घनश्याम भुसाल र चेखवका ‘छेपारा’हरू

काठमाडाैं, कात्तिक ४ : नेपाली कांग्रेसको ११औं महाधिवेशनमा सभापति पदका प्रत्याशी थिए– गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य । तत्कालीन समय कोइरालाको तेजिलो राप–तापसामु अरू फिका देखिन्थे । ११औं महाधिवेशनमा कोइरालाले आरामपूर्वक विजय हासिल गर्नेमा कुनै द्विविधा थिएन । तसर्थ, कोइरालाविरुद्ध मैदानमा उभिने हिम्मत कसैले गर्थे सायद । नेता नरहरि आचार्यले भने कोइरालाविरुद्ध उम्मेदवारी दिए । उनको उम्मेदवारी एक हिसाबले संस्थापनप्रति सांकेतिक विद्रोह थियो । त्यो विद्रोह कांग्रेसभित्र झाँगिँदै गइरहेको वंश–वृक्षका साथै पार्टीभित्र कोइरालाको बढ्दो एकाधिकारविरुद्ध पनि लक्षित थियो । यद्यपि, नरहरिले गोल गर्न सक्ने अवस्था थिएन । तर कांग्रेसभित्र विद्वान् एवं भलादमी नेताको छवि बनाएका नरहरिलाई उनको व्यक्तित्व बुझेकाले सय–डेढ सय मत दिएर सम्मान जनाए । तत्कालीन समय उम्मेदवारी दिने क्रममा नरहरिले यस्तो आसय पनि व्यक्त गरेका थिए, ‘नेतृत्वमा एउटै व्यक्ति सदैव हाबी हुन नदिनका लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ । कसै न कसैले त दिनैपथ्र्यो । त्यो साहस मैले गरेँ ।’

नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको एकछत्र राज चलिरहेका बेला नरहरिको ‘विद्रोह’ एक सांकेतिक विद्रोह थियो नै, त्यतिबेला कांग्रेस–वृत्तमा केही तरंग समेत ल्याएको थियो । कम्तीमा पनि गिरिजाप्रसादको विरुद्धमा उम्मेदवारी दिने पात्र कांग्रेसभित्र रहेछन् भन्ने गहन सन्देश प्रवाह समेत भएको थियो । शक्तिशाली नेतृत्वसामु ‘त्वम शरणम्’ गरेर दास संस्कृतिलाई स्विकार्ने प्रवृत्तिलाई अन्त्य गराउने कदम पनि थियो, नरहरिको उम्मेदवारी । राजनीतिक जीवनमा कुनै दाग नलागेका नरहरिको उम्मेदवारीलाई तत्कालीन समय धेरैले नैतिक मूल्य–मान्यतालाई स्थापित गर्ने प्रयत्नका रूपमा समेत बुझेका थिए, अधिकांशले ।  

नेपाली कांग्रेसभित्र शक्ति र मूल्य–मान्यताबीच ११औं महाधिवेशनमा भएको यो प्रतिस्पर्धा अब आउने नेकपा (एमाले) को दसौं महाधिवेशनमा उजागर हुने स्पष्ट संकेत देखिएको छ । यतिबेला नेकपा (एमाले) विभाजनको पीडा झेल्न अभिशप्त छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्व समूह भदौको पहिलो साता नेकपा (एकीकृत समाजवादी) गठन गरी बेग्लै भात–भान्सामा जुटेपछि एमालेलाई पूर्ववत शक्ति र साख फर्काउन मुस्किल साबित हुँदै गएको छ । नेकपा (एस) प्रति आकर्षित पंक्तिलाई एमालेमा फर्काउन नेतृत्वको भरमग्दुर प्रयत्न जारी छ भने एमालेका नेता–कार्यकर्ता, खासगरी हिजोका दिनमा केपी शर्मा ओलीप्रति निकट रहेर कुनै सुविधा नपाएको पंक्तिलाई आफूतिर तान्न नेकपा (एस) पनि प्रयत्नरत नै देखिन्छ ।

एमाले र एसप्रति नेता–कार्यकर्तालाई आफूतिर आकर्षित तुल्याउने लहर चलिरहेकै बेला आगामी १०औं महाधिवेशनको रौनक पनि भित्रिन थालिसकेको छ । कुनै दुईमत छैन कि १०औं महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै अध्यक्षमा उठ्नेछन् । असोजको तेस्रो साता गोदावरीमा सम्पन्न बृहत्तर भेलाको मुख्य सन्देश नै आगामी १०औं महाधिवेशनमा ओलीलाई नै निरन्तता दिने रह्यो । प्रथम विधान महाधिवेशनको रूपमा आयोजित बृहत् भेला ओलीलाई झन् शक्तिशाली र सर्वेसर्वा बनाउने गरी समापन भएको थियो । तसर्थ, यतिबेला एमालेभित्र ओलीको राप–ताप ०६२÷६२ को जनआन्दोलनपछि नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको जस्तो देखिएको थियो, त्योभन्दा कुनै पनि कोण र आकलनका हिसाबले पृथक् देखिँदैन ।

शक्ति र सामथ्र्यका हिसाबले एमालेलाई ओलीको वर्चस्वले ढाकिरहेका बेला यदि अध्यक्ष पदमा कसैले ओलीविरुद्ध उम्मेदवारी दिने उद्घोष गर्छन् भने त्यो नेपाली कांग्रेसको ११औं महाधिवेशनमा नरहरि आचार्यले गरेको उद्घोष र परिणाम जस्तै हुने प्रस्टै छ । केही दिनअघि, एमालेभित्र वैचारिक नेताका रूपमा स्थापित घनश्याम भुसालले अध्यक्षमा उठ्ने संकेत गरेका थिए । हुन त, महासचिव ईश्वर पोखरेलले पनि आफूनिकटका सञ्चारकर्मीको भेलामा ‘आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको’ टिप्पणी गरेर मनसाय प्रकट नगरेका होइनन् । ओलीले अध्यक्षमा पुनः दोहोरिने इच्छा राखेसँगै पोखरेलले आँट गर्ने सम्भावना भने देखिँदैन । भुसाल अध्यक्षमा उठे भने त्यो पछिल्लो समय एमालेमा बढिरहेको ओली–वर्चस्व र सर्वेसर्वाप्रतिको विद्रोह भने साबित हुने देखिन्छ । यद्यपि, भुसाललाई उनको विद्वता र वैचारिक अडानको कदर गर्नेहरूले सम्मानित मत दिए पनि ओलीको राप–ताप अगाडि उनको दाल नगल्नेमा अहिल्यै प्रस्ट हुन जरुरी छ ।

भुसालले एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिए भने त्यो ओलीविरुद्ध विद्रोहको संकेत मात्र हुन सक्छ । अहिले एमालेमा ओलीको विकल्प छैन भन्ने धरालतीय यथार्थ बुझ्दाबुझ्दै पनि आफूले प्रतिस्पर्धा गरिरहेको छु भन्ने बोध स्वयं भुसालले पनि गर्नेमा दुईमत देखिँदैन । तर भुसालले सम्मानजनक मत ल्याउने सम्भावनाचाहिँ छ । त्यसका निम्ति केही आधार छन् । एक त, भुसाल माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न हुट्हुटी लगाउने ‘दशभाइ’ भित्रका एक सक्रिय पात्र हुन् । ‘दशभाइ’ पछिल्लो समय अर्थात् माधव नेपालले नेकपा (एस) गठन गर्ने बेला उनलाई साथ नदिएर एमालेमै रहने निर्णय गर्ने नेताहरूको एक पंक्ति हो । यथार्थ रूपमा ‘दशभाइ’ले एमालेमै रहने निर्णय गरेसँगै नेकपा (एस) मा जान खुट्टा उचालिसकेको ठूलो पंक्ति समेत एमालेमै रह्यो । भुसाल अध्यक्षमा उठे भने त्यो पंक्तिबाट केही मत बटुल्न सक्ने अवस्था सिर्जित हुने प्रस्टै छ । अर्को, ओलीसँग रुष्ट रहेको पंक्ति पनि त्यति झिनो छैन।

हिजो सत्तामा रहँदा पद, सुविधा नपाएका तथा अवसरबाट पूरै वञ्चित पंक्तिमध्ये केहीले ओलीको साटो भुसालजस्ता पात्रलाई रोज्न सक्ने सम्भावना पनि उत्तिकै छ । अर्को, भुसालको वैचारिक प्रखरता बुझेका र हिजोदेखि नै उनलाई मन पराउने पंक्ति पनि छ । भुसालले यिनै पंक्तिको विश्वास जित्न सक्ने हो भने महाधिवेशनमा उनले सम्मानजनक मत ल्याउन सक्छन् । तर, कुनै सन्देह छैन– ओलीको राप–तापसामु कसैका प्रयत्नले सार्थक रूप पाउने छैनन् ।

भुसालको कमजोरी

हामीकहाँ कुनै पनि राजनीतिक दल गुटगत राजनीतिबाट मुक्त छैनन् । गुटबन्दीविनाको राजनीतिक दल वा शक्तिको परिकल्पना गर्नु दिवास्वप्न मात्रै हुनेछ । एमाले पनि लामो समयदेखि गुटगत राजनीतिको जगमै हुर्किंदै आयो । गुटगत राजनीतिलाई व्यवस्थित गर्न नसक्दा र वैचारिक ह्रास बढ्दै जाँदा कम्युनिस्ट पार्टीहरूमा विभाजन आउनु स्वाभाविक जस्तै देखिँदै गएको छ । पछिल्लो समय एमालेमा विभाजन आउनुमा पनि मूलतः यस्तै पक्षको प्राधान्य देखिन्छ ।

एमालेमा गुटगत राजनीति गरे पनि अत्यन्तै सानो पंक्तिले मात्र पत्याएका नेता हुन्, घनश्याम भुसाल । वैचारिक बहस र अध्ययनमै रमाउन चाहने उनी एमालेका अरू नेताभन्दा धेरै अर्थमा पृथक् छन् । अरू नेतामा जस्तो कार्यकर्ता पंक्तिमा घुलमिल हुने र विस्तार गर्ने, जनपंक्तिमा भिज्ने र राजनीतिका सबै खाले तिकडम अपनाउने स्वभावको उनीमा सर्वथा कमी देखिन्छ । उनको गुट यति झिनो छ कि त्यत्रो गुट त एमालेको गाउँपालिका तहका नेताले पनि बनाएका छन् । उनी एमालेभित्र गुटका कारण नभई वैचारिक अडान र प्रस्टताले चिनिएका र टिकेका नेता हुन् भन्नुमा कन्जुस्याइँ गर्नु हुँदैन । अरू नेताहरू वैचारिक रूपले आफूलाई सबल बनाउनभन्दा शक्ति र अनेक किसिमका सामथ्र्यका आधारमा स्थापित भए, भुसालले भने जहिल्यै वैचारिक रूपमा आफूलाई उभ्याउन चाहे । अन्ततः यो नै उनको पहिचान समेत बन्यो ।

बाहुबलीसामु निरीह पंक्ति

एमालेको राजनीतिमा बाहुबलीहरूको प्रवेश भएको धेरै भइसक्यो । अझ, पछिल्लो समय त बाहुवलीहरूले नै एमालेको समग्र राजनीतिक कार्यदिशा र आधार तय गर्ने सम्भावना वृद्धि हुँदै गइरहेको छ । नेतृत्व तहमा तिनै बाहुवलीको पहुँच र प्रभाव छ, जसले आफ्नो स्वार्थअनुकूल नेतृत्वलाई नचाउन सक्छन्, कुनै कठपुतलीलाई नचाएजस्तै । शक्तिका पुजारीको पंक्ति बढ्दो छ । दास मनोवृत्ति हाबी हुँदै छ । वैचारिक बहस र रचनाशीलता शून्यप्रायः भइसक्यो । आफ्नै पंक्तिबीचको बढ्दो असहिष्णुताका कारण शत्रुवत व्यवहार बढ्दो छ । एउटा बुर्जुवा पार्टीमा हुनुपर्ने सबै खाले गुणले एमाले लेस हुँदै गइरहेको छ ।

यस्ता परिस्थिति र अवस्थामा घनश्याम भुसालजस्ता पात्रले एमालेभित्र विपर्यय झेल्नुबाहेक अरू उपाय देखिँदैन । उनले विगतमा नरहरि आचार्यले चालेको जस्तै कदम चाल्नुको विकल्प छैन । यद्यपि, पछिल्लो समय अर्थात् गएको पुस ५ गते केपी शर्मा ओलीले संसद् विघटन गरेयता भुसालले जुन भूमिका निर्वाह गरे, त्यसले चर्चित रुसी साहित्यकार अन्तोन चेखवको चर्चित कथा ‘छेपारो’लाई पुनः सार्थक तुल्याएको स्वतः अनुभूत हुन्छ । जब–जब म चेखवको कथा ‘छेपारो’ पढ्छु र भुसालजस्ता वैचारिक नेतालाई सम्झन्छु, मभित्र यो प्रश्न प्रबल रूपमा उठ्न थाल्छ, ‘के आज पनि हामी बाँचिरहेको समाज र राजनीति चेखवले ‘छेपारो’ मा उभ्याएका चौकीदारजस्ता पात्रभन्दा एक बित्ता पनि पर उभिएका छैनन् ?’
 

 

 Published Date: Thursday, 21st October 2021 9:18:00 am