निर्जन ताल किनारका एक्ला वृद्ध

स्कटल्यान्ड, कात्तिक २८ : केन स्मिथले पारम्परिक तरिकाको जीवन जिउन छाडेको ४० वर्ष बित्यो। उनी स्कटल्यान्डको एक तालको किनारामा हातले बनाएको एक झुपडीमा बस्छन्। उनको झुपडीमा न त बिजुलीको सुविधा छ, न धाराको पानी नै।

तथापि, उनी खुशी छन्। भन्छन्, ‘मेरो जिन्दगी उत्कृष्ट छ। सबै यसरी नै जीवन बिताउन चाहन्छन् तर सक्दैनन्।’

खानका लागि चरा र माछा मार्नु, आगो बाल्न दाउरा जम्मा गर्नु, नांगै नुहाउनु, तालमा कपडा धुनु उनका दिनचर्या हुन्। ७४ वर्ष पुगिसकेका एक वृद्धको यो अनौठो जीवनशैली सुन्दा जोकोहीलाई आश्चर्य लाग्छ। कतिपयलाई आर्दश जिन्दगी पनि लाग्न सक्छ।

उनको काठबाट बनेको ताल किनारको घरबाट सडकसम्म पुग्न पैदल दुई घण्टा लाग्छ। उनी किनारामा बसेको तालको नाम हो, ‘लक ट्रेइग’। यसलाई ‘लक अफ डेथ’ अर्थात् मृत्युको ताल पनि भनिन्छ। ‘यो निर्जन ताल आफ्नो नामबाटै प्रसिद्ध छ,’ स्मिथ भन्छन्, ‘यहाँ कुनै सडक छैन। तर, यहाँ बाँध बाँध्नु अघिसम्म यस क्षेत्रमा मानिसको बसोवास थियो।’ सन् १९२९ मा बाँध बाँधेर यसलाई कृत्रिम तालको रूप दिइएको हो, जसलाई ‘ट्रेइग ड्याम’ भनिन्छ।

नजिकैको पहाडीको मुनितिर संकेत गर्दै उनी भन्छन्, ‘ताल बन्नुअघि यहाँ बसोवास रहेका मानिसका घर र जमिन यहीँ मुनि छन्, अब यहाँ म एक्लै परेको छु।’

डकुमेन्ट्रीमा देखिए स्मिथ

फिल्म निर्माता लिजी म्याकेन्जीले पहिलोपटक नौ वर्षअघि सम्पर्क गरेका थिए। र, बीबीसी स्कटल्यान्डको डकुमेन्ट्री ‘द हर्मिट अफ ट्रेइग’मा उनलाई देखाएका थिए। यो डकुमेन्ट्री भने दुई वर्षअघि मात्र निर्माण भएको हो।

केन खासमा ‘लक ट्रेइग’बाट करिब ६ सय ४६ किलोमिटर टाढाको डर्बिसायरका स्थायी बासिन्दा हुन्। १५ वर्षको उमेरमा उनले दमकल केन्द्र निर्माणको काम थालेका थिए। तर, २६ वर्षको उमेरमा उनको जिन्दगी सधैँका लागि बदलियो। एक रात उनलाई ठगहरूको एक गिरोहले मरणासन्न हुने गरी पिट्यो। पिटाइका कारण उनलाई ‘ब्रेन हेमरेज’ भयो। र, २३ दिनसम्म अचेत बने।

त्यसपछि पनि चिकित्सकहरूले उनी कहिल्यै पूर्ण रूपमा निको नहुने बताए। ‘न कहिल्यै बोल्न सक्नेछु, न त हलचल गर्न नै भनेका थिए डाक्टरहरूले। तर, ठीक भएँ,’ उनी भन्छन्, ‘जब पूर्ण रूपमा निको भएँ, अब कोही कसैको शर्तमा नभई आफ्नै शर्तमा जीवन बिताउने निर्णय लिएँ।’

त्यसपछि उनी संसारको फेरो मार्न थाले। एक समय त यस्तो पनि आयो, उनले जंगलमै जीवन बिताउनेबारे पनि सोचे। अमेरिकाको अलास्काको सीमा जोडिएको क्यानाडाको युकोन क्षेत्रमा पुगेपछि उनलाई विचार आयो, राजमार्गमा पैदल यात्रा गर्दा कस्तो होला ? उनले त्यही गरे। र, घर फर्किनुअघि उनले करिब ३५ हजार किलोमिटर पैदल यात्रा गरे।

उनी संसारको फेरो मार्न निस्किएकै समयमा उनका मातापिताको मृत्यु भयो। त्यतिबेलासम्म उनी घर फिरेनन्, जतिबेलासम्म आफ्ना बाबुआमाको मृत्यु भएको खबर पाएनन्।

मातापिताको मृत्युबाट विचलित

केन भन्छन्, ‘मलाई सामान्य अवस्थामा फर्किन धेरै समय लाग्यो। मलाई केही महसुस नै भइरहेको थिएन।’ उनी पैदल यात्रा गर्दै बेलायत पुगे। स्कटल्यान्डको रेनोचसम्म पुगे। त्यहाँ पुगेपछि मात्र उनलाई आफ्ना मातापिताको यादले सतायो अनि डाँको छाडेर रुन थाले।

‘म रुँदै हिँड्दै थिएँ। र, सोचेँ ब्रिटेनमा सबैभन्दा सुनसान ठाउँ कहाँ छ,’ उनी भन्छन्, ‘म धेरैतिर पुगेँ र सुनसान ठाउँ खोजिरहेँ। एउटा घर पनि नबनेको ठाउँ खोज्दै मैले सयौँ माइलको यात्रा गरेँ। अन्तिममा यो निर्जन ताल किनार र जंगल भेटेँ।’

यहाँ आउनासाथ उनको ब्रह्मले भन्यो, मैले खोजेको ठाउँ यही हो। र, बाबुआमाको विरहमा रुन र संसार घुम्न बन्द गरे। पहिले साना डण्डीहरूको प्रयोग गरेर उनले आफ्नो घरको डिजाइन तयार पारे। र, त्यही डिजाइनमा काठका लकडीहरूबाट घर बनाउने निर्णय लिए।

उनले यो घर बनाएको चार दशक बित्यो, आजसम्म बिजुली, ग्यास र पानीको सुविधा उपलब्ध छैन। यस क्षेत्रमा मोबाइलको सिग्नल पनि टिप्दैन। नजिकको जंगलमा दाउरा काट्छन् र बोकेर घरसम्म ल्याउँछन्।

आफूलाई आवश्यक तरकारी आफैँ फलाउँछन्। उनको खानाको मुख्य स्रोत त्यही ताल हो। भन्छन्, ‘यदि तपाईं बाँच्न चाहनु हुन्छ भने माछा पक्रिन सिक्नुपर्छ।’

सन् २०१९ मा भयो स्ट्रोक

फेब्रुअरी २०१९ मा फिल्म निर्देशक लिजी फर्केको १० दिनपछि घरबाहिर हिउँमा केनले स्ट्रोकको सामना गर्नुप¥यो। त्यसलगत्तै उनले ‘जीपीएस पर्सनल लोकेटर’ प्रयोग गरे। उक्त लोकेटरबाट उनले गरेको मद्दतको गुहार अमेरिका टेक्ससको ह्युस्टनस्थित एक रेस्पोन्स सेन्टरमा पुग्यो।

त्यहाँबाट ब्रिटेनको कोस्टगार्डलाई सूचित गरियो। र, कोस्टगार्ड हुँदै प्राप्त सूचनाका आधारमा उनलाई फोर्ट विलियम अस्पताल पु¥याइयो। उनलाई पूर्ण रूपमा निको हुन सात साता लाग्यो।

चिकित्सकहरूले उनलाई आम मानिसका बीचमा राख्ने धेरै प्रयत्न गरे। उनलाई बस्न एक फ्ल्याट र रेखदेख गर्ने मानिस राखिदिने बताए। तर, केन आफ्नै निर्जन ठाउँको घरमै फर्किए।

स्ट्रोकपछि उनको आँखाको ज्योति कमजोर बनेको छ। उनको स्मरण शक्ति पनि प्रभावित भएको छ। यसको अर्थ हो, अब उनलाई विगतको तुलनामा अन्य मानिसको मद्दत अत्यावश्यक छ।

अहिले उनी बसिरहेको घरमा जंगलको सुरक्षामा खटाइएका मानिसले उनलाई खानपिनका सामान ल्याइदिन्छन्। त्यसको खर्च उनी आफ्नो पेन्सनको रकमबाट भुक्तानी गर्छन्। ‘अहिले मलाई मानिसहरूले धेरै मद्दत गरिरहेका छन्,’ उनी भन्छन्।

उनलाई आफ्नो भविष्यको चिन्ता छैन। ‘हामी सधैँका लागि पृथ्वीमा रहन सक्दैनौँ। त्यसैले म यही घरमा मर्न चाहन्छु,’ उनी भन्छन्, ‘ममाथि धेरै घटना भए तर हरेक पटक बाँचेँ। मलाई कहिलेकाहीँ बिरामी पनि हुनुछ। एक दिन मलाई केही यस्तो पनि हुनेछ, जसले मलाई यहाँबाट धेरै टाढा लिएर जानेछ। यस्तो सबैलाई हुन्छ। तर, मलाई आशा छ, म एक सय दुई वर्षसम्म बाँच्नेछु।’

(बीबीसीबाट)

 

 Published Date: Sunday, 14th November 2021 6:47:00 am