Kathmandu Press

‘कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाही चलाउने सरकारको कदम स्वागतयोग्य’

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले...
‘कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाही चलाउने सरकारको कदम स्वागतयोग्य’

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले चालेको कदमलाई स्वागतयोग्य भनी प्रतिक्रिया व्यक्त गरेको छ।

कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर ‘गम्भीर दुर्व्यवहारउपर कारबाही प्रक्रियालाई समर्थन, अराजकता नियन्त्रण सम्बन्धित संस्थाको जिम्मेवारी, राज्यको कठोर कर्तव्य’ भनी प्रतिक्रिया व्यक्त गरेका छन्। 

‘खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई नेपाली कांग्रेस स्वागत गर्दछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको बताएका छन्। ‘तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन। यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय बन्दछ,’ शर्माले भनेका छन्।  

जनकपुरको घटनाबाट नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उनको भनाइ छ। सहकर्मीउपर गम्भीर दुर्व्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वाभाविक भएको उनले बताएका छन्। 

सुरु कानुनी कारबाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास कांग्रेसले लिएको उनको भनाइ छ। ‘शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने भएकाले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्