Kathmandu Press

वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न

वीरगञ्ज, कात्तिक ६ : नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार साँझ वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न...
वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न
Hardik ivfHardik ivf

वीरगञ्ज, कात्तिक ६ : नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार साँझ वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । मोफसलमै पहिलो पटक भएको यस्तो सम्मेलनको प्रदेश२ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री शर्माले आर्थिक रुपमा महिला सशक्तिकरणबिना देशको आर्थिक कल्पना गर्न नसकिने बताए । आर्थिक रुपमा महिला सशक्तिकरणको विषय अगाडि आएता पनि नेपालका सन्दर्भमा अझै पनि महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको समान अवसर नपाएको मन्त्री शर्माले दाबी गरे।

उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता मन्त्री शर्माले औंल्याए। उनले प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवद्र्धनमा प्रतिबद्ध भएको पनि उल्लेख गरे । उद्यमशीलता अघि बढाउन सरकार र उद्यमीबीच समन्वय र सहकार्य जरुरी भएको उनको भनाइ थियो । उनले प्रदेश २ का उद्यमी महिलालाई उर्जामा सहुलियत दिने आश्वासन पनि दिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमा मा महिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्दै आएको बताए ।

एनवाईईएफका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलताका सवालमा युवालाई अघि बढाउन पहल गरेको बताए । उनले सो अवसरमा संस्थाको स्थापना र उद्देश्यका बारेमा जानकारी दिएका थिए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारमा युवा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् । कुनै पनि क्षेत्रको विकासका युवा सहभागिता महत्वपूर्ण हुने उनले बताइन् ।

एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलो पटक वीरगञ्जमा युवा महिला उदमी सम्मेलन भएको बताए । सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने उनले बताए ।

सफल तथा स्टार्टअप उद्यमीबीचको अन्तरक्रियात्मक सम्मेलनले नयाँ उद्यमी वा उद्यमका अग्रसर हुन चाहानेहरुलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलताको विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।

सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ। अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता थियो।

 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्