Kathmandu Press

भारी बोकेर पढेकी उपप्रमुख 

भारी बोकेर धेरै दिन हिँड्दा गाँस र बासको व्यवस्था गर्नुपर्थ्यो। बाटोका घरमा बास बस्न पाँच रुपैयाँ तिर्नुपर्थ्यो। पाँच रुपैयाँ जोगाउन थुप्रैपटक साथीहरूसँग ओढारमा बसेँ। हिउँमा भारी बोकेर हिँड्दा खुट्टामा रगत जमेर सुनिन्थ्यो। चिसोमा लगाउन बाक्लो लुगा हुँदैनथ्यो।
भारी बोकेर पढेकी उपप्रमुख 

काठमाडौं, कात्तिक २२ : एसएलसी दिएर भारी बोक्न थालेकी कल्पना राई एउटा चौतारीमा डोको अड्याएर थकाइ मार्दै थिइन् । दोलखाको जिरीबाट भारी बोकेर सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउँदै गरेकी उनलाई भारीले गलाएको थियो, तर संघर्षसँगैको सफलताले उनलाई कतै पर क्षितिजबाट चियाइरहेको थियो ।

डोको अड्याएर पसिना पुछ्दै गर्दा उनले बाटोमा हिँडिरहेका जुद्धबहादुर कार्कीलाई देखिन् र नमस्ते गरिन् । जुद्ध नेकपा एमालेको तत्कालीन जिल्ला सचिवालय सदस्य र विद्यार्थी इन्चार्ज थिए । कल्पनाले उनलाई पार्टीको कुनै कार्यक्रममा देखेकी थिइन् । जुद्धले कल्पनाको नमस्ते त फर्काए, तर आफ्नै संगठनकी सदस्य भनेर ठम्याएनन् । 

कल्पनाले विस्तारमै बताउनुपर्ने भयो । 

Hardik ivf

उनले कक्षा ७ मा पढ्दै थिइन् । एक दिन कक्षा चलिरहेको थियो । कक्षालाई बीचमै रोकेर माथिल्लो कक्षाका विद्यार्थी कक्षा कोठामा प्रवेश गरे । उनीहरूले भने, ‘पढ्ने विद्यार्थीको एउटा समूह बनाउन लागेका छौँ, त्यसमा राम्रो पढ्ने विद्यार्थीलाई मात्र राखिन्छ ।’ 

कक्षामा प्रथम हुने कल्पनालाई त्यस समूहको सदस्य बनाइयो । तर, उनलाई थाहा थिएन, आफू कुन पार्टीको के भएँ भन्ने । वास्तवमा उनी अनेरास्ववियुमा संगठित भएकी थिइन् । ‘बुझ्दै जाँदा पछि थाहा पाएँ– हाम्रो टोलमा अनेरास्ववियुको बाहुल्य रहेछ । स्कुलमा सदस्य भएपछि म अनेरास्ववियुको राजनीतिक कार्यक्रममा जान थालेँ,’ कल्पना भन्छिन्, ‘बिस्तारै राजनीतिका बारेमा बुझ्न थालेँ ।’ 

यसरी कार्यक्रममा हिँड्दा उनले जुद्धबहादुर कार्कीलाई देखेकी थिइन् । कल्पनाले आफ्नो परिचय दिएपछि जुद्ध अलि खुलेर कुरा गरे । ‘मलाई चिनेपछि उहाँले भन्नुभयो– १० सम्म पढ्नुभएको रहेछ, अब त सानो कक्षालाई पढाउँदै पनि पढ्न सकिन्छ,’ कल्पना भन्छिन्, ‘उहाँकै सल्लाहमा मैले सदरमुकाम सल्लेरीको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलमा पढाउन थालेँ ।’

सदरमुकाम बस्न थालेपछि उनी राजनीतिमा सक्रिय हुन थालिन् । जिल्ला कमिटी सचिव, अनेरास्ववियुको अञ्चल कमिटी कोषाध्यक्ष हुँदै उनी २०६५ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य भइन् । 

एकपटक उनले पार्टी महिला इन्चार्जका रूपमा सोलुखुम्बुका ३४ गाविसलाई हेर्थिन्, यही बेला उनी समाजमा घुलमिल हुन पुगिन् । फलस्वरूप २०७४ को स्थानीय तह निर्वाचनमा उनले सोलुदुधकुण्ड नगरपालिकाका लागि उपप्रमुखको टिकट पाइन् र चुनाव जितिन् । ‘लामो समय कांग्रेसले कब्जा गरेको ठाउँ थियो । किरात समुदायको व्यक्तिले टिकट पाए पनि जित्दैनन् भन्थे । तर, जितेर देखाएँ,’ उनले भनिन्, ‘अहिले राम्रो काम गरेको भन्दै प्रोत्साहन दिन्छन् ।’

‘बुवाको रहरले पढ्न पाएँ’ 

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका– ५ मा २०४५ साउन १६ गते जन्मिएकी हुन्, कल्पना राई । गुमानसिंह राई र सञ्चमायाका पाँच बहिनी छोरी, दुई भाइ छोरामध्ये उनी माहिली हुन् । उनको परिवार कृषिमा निर्भर थियो ।

उनको गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने चेतना व्यापक भइसकेको थिएन । तर, उनका बुवाले कक्षा ५ सम्म पढेका थिए । बुवाको चाहनामा कल्पना स्कुल भर्ना भइन् र कक्षा ५ सम्म पढिन् । त्यतिबेला उनको गाउँको नार्केल प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्थ्यो । 

कल्पनामा पढ्ने चाहना तीव्र थियो । उनी तीक्ष्ण बुद्धिकी पनि थिइन्– सिकाएको, सम्झाएको कुरा सजिलै बुझ्थिन् । उनी कक्षा १ देखि ५ सम्म प्रथम भएकी थिइन् । उनका बुवाले ‘अक्षर चिनिहाली, भइगयो, पढाउनुपर्दैन’ भन्ठानेका थिए । तर, कल्पनाको मेहनतका सामु उनी सोच्न बाध्य भए । शिक्षकले पनि उनलाई दबाब दिए– कल्पनाको पढाइ राम्रो छ, पढाउनू ।  ‘समाजमा छोरीलाई पढाउनुपर्छ भन्ने बुझाइ थिएन । बुवाको सोच र मेरो मेहनतले गर्दा अगाडि पढ्न पाएँ,’ कल्पना भन्छिन्, ‘तर पढ्न भनेजस्तो सजिलो थिएन ।’

सरकारी स्कुलमा भए पनि पढ्नका लागि केही न केही खर्च आवश्यक हुन्छ । कापी, कलम, किताब, लुगाफाटो, खाजा खर्च– धेरै जुटाउनुपर्छ । यस्तै खर्च व्यवस्था गर्न नसकेर कति गरिबका छोराछोरीले स्कुल पढ्दैनन् । 

कक्षा १ देखि नै प्रथम भएका कारण कल्पनाले छात्रवृत्ति स्वरूप वार्षिक २ सय ५० रूपैयाँ विद्यालयबाट पाउँथिन् । त्यसले केही खर्च त पुग्थ्यो, तर परिवारको सबै खर्च धान्दैनथ्यो । त्यतिबेला गाउँलेले भारी बोकेर केही रूपैयाँ आर्जन गर्थे । गाउँमा सडक नभएकाले सोलुखुम्बुवासीले दोलखाको जिरी वा उदयपुरको कटारीबाट सामान ल्याउँथे । स्थानीय व्यवसायीका सामान ल्याउने काम स्थानीय भरियाले गर्थे । 

कल्पनाको परिवारसँग नगद आम्दानीको स्रोत थिएन, तर कल्पनामा पढ्ने चाहना बलियो थियो । नगद आम्दानीका लागि कल्पनाले कहिलेकाहीँ भारी बोक्न थालिन् । भारी बोक्न पनि सहज थिएन, एक भारी सामान गाउँमा ल्याइपु¥याउन साता दिनभन्दा बढी लाग्थ्यो । ‘दोलखाको जिरीसम्म रित्तै हिँडेर पुग्न तीन दिन लाग्थ्यो, भारी बोकेर फर्कन चार–पाँच दिन,’ उनी भन्छिन्, ‘जिरीबाट एक धार्नी नुन बोकेर लगिदिएको ४५ रूपैयाँ पाइन्थ्यो । जाडो र बर्खा बिदामा भारी बोकेँ । घरमा पैसाको आवश्यकता पर्दा विद्यालय नगएरै भए पनि भारी बोकेँ ।’

जिल्लाका व्यवसायीको सामान बोकेर कल्पनाजस्ता भरियाले महिनाको सात सय रूपैयाँसम्म कमाउथे । बाह्य पर्यटकको सामान बोक्दा अलि बढी कमाइ हुन्थ्यो । उनले एकपटक पर्यटकको सामान बोकेर १३ हजार रूपैयाँसम्म कमाएकी थिइन् । 

भारी बोकेर धेरै दिन हिँड्दा गाँस र बासको व्यवस्था गर्नुपथ्र्यो । उनी थुप्रैपटक साथीहरूसँग जंगलको ओढारमा बास बसेकी थिइन् । ‘बाटोका घरमा बास बस्न पाँच रूपैयाँ तिर्नुपथ्र्यो । पाँच रूपैयाँ जोगाउन ओढारमा बस्थ्यौँ,’ उनले भनिन्, ‘हिउँमा भारी बोकेर हिँड्दा खुट्टामा रगत जमेर सुनिन्थ्यो । चिसोमा लगाउन बाक्लो लुगा हुँदैनथ्यो । बाटोमा खान कोदोको पिठो, मकै, भटमास बोकेर लैजान्थ्यौँ । ओढ्नी ओछ्याउनी बोकेरै हिँडिन्थ्यो ।’

यसरी भारी बोकेरै कल्पनाले प्रथम श्रेणीमा एसएलसी गरिन्, ०६१ सालमा । छोरीले पढ्न हुँदैनन् भन्ने समाजमा उनी उदाहरण बनिन् । उनको गाउँमा एसएलसी पास गर्नेमा उनी पहिलो महिला हुन् । उनी एसएलसी पास हुँदा उनको बुवाले भेडा काटेर गाउँलेलाई भोज खुवाएका थिए । 

एसएलसीपछि उनी सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा भर्ना भइन्, शिक्षण पेसा गर्दै त्यहाँबाट स्नातकोत्तर गरिन् । 

कल्पनाले २०६४ मा अन्तर्जातीय प्रेमविवाह गरिन्, सल्लेरीका स्थानीय वीरउदास श्रेष्ठसँग । वीरउदास पनि राजनीतिमा सक्रिय थिए । त्यसैले उनलाई विवाहपछि राजनीति गर्न असहज भएन ।

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका हो, दुधकुण्ड, जो तत्कालीन बेनी, लोदिङ, तामाखानी, सल्लेरी र गार्मा गाविस मिलेर २०७१ मंसिरमा बनेको हो । 

निकै संघर्षले पढेर राजनीतिमा आएकी कल्पनालाई थाहा छ– गाउँको विकास के हो, नागरिकका दुःख के हुन् भन्ने । तर, उनले अझै पनि पुरुषवादका विरुद्ध बोल्नुपरेको छ । 

‘महिला उपप्रमुख छायामा छन्’

महिला उप–प्रमुखलाई काम गर्न सहज नभएको कल्पना गुनासो गर्छिन् । ‘बजेटको कार्यक्रम उपप्रमुखले बनाउँछन् तर बजेट पारित गर्ने काम प्रमुखले गर्छन् । जसले गर्दा उपप्रमुखले बनाएको योजना पारित हुँदैन,’ उनी भन्छिन्, ‘योजना र बजेट पारितमा उपप्रमुखले निर्णय गर्न नपाउने भएकाले उपप्रमुख छायामा परेका छन् ।’

धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखको सल्लाहमा निर्णय होलान्, आफ्नो पालिकामा आंशिक रूपमा मात्र छलफल हुने गरेको उनले बताइन् । ‘नगरपालिकाको कार्यपालिका बैठकमा अन्तिम समापन प्रमुखले गर्नुपर्छ भन्ने छ । जसकारण बैठकमा छलफलमै नभएको योजना थप गरी स्वीकृत गराइन्छ,’ कल्पना भन्छिन्, ‘छलफल नै नभएको योजना पास गराएका कारण प्रमुखसँग धेरैपटक बहस गरेकी छु ।’

सरकारले तोकिदिएको उपप्रमुखको काम कर्तव्यका लागि समिति बनाउन सहकार्य गर्नुपर्ने तर प्रमुखले बिस्तारै बनाउँदा हुन्छ भनेर ढिलाइ गरिदिएको उनी बताउँछिन् । ‘काम तोकिदिएका कारण समिति नबनाएरै भए पनि काम गर्न थालेँ,’ उनी भन्छिन्, ‘काम गरेपछि बाध्यताले प्रमुखले समिति बनाउन सहयोग गरिदिनुभयो । अनुगमन समिति कार्यकाल सुरु भएको झन्डै एक वर्षपछि बनेको हो । प्रमुख र उप–प्रमुखबीच आन्तरिक बहस भए पनि नगरवासीको सेवासुविधा र भौतिक पूर्वाधार निर्माण कुनै कमी गरेका छैनौँ ।’ 

गणतन्त्रपछिको स्थानीय सरकार

०७४ अगाडि सोलुखुम्बुको सदरमुकामबाहेक अन्य स्थानमा सडकको सुविधा थिएन । गणतन्त्रपछि स्थानीय सरकार आएपछि सडक, खानेपानी र बिजुली पुगेको उनले बताइन् । ‘अहिले ११ वटा वडा कार्यालय छन् । प्रत्येक वडा कार्यालयमा सवारी साधन आवतजावत गर्न सक्छन्,’ उनले भनिन्, ‘टोलटोलमा बाटो पुगे पनि बर्खाको समयमा ठूला बस जाँदैनन् । त्यस्तै, सोलु पानीको स्रोत भए पनि व्यवस्थापन गर्न नसकिएको ठाउँ हो । अहिले एक घर एक धारा छ ।’

स्थानीय सरकार बन्नुअघि सबै वडामा बिजुली पुगेको थिएन । अहिले प्रत्येक टोलमा पु¥याउने प्रयास गरिएको छ । एउटा पक्की पुल र पाँचवटा फलामको पुल बनाइएको छ । भूकम्पले सबै विद्यालय भत्किएको थियो । अहिले विद्यालय पुनर्निर्माण गरिएको उनी बताउँछिन् । ‘पहिला एक–दुई वटा मात्र स्वास्थ्य चौकी थियो, अहिले प्रत्येक वडामा पाँचजना कर्मचारीसहित स्वास्थ्य चौकी छ,’ उनले भनिन् । 

सुत्केरीसँग जनप्रतिनिधि र स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम 

यस नगरपालिकाभित्र महिला सुस्केरी हुँदा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सँगै भेट्न जाने गर्छन् । सुत्केरी भएको पाँच दिनभित्र भेट्न जानुपर्ने गरी कार्यक्रम बनाइएको छ । ‘मातृ शिशु मृत्युदर धेरै थियो, त्यसैले मातृ शिशु मृत्युदर कम गर्न उक्त योजना ल्याइएको हो,’ उनी भन्छिन्, ‘सुत्केरीसँग जनप्रतिनिधि र स्वास्थ्यकर्मी भेटघाट कार्यक्रमले शिशु मृत्युदर शून्यमा झारेको छ ।’

यस भेटघाटमा सुस्केरीको अवस्था जाँच गर्नेदेखि बच्चालाई स्तनपान गराउने, सुत्केरीको खाना र सरसरसफाइ आदिबारे जानकारी गराइन्छ । भेट्न जाँदा सुत्केरी महिलाका लागि पौष्टिक आहार लिएर जाने गर्छन् । 

त्यस्तै, ७० वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र ‘क’ वर्गका अपांग व्यक्तिलाई महिनामा एकपटक नगरपालिकाले स्वास्थ्य परीक्षण गर्छ । ज्येष्ठ नागरिकले प्रयोग गर्ने औषधि पनि नगरपालिकाले निःशुल्क वितरण गर्ने गर्छ । ‘वृद्ध बा–आमा अस्पताल आइरहन नसक्ने भएकाले घरमै गएर सेवा दिने कार्यक्रम गरेका हौँ, जो प्रभावकारी भएको छ,’ उनले भनिन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार, न्यायिक समितिको जिम्मा उपप्रमुखलाई छ । न्यायिक समितिमा कस्ता मुद्दा आउँछन् र तिनलाई कसरी मिलाइन्छ भन्नेले समाजको विकास र चेतनाको संकेत गर्छ । ११ वटा वडा रहेको र यस नगरपालिकामा २०६८ को जनगणना अनुसार २४,३२३ जनसंख्या छ । जनसंख्या कम भएकाले पनि यस नगरपालिकामा २०७४ देखि हालसम्म न्यायिक समितिमा ९३ मुद्दा दर्ता भएको उनी बताउँछिन् ।

‘महिला सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको छ,’ उनले भनिन्, ‘महिला हिंसाको घटना न्यून गर्न सुरक्षित आवासीय केन्द्र बनाइएको छ ।’

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्