Kathmandu Press

भारतीय सैनिक टोलीले गर्‍यो जंगीअड्डा भ्रमण, रक्षा, अर्थ र परराष्ट्रमन्त्रीसँग भेट गर्दै

नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्सको कोर्सको टोलीले मंगलबार जंगीअड्डामा प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च अधिकारीहरूसँग भेट गरेको छ।
भारतीय सैनिक टोलीले गर्‍यो जंगीअड्डा भ्रमण, रक्षा, अर्थ र परराष्ट्रमन्त्रीसँग भेट गर्दै

काठमाडौं, कात्तिक २ : नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्सको कोर्सको टोलीले मंगलबार जंगीअड्डामा प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च अधिकारीहरूसँग भेट गरेको छ ।

भारतीय सैनिक अधिकृतहरूको टोली ३१ असोजदेखि नेपाल भ्रमणमा छ । जंगीअड्डामा प्रधानसेनापति शर्मासँग भ्रमण टोलीका नेता रियर एडमिरल धीरेन भेगले शिष्टाचार भेट गरे । टोलीलाई जंगीअड्डामा नेपाली सेनासम्बन्धी प्रस्तुतीकरण दिइएको थियो । त्यस अवसरमा प्रधानसेनापति शर्माले दुई मुलुकका सेनाबीचको रहिआएको सम्बन्ध, त्यसको सुदृढीकरण र द्विपक्षीय सुरक्षा चासोका विषयमा प्रष्ट्याएका थिए ।

भ्रमणदलमा सहभागी फ्याकल्टी मेम्बर तालिमरत शिक्षार्थीहरूका श्रीमतीहरूलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत र शिष्टाचार भेटवार्ता पनि आयोजना गरिएको थियो ।

भ्रमणदलले मंगलबार नै रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भ्रमण दलमा भारतसहित अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरू पनि सहभागी छन् । उक्त टोली ६ कात्तिकमा भारत फर्किने छ ।

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्