घाइतेलाई सेनाको हेलिकोप्टरबाट कैलाली लगियो

डोटी, कात्तिक ४ : बाढी, पहिरामा परेर जिल्लाका एक घाइते र प्यारालाइसिस रोगले ग्रस्त अर्का एक जना गरी दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि कैलाली लगिएको छ। 

चार दिन पहिले परेको अविरल वर्षासँगै घरमा पहिरो आउँदा घाइते भएका यहाँको दिपायल सिलगढी नगरपालिका–९ का माने आउजीलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

पहिरामा परी आउजीको खुट्टा भाँचिएको छ। जिल्लाका जनप्रतिनिधिको आग्रहमा सुदूरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिए। 

यसैगरी प्यारालाइसिस रोगले ग्रस्त भएका अर्का एक जना दिपायल सिलगढी नगरपालिका–६ का दीपक नेपालीलाई पनि उपचारका लागि सेनाकै हेलिकोप्टरमार्फत कैलाली लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बाढी, पहिराले सडक अवरुद्ध भएका कारण यहाँका घाइते तथा बिरामीलाई हेलिकोप्टरमार्फत कैलाली पठाइएको हो।

 Published Date: Thursday, 21st October 2021 6:55:00 pm