका भने होइनन्, यसको पछाडि लामो संघर्षको कथा छ।
‘जनयुद्ध ठट्टा थिएन, परिवर्तनका लागि तरबारको धारमा हिँड्नु थियो, जीवन र मृत्युको दोसाँध थियो। जनयुद्धकै जगमा देशमा गणतन्त्र आयो। लामो संघर्षपछि हामीलाई आफ्नै क्षेत्रको विकास र सेवामा खटिने संयोग जुरेको हो,’ उपप्रमुख सुनार भन्छिन्, ‘गर्न धेरै थियो र छ– विकास निर्माणदेखि जनचेतनाका कार्यक्रम। कति ग¥यौँ, कतिको सुरुवात गरिएको छ।’
प्रेमकुमारी र गोप्यश्वरको विवाह २०५९ माघमा भएको हो, पार्टीकै प्रस्ताावमा। हालको मुसिकोट नगरपालिका–१० का गोप्यश्वर २०४३ सालदेखि राजनीतिमा सक्रिय थिए। विवाह हुँदा उनी २९औँ वसन्तमा हिँड्दै थिए। जनयुद्धबाट फर्केपछि प्रेमकुमारी पश्चिम रुकुममा श्रीमान्सँगै बस्न थालिन्। जनयुद्धमा विवाह गरेको र दुवैजना माओवादीमा सक्रिय नेता भएकाले उनीहरुले घर–परिवार र समाजमा जातीय समस्या भोग्नुपरेन।
अहिले दुवै जनप्रतिनिधि भएकाले दुवैलाई दुवैको र घर–परिवारको पनि समर्थन छ। गोप्यश्वर भन्छन्, ‘एउटै नगरपालिकामा भएका कारण पनि हामी दुवैलाई सबैबाट सहयोग मिलेको छ, दुवैजनाले सरसल्लाह गरेर अगाडि बढ्न मद्दत पुगेको छ।’
पार्टी शान्तिप्रक्रियामा आएपछि प्रेमकुमारीले बीचैमा छाडेको पढाइलाई निरन्तरता दिइन्। ०५३ सालमा दिन नपाएको एसएलसी २०६४ मा दिएर पास भइन्। अहिले उनले स्नातक गरिरहेकी छन्। योबीचमा उनकी छोरी १० वर्ष पुगिन्। छोरीले अहिले कक्षा–५ मा अध्ययन पढ्छिन्।
राजनीतिक यात्रा
प्रेमकुमारीले हालको पूर्वी रुकुम भूमे गाउँपालिका–३ स्थित सहिद शुक्र माविमा कक्षा ५ मा पढ्दै थिइन्, उनलाई अखिल क्रान्तिकारीको सदस्य बनाइयो। उनका दाइदिदीहरु सोही स्कुलमा पढ्थे, उनी दाइदिदीहरुमार्फत संगठित भएकी थिइन्। चार दाजुभाइ र चार दिदीबहिनीमध्ये उनी कान्छी हुन्। उनको परिवारमा राजनीतिक प्रभाव थियो। उनका बुवा तेजे सुनार कृषक हुन्। तर, उनका मामा गाविसका उपप्रधानपञ्च थिए। मामाको राजनीतिक प्रभाव उनकी आमामा पनि परेको थियो। ‘आमा राजनीतिमा चासो राख्ने र विभिन्न सामाजिक संगठनमा आबद्ध हुनुहुन्थ्यो,’ प्रेमकुमारी भन्छिन्, ‘आमाको राजनीति प्रतिको चासोका कारण दाइदिदीहरू अलि फरक चेतनाका साथ राजनीतिमा लागे, जसको प्रभाव मलाई पनि प¥यो। र, म १४ वर्षको उमेरमै विद्यार्थी आन्दोलनमा लागेँ।’
यो ०४८ सालको कुरा हो, उनले नौ वर्षको उमेरदेखि विद्यालय टेकेकी हुन्। क्रमशः उनीमा जोस र जाँगर भरिँदै गयो। उनी १८ की भइन्, केही नयाँ निर्णय लिने ऊर्जाले उनलाई झकझकाउन थाल्यो। ठीक त्यही बेला उनी जुन पार्टीको विद्यार्थी संगठनमा थिइन्, त्यही पार्टी अर्थात् माओवादीले जनयुद्धमा जाने घोषणा ग¥यो।
२०५२ मंसिरसम्म आइपुग्दा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता भइसकेकी थिइन्। समाजमा विद्यमान बेथिति, विकृति र विभेद बुझ्दै जाँदा जनयुद्धमा होमिने निर्णय लिइन्। जनयुद्धमा जानका लागि उनले एक महिना फौजी तालिम लिनुपथ्र्यो, यो सबै पार्टीले नै व्यवस्था मिलाएको थियो। ‘त्यतिबेला विद्यार्थी आन्दोलनमा सक्रिय भएका धेरैलाई जनयुद्धका लागि तालिम दिइएको थियो,’ प्रेमकुमारी भन्छिन्, ‘म पार्टीमा सक्रियतापूर्वक लागेकी थिएँ, पार्टीप्रतिको मेरो लगाव देखेरै मैले तालिम लिन पाएकी थिएँ। मैले बाल्यकालदेखि नै साहसी खेलका रुचि राख्थेँ।’
एक महिनाको फौजी तालिमपछि (२०५२ फागुन १ देखि) अर्थात् अध्ययन छाडेर उनी जनयुद्धमा लागिन्। जनयुद्धमा उनले विद्यार्थी स्वयंसेवक दलको कमान्डरको जिम्मेवारी पाएकी थिइन्। पछि उनी महिला संगठन, माओवादी राज्य कमिटी सदस्य र जिल्ला कमिटी सदस्य हुँदै पार्टीमा सक्रिय रहिन्।
कलाकार र योद्धा
०५३ साउनदेखि उनी भूमिगत भइन्। ‘हामीलाई माओवादी जनताको पार्टी हो। जनयुद्ध महिला, दलित र उत्पीडित वर्ग तथा समुदायको न्यायको लागि गरिएको भनेर बुझाइएको थियो,’ उनी भन्छिन्, ‘हामीले यही कुरा जनतामा बुझाउन थाल्यौँ– गीत, भाषणमार्फत।’
प्रेमकुमारी गीत गाउन पनि सिपालु थिइन्। उनले गीत–संगीतमार्फत जनतालाई जागरुक बनाउने जिम्मेवारी पाएकी थिइन्। पछि उनी माओवादीनिकट सामना सांस्कृतिक परिवारमा गायिकाको रूपमा जोडिन पनि पुगिन्। ‘कलाकार हुँदै लडाइँमा समेत भाग लिएँ। जहाँ लडाइँ हुन्थ्यो, त्यहाँ पुगिन्थ्यो,’ उनी भन्छिन्, ‘कति घाइते साथीलाई बोकेर सुरक्षित ठाउँमा पु¥याइन्थ्यो। लडाइँमा घाइते कैयौँ साथीलाई उपचार सहज नभएकाले बचाउन सकिएन।’
समाजमा आफूहरुको प्रभाव बढेसँगै सेना र आफूहरुबीच भीडन्त पनि बढेको उनी बताउँछिन्। ‘पछि पछि त सेनाले माओवादीलाई जहाँ भेट्यो, त्यति मार्न थाल्यो। पक्राउ परेकालाई यातना दिन थालेपछि हामी जंगलमा बस्न थाल्यौँ,’ उनी भन्छिन्, ‘दुई–तीन महिना चप्पल समेत नलगाई जंगलमा हिँडिन्थ्यो, खानाको टुंगो हुँदैनथ्यो। कहिलेकाहीँ पानी समेत पिउन पाइँदैनथ्यो। कतिपटक त रुखलाई कोपेर त्यसबाट आउने पानी पियौँ।’
मृत्युको मुखबाट
०५३ माघमा प्रेमकुमारीलाई पहिलोपल्ट रुकुमको इलाका प्रहरीले गिरफ्तार ग¥यो। त्यतिबेला उनीसहित ६ जना महिलालाई पक्राउ गरेर तीन सातासम्म प्रहरीले राखेको थियो। ‘त्यतिबेला प्रहरीको लात्ती, डण्डी कति खाइयो भनी व्यक्त गर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘जनयुद्धमा लागेको होइन भनेकाले तारिखमा छाडिदियो। यसो नभनेको भए, मारिन्थ्यौँ होला।’
२०५६ भदौमा सेना र माओवादीबीच रुकुममा ठूलो भीडन्त प¥यो। दुश्मनदेखि भाग्ने क्रममा उनी जंगलको अग्लो भीरबाट खसिन्। र, घाइते भइन्। ‘त्यतिबेला सेनाले भेटेको भए मलाई माथ्र्यो। भीरबाट हामफाल्दा मरिनँ, तर घाइते भएँ,’ प्रेमकुमारी भन्छिन्, ‘त्यतिबेला माओवादीलाई सेनाले जहाँ भेट्यो, त्यति मारिदिने गरेको थियो।’
भीरबाट हामफाल्दा उनको ढाडका तीनवटा हड्डी भाँचिएको थियो। उनले ६–७ महिनासम्म जंगलमा लुक्दै उपचार गराइन्। उनी भन्छिन्, ‘उपचारका लागि जंगलमै जडीबुटी तथा वैद्यको सहयोग लिइन्थ्यो। जनयुद्धका बेलाका यस्ता थुप्रै घटना छन् तर यी दुई घटनाबाट मृत्युको मुखमै पुगेको अनुभव भएको थियो।’
जनप्रतिनिधि भएपछिका काम
मुसिकोट नगरपालिकाको प्रमुख देवीलाल गौतम पनि माओवादी पार्टीबाटै आएका जनप्रतिनिधि हुन्। प्रमुख र उपप्रमुख एउटै पाटीका जनप्रतिनिधि भएकाले कार्यालयका हरेक काममा छलफल हुने उनी बताउँछिन्। ‘उपमेयरको काम–कर्तव्यभित्रका काम गर्न असहज छैन,’ उपमेयर भन्छिन्, ‘हरेक काम छलफल र सहमतिमा अगाडि बढाइन्छ।’
स्थानीय तहमा चुनाव जितेपछि उनले सुरुवाती दिनमा नगरपालिकाले लिने राजस्वका बारेमा नगरवासीलाई बुझाइन्। ‘चार–पाँच दिनको कार्यक्रममा नगरवासीलाई राजस्व किन तिर्ने भनेर बुझाउन सकियो,’ उपमेयर भन्छिन्, ‘त्यसैले गाउँवासीले समयमा राजस्व बुझाउँछन्।’
उनका अनुसार, यहाँ अपांगता भएका व्यक्तिलाई परिवारले घरबाट निकालिदिने गर्थे। कतिपय अपांगता भएका व्यक्ति ओढारमा समेत बस्थे। अहिले भवन बनाएर उनीहरूलाई बस्ने–खाने सुविधा नगरपालिकाले नै प्रदान गरेको छ। ‘अपांगता भएका व्यक्तिलाई मात्र होइन, सडकमा बस्ने घरविहीन र विपन्न वर्गलाई पनि बस्ने व्यवस्था गरेका छौँ,’ उनी भन्छिन्, ‘पागलपन भएकालाई सुधारगृह र असह्य विपन्नलाई मानव आश्रमको व्यवस्था गरेका छौँ।’
उनका अनुसार अपांगता भएका क, ख, ग वर्गमध्येका क र ख वर्गका व्यक्तिलाई केही राहत दिइन्छ। काम गर्न सक्ने अपांगता भएका व्यक्तिलाई नगरपालिकाले सीप सिकाएर काम गर्न प्रोत्साहन गरिरहेको उनको भनाइ छ।
दैनिक पाँच लिटर दूध बेच्नेलाई पुरस्कार
रुकुममा उद्योगी, व्यवसायीभन्दा कृषक धेरै छन्। कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले पुरस्कारको व्यवस्था गरेको छ। ‘यहाँ बिस्तारै भैँसी पाल्न छोड्दै छन्। भैँसी पाल्न प्रोत्साहन गर्न दैनिक पाँच लिटर दूध बेच्नेलाई प्रतिलिटर तीन रुपैयाँ पुरस्कार दिइन्छ,’ उपप्रमुख सुनार भन्छिन्, ‘आर्यआर्जन बढाएर कृषिसम्बन्धी नै उद्योग सञ्चालन गर्न नगरवासीलाई ऋण प्रदान गरेका छौँ। ‘कृषिसम्बन्धी उद्योग सञ्चालन गर्न कम ब्याजमा एक लाखदेखि १० लाख रुपैयाँसम्म ऋण दिन्छौं।’
तर विस्तृत रूपमा योजना, उद्देश्य र आम्दानीको स्रोत खुलाउन नसक्दा धेरैले ऋण लिन सकेका छैनन्। हालसम्म १०–१५ जनाले मात्र लिएको उनी बताउँछिन्।
जातीय विभेद
उपप्रमुख सुनारका अनुसार, रुकुममा जातीय विभेद तथा छुवाछूत पूर्ण रूपमा हटिसकेको छैन। जनयुद्धताका जातीय विभेद चरम थियो। जनयुद्धमा जाँदा आफूले जातीय विभेद भोगेको उनी बताउँछिन्। ‘जनयुद्धमा हिँड्दा कहिले जंगल, कहिले अरूको घरमा बास बस्नुपथ्र्याे। गैरदलितको घरमा बास बस्दा दलितलाई घरभित्र प्रवेश गराइँदैनथ्यो,’ उनी भन्छिन्, ‘०५४÷५५ तिर जनयुद्धकै बेला दलितलाई घर प्रवेश कार्यक्रम ल्याइएको थियो।’
अहिले दलित समुदायका उजुरी प्रहरी प्रशासनले लिन नमान्ने गुनासा पनि उत्तिकै छन्। ‘हामीले प्रहरी प्रशासनलाई दलितका उजुरी सहजै लिन भनिरहेका छौँ,’ उनी भन्छिन्, ‘पत्राचार र फोनबाट भनिरहँदा पनि सुनिएको छैन। कम उमेरका प्रेम विवाह हुँदा जातीय कुरा नगरी उमेर नपुगेको भन्दै छुट्ट्याउँछन्, तर जात मिलेको हकमा छुट्ट्याइँदैन,’ उपमेयर सुनार भन्छिन्, ‘रुकुममा त्यस्ता घटना धेरै छन्। नवराज विकको घटना पनि त्यस्तै हो।’
नगरपालिकाभित्र भागेर बालविवाह गर्ने समस्या छ। ‘बालविवाह हुँदा दुई–तीनपटक रोकियो। तर, बालविवाह रोक्दा प्रेमी–प्रेमिका छुट्टिनुपर्छ,’ उनी भन्छिन्, ‘छुट्ट्याउँदा उनीहरूलाई भावनात्मक चोट पुग्दो रहेछ, आत्महत्या गर्नेसम्मकै डर हुन्छ। बालविवाहबाट छुट्ट्याएर ल्याएपछि प्रहरी, स्थानीय तह र अभिभावक जिम्मा लिन डराउँछन्।’
दलित समुदायलाई कानुनी कुरा, शिक्षाको महत्त्व सिकाउन आवश्यक रहेको उनको बुझाइ छ। दलित समुदायका नयाँ पुस्ता पुख्र्यौली काम गर्न अप्ठेरो मान्छन्। ‘पुख्र्यौली पेसा गर्न लाज मान्ने भएकाले दलित समुदायमा बरोजगार बढ्दो छ,’ उनी भन्छिन्, ‘व्यवसाय गर्न बजेट हुँदैन, पुख्र्यौली पेसालाई रुचाउँदैनन्, त्यसैले दलित समुदाय पछाडि परेको हो।’ पुख्र्यौली पेसा संरक्षण गर्ने व्यवसायीलाई अनुदान स्वरूप केही रकम दिने योजना बनाउन लागेको उनको भनाइ छ।
१४६ उजुरी
नगरपालिकामा न्यायिक समिति स्थापना भएदेखि हालसम्म एक सय ४६ उजुरी आएको नगरपालिकाको तथ्यांक छ। लिखितभन्दा बढी मौखिक रूपमा उजुरी आउने उपमेयर बताउँछिन्।
नगरपालिकाको तथ्यांक अनुसार २०७४/७५ मा ४३, २०७५/७६ मा ३५, २०७६/७७ मा २१, २०७७/७८ मा ३५, २०७८/०७९ मा १२ उजुरी दर्ता भएका उपमेयर प्रेमकुमारी बताउँछिन्। ‘दलित बच्चाले नागरिकता नपाएको, महिलाहिंसा, लेनदेन, घरभाडा, कुटपिटका उजुरी धेरै आउँछन्,’ उनले भनिन्।
यी उजुरी पनि समाजको समस्या रहेको र यसमा स्थानीय सरकार गम्भीर हुनुपर्ने उनको बुझाइ छ।