Kathmandu Press

माटोका भाँडा बनाउने एउटा गाउँ

भक्तपुरको पाँचतले मन्दिरबाट सूर्यविनायक जानेतर्फ तीन सय मिटर पर ‘पोटरी स्क्वायर’ छ। जसलाई भोलाछेँ पनि भनिन्छ। विशेषतः माटोका भाँडा बनाउने प्रजापति (नेवारको एक थर)को टोलका रूपमा स्थापित यस ठाउँमा माटोका विभिन्न आकृतिका भाँडा लगायत सामान लस्करै देख्न पाइन्छ।
माटोका भाँडा बनाउने एउटा गाउँ

काठमाडौं, कात्तिक १८ : काठमाडौं बबरमहलकी कृतिका तन्डुकार बुधबार एक भाँडा पसलमा माटोको दियो किन्दै थिइन्। लक्ष्मीपूजामा माटोकै दियोमा तोरीको तेल राखेर बाल्ने उनको तयारी छ। त्यसो त घर सजाउन उनले बिजुली पसलबाट बत्तीहरू पनि किनेकी छन्। सहरमा आधुनिक प्रविधि भित्रिए पनि परम्परागत सामानको महत्त्व नघटेको उनी बताउँछिन्।

माटोको भाँडा बनाउने क्षेत्र

भक्तपुरको पाँचतले मन्दिरबाट सूर्यविनायक जानेतर्फ तीन सय मिटर पर ‘पोटरी स्क्वायर’ छ। जसलाई भोलाछेँ पनि भन्ने गरिन्छ। विशेषतः माटोका भाँडा बनाउने प्रजापति (नेवारको एक थर)को टोलका रूपमा स्थापित यस ठाउँमा माटोका विभिन्न आकृतिका भाँडा लगायत सामान देख्न लस्करै पाइन्छ। 

Hardik ivf

सोमबार दिउँसोको करिब ३ बजेतिर यहाँ कोही माटो मुछ्ने, कोही बनेका भाँडा सुकाउने त कोही माटोलाई विभिन्न आकारमा ढाल्न व्यस्त थिए। यसै मेसोमा एउटा चारतले पुरानो घरको भुइँतलामा माटोलाई दियोको रूपमा ढाल्न व्यस्त थिए, मोहन प्रजापति। 

माटोको भाँडा मानिसको सभ्यतासँग जोडिएको छ। तर, यतिखेर आधुनिक भाँडावर्तन र प्रविधिले गर्दा माटोका भाँडा लगायत सामानको प्रयोग घटेको छ। तर, भक्तपुरको यो टोलमा पुग्दा भने माटोका भाँडाको प्रयोग घटेको जस्तो लाग्दैन। नेवार समुदाय अन्तर्गतको एक विशेष जाति ‘प्रजापति’ले यहाँ पुख्र्यौली पेसा अपनाउँदै आएको छ। ४५ वर्षीय मोहनप्रसाद प्रजापति आफ्ना बुवाले गरिरहेको यो कामलाई निरन्तरता दिएको बताउँछन्। जबकि उनका चार दाजुभाइमध्ये अरु तीनभाइ अन्य पेसामा लागेका छन्। 

मोहनप्रसाद भने नौ वर्षको उमेरदेखि माटोसँग खेलेका हुन्। सुरुमा उनले बुवालाई सघाए। पछि क्रमशः उनी यसमै रमाए। उनका औँलाले माटाका भाँडा तथा सामान कति बनाए, कुनै लेखाजोखा छैन। बाट विभिन्न आकृतिका भाँडाहरू बनाउन सिकेका थिए। 

प्रजापति थर 

माटोको काम गर्नेहरूलाई प्रजापति थर दिइनुको छुट्टै महत्त्व छ। प्रजापति ‘प्रजा’ र ‘पति’ दुई शब्दले बनेको छ। ‘प्रजा’को अर्थ जनता र ‘पति’को अर्थ पालनकर्ता हुन्छ। जनतालाई आवश्यक माटोका सामान पूर्ति गर्नेहरूलाई प्रजापति भन्न थालिएको इतिहासविद् चुन्दा बज्राचार्य बताउँछिन्। 

जयस्थिति मल्लले जातीय कानुन बनाउँदा पेसालाई हेरेका थिए भनिन्छ। प्रजापतिहरू धेरै अघिदेखि नै माटोका भाँडा बनाउने गर्थे। ‘जयस्थिति मल्लले जात अनुसारको काम विभाजन गर्दा प्रजापतिहरूले पुख्र्यौली पेसाका आधारमा हकअधिकार पाए,’ बज्राचार्य भन्छिन्, ‘प्रजापतिहरूले पुस्तौँपुस्तादेखि अहिलेसम्म यही काम गर्दै आएका छन्।’ 

पोटरी स्क्वायरमा भएको एक मन्दिरको भित्तामा चार सय वर्षअगाडि प्रजापति थर भएको मानिसले मन्दिर निर्माणमा सहयोग गरेको उल्लेख छ। यसबाट चार सय वर्ष अगाडिदेखि नै प्रजापतिको पेसाको अस्तित्व रहेको अनुमान गरिएको छ। तर, यसलाई मानव विकास क्रमसँगै सुरु भएको कलाको रूपमा पनि लिने गरेको संस्कृतिविद् चुन्दा बज्राचार्य बताउँछिन्।

आम्दानीको मुख्य स्रोत

पुख्र्यौली पेसाका रूपमा रहेको यो कामलाई मोहन प्रजापतीले आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन्। आफ्नो दैनिकी खर्चदेखि २० वर्षको छोरा र १५ वर्षकी छोरीको अध्ययन खर्च यही पेसाले धानेको छ। 

यस पेसाबाट अहिले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने मोहनप्रसाद बताउँछन्। ‘आफू काममा जति खट्न सक्यो, त्यही अनुसारको आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘गर्न सक्नेले यसबाट धेरै कमाउन सक्छन्।’ 

समस्या 

अहिले माटोका भाँडा बनाउन आवश्यक मुख्य चिज माटोकै अभाव हुन थालेको यहाँका प्रजापतिहरू बताउँछन्। विगतमा यहाँका प्रजापतिले सूर्यविनायकबाट खर्पनमा माटो ल्याएर भाँडा बनाउँथे। अहिले प्लानिङ र बस्तीहरू बढ्न थालेपछि माटोको अभाव हुन थालेको हो। मोहनप्रसादका अनुसार, २०५५ सालदेखि खर्पनमा माटो ल्याउने काम बन्द प्रायः भएको छ।

‘पहिले सूर्यविनायकबाट खर्पनमा माटो ल्याउँदा कुनै रकम तिर्नुपर्दैनथ्यो। अहिले माटो किन्नुपर्ने अवस्था छ,’ मोहनप्रसाद भन्छन्, ‘अहिले सूर्यविनायकमा माटो पाउन छाडेपछि साँखु, हरिसिद्धि लगायत ठाउँबाट माटोको पूर्ति भईरहेको छ। दुई टन माटो बराबर पाँचदेखि १० हजार रूपैयाँसम्म तिर्नुपर्छ।’

अहिलेको आधुनिक प्रविधिबाट बनेका प्लास्टिकका सामानले पनि माटोका सामानको ठाउँ लिन थालेको छ। किनभने प्लास्टिकका सामान सस्तो पर्छ। मानिसहरू गमला पनि प्लास्टिकको प्रयोग गर्न थालेका छन्। त्यसैले पछिल्लो पुस्ताले पुख्र्यौली पेसा माटोको भाँडामा बनाउने काममा रुचि देखाउन छाडेको छ। मोहनप्रसादकै घरमा पनि चार दाजुभाइ र पाँच दिदीबहिनी मध्ये उनले मात्र यो पेसा अपनाए। उनका छोराले कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन्। त्यसो त राज्यले पुख्र्यौली पेसा अनुसारको शिक्षा वा तालिम नदिँदा पनि समस्या छ। 

प्रजापति परिवार

अहिले पोटरी स्क्वायरमा मात्र लगभग २ सय ५० प्रजापति परिवार छन्। त्यसमध्ये लगभग ७० परिवारले मात्र माटोको कामलाई व्यावसायिक रूपमा निरन्तरता दिएको मोहनप्रसाद प्रजापति बताउँछन्। यस्तै मध्यपुर ठिमीमा रहेका एक हजार प्रजापति परिवारमध्ये करिब चार सय परिवारले यो पेसा अपनाएको उनको अनुमान छ। 

यस पेसाको जर्गेना गर्न स्थानीय सरकारसँग पनि कुनै ठोस योजना छैन। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति माटोका भाँडा बनाउने पेसालाई संवद्र्धन गर्नुपर्ने तर त्यसो हुन नसकेको स्वीकार गर्छन्। ‘माटोका भाँडा बनाउनका लागि माटोकै अभाव हुन थालेको हुँदा यसको समाधानका विषयमा छलफल भइरहेका छन्,’ उनले भने, ‘यो समस्याको समाधान गर्न सक्यौँ भने प्रजापतिको पुख्र्यौली पेसा जोगाउन धेरै हदसम्म सहयोगी हुनेमा विश्वस्त छौँ।’

बजार

पहिले सिन्धुली, गोरखा, पोखरा, रसुवा, मकवानपुर लगायतका ठाउँमा उपत्यकामै बनेका माटोका भाँडाहरू पुग्थे। तर, पछिल्लो समय प्लास्टिकका सामानले यसको माग घटेको छ। यद्यपि रेस्टुरेन्ट, होटल, पसल, घरको सजावटका लागि माटाको भाँडाको माग बढ्न थालेको छ। अहिले तिहारको समयमा दियोको माग बढेको मोहन प्रजापति बताउँछन्। 

अहिले बढी बिक्री हुनेमा हाँडी, खुर्तुके, मट्का (चिया पिउने कप) आदि पर्छन्। मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म माटोका भाँडाको आवश्यकता हुने हुँदा उपत्यकामा माटाका भाँडा लोप भइहाल्ने स्थिति भने छैन।

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्