Kathmandu Press

चंगा चैट : हरायो माझा हाल्ने चलन

दसैंमा चंगा उडाउने पुरानै चलन हो। तथापि, पछिल्ला वर्षमा खुला ठाउँ अभावमा यो चलन विस्तारै हराउँदैछ। तै पनि, काठमाडौंका चंगा व्यवसायीलाई भ्याइनभ्याइ छ, चंगा बनाउन र बिक्री गर्न।
चंगा चैट : हरायो माझा हाल्ने चलन
Hardik ivfHardik ivf

काठमाडौं, असोज २६ : रंगीचंगी चंगा र लट्टाइका थान, नजिकै अर्को एक थान चंगा अर्डर गरिएको स्टेसनरी पसलमा पुग्‍ने तयारीमा थिए, एनसीए चंगा पसलका सुदन कपाली। सुदन र उनका दाजुभाइलाई दसैं नजिकिएसँगै भ्याइनभ्याइ छ, होलसेल र रिटेल पसलमा चंगा र लट्टाइ पुर्‍याउन।

डल्लुस्थित एनसीए चंगा पसलमा देखिएको व्यस्तताले दसैं आएको भान हुन्थ्यो। पसलमा चंगा किन्‍न आउनेको लर्को पनि बाक्लिँदै थियो। हतार-हतारमा उनले भने, ‘गत वर्ष लकडाउन भएकाले व्यापार चलेन, यसपालि केही आशावादी बनाएको छ।’

गत वर्षको दसैं कोरोना संक्रमणको उत्कर्षका बेला बितेको थियो। सोही कारण पाहुनाको आउजाउ, टीका र आशिर्वाद अनि भीडभाड पातलै थियो, पोहोर। कोही कतै जान पाएनन्, घर-घरमै थुनिए। घरमै खुम्चिनुपरेको उकुसमुकुसलाई भने केही हदसम्म चंगाले विकल्प दियो।

कपाली सम्झन्छन्, ‘गत वर्षको लकडाउनमा चंगाको व्यापार राम्रो भयो। लामो समयदेखि सुस्ताएको चंगा बजार जुर्मुराएको थियो।’ निषेधाज्ञा पूर्ण रूपमा खुले पनि यस वर्ष चंगाको व्यापार खासै उत्साहजनक भने देखिएन। कोरोना महामारीअघिका वर्षमा भन्दा केही बढी भए पनि गत वर्षको जस्तो व्यापार भने नहुने हो कि भन्‍ने उनको शंका छ।

उक्त चंगा पसलबाट गत वर्ष करिब १५ लाखको व्यापार भएको थियो। यस वर्ष भने आठ लाख रुपैयाँसम्मको हुने उनको अनुमान छ।

सुदनकै विचारसँग सहमत छन्, कालीमाटी सोल्टिमोडस्थित मानन्धर चंगा पसलका सञ्‍चालक प्रवीन मानन्धर। लकडाउनमा स्टकमा रहेका चंगासमेत बिक्री भएको उनी बताउँछन्।

भन्छन्, ‘अघिल्लो वर्ष स्टकमा रहेका चंगासमेत बिक्री भए। यस वर्ष पनि राम्रै हुन्छ भन्‍ने आशा छ।’ उमेरले ४५ वर्ष कटेका उनको चंगाको व्यवसाय पुर्ख्यौली पेशा हो। बाजे-बराजुको पालादेखि नै यो परिवारले चंगा व्यवसाय गर्दै आएको छ। त्यसबाहेक मोटर, गाडीको व्यवसाय पनि गर्छन् मानन्धर।

कुराकानीकै क्रममा २८ वर्षका शशि गुरुङ उनको पसलमा आइपुगे। हतारिएका उनले चंगाभन्दा त्यसमा प्रयोग हुने लट्टाइ मागे। लट्टाइमा धागो भर्दै थिए, मानन्धर। सोही क्रममा गुरुङले आफ्ना लागि नभई भान्जाका लागि चंगा उडाउन लागेको खुलाए।

बाल्यकालमा चंगा उडाएको सम्झना उनीसँग पनि छ। दिनभर चंगा उडाउनु, चेट भएका चंगा भेट्टाउनु अझ ठूलो सोख थियो उनको। बढ्दो उमेरसँगैको जिम्मेवारी र चंगा उडाउने समकालीन साथीभाइ पनि विदेशिएका कारण पहिलेजस्तो चंगा भनेर खासै हर्ष नहुने उनी बताउँछन्। यद्यपि, दसैंताका साथीभाइ, भान्जासँगै चंगा उडाउने योजना भने उनले पनि बनाएका छन्।

हराउँदै चंगा, साँघुरिँदै खुला ठाउँ

चंगा उडाउने संस्कार विस्तारै हराउँदै गएको मान्छन्, व्यवसायी मानन्धर। यद्यपि, यसको दोष उनी आधुनिक पुस्ताको चंगाप्रतिको बेरुचिभन्दा पनि सहरीकरणलाई दिन्छन्। भन्छन्, ‘पहिले कति ठूला फराकिला फाँट र चौर थिए। हामी त्यहीँ जम्मा भएर चंगा उडाउने, रमाउने गर्थ्यौँ। अहिले ठूल-ठूला भवन बन्‍न थाले, बच्चाहरूलाई कहाँ कसरी खेल्ने के थाहा ? कौसी-कौसीमा खेल्दा लडेका घटना प्रशस्त छन्।’

व्यवसायी कपाली भने चंगा उडाउने संस्कारप्रति नयाँ पुस्ता उदासिन भएको मान्छन्। फ्रि फायर, पब्जीलगायत इन्टरनेट गेममा रमाएका नयाँ पुस्तामा चंगाप्रति मोह देखिन छडेको उनको ठम्याइ छ। जतिबेला मोबाइल, इन्टरनेटको कल्पना पनि थिएन, त्यतिबेला चंगा दसैंको एक मुख्य मनोरञ्‍जनको साधन थियो।

चंगा खेल्नुको छुट्टै मज्जा हुने कपाली बताउँछन्। उनको पसलमा आठदेखि ४५ वर्ष उमेरका व्यक्ति चंगा लिन आउँछन्। तीमध्ये धेरैजसो युवा नै हुन्छन्। दसैंमा टीकाको दिनसम्म पनि चंगा बिक्री हुन्छ, त्यसपछि विस्तारै कम हुन्छ।

‘हामीजस्तै उमेरका व्यक्ति आउने गर्छन् किन्‍न धेरैजसो। केही समययता विभिन्‍न स्थानमा हुने चंगा चेट कार्यक्रमहरूले भने संस्कृतिलाई थोरै हदसम्म भए पनि बचाएका छन्,’ उनी भन्छन्।

ह्वात्तै बढ्यो चंगाको मूल्य

गत वर्ष पाँच रुपैयाँमा बेचेको चंगा यस वर्ष १५ देखि ३५ रुपैयाँसम्म बढेको सुदन बताउँछन्। नेपालमा चंगा नबन्‍ने भएकाले भारतका कोलकाता, जयपुर र बरेलीबाट आयात गर्छन्, व्यवसायीले। चंगा बनाउने जनशक्तिको अभाव र बजारमा खासै माग नहुँदा मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

व्यापारको चार्म घट्दै गएको समयमा यसरी चंगाको मूल्य बढ्नु अझ निराशाजनक कुरा भएकामा सुदन र प्रवीनको एकमत छ।

हरायो माझा हाल्ने चलन

व्यवसायी मानन्धरका अनुसार १५-२० वर्षअघि माझा हाल्ने चलन थियो। नेपाली काँचो धागोमा साबुदाना, सिसाको धुलो र अन्य आवश्यक सामान राखेर माझा हाल्ने चलन थियो। माझा हालेको धागो तिखो र अरू धागोलाई सजिलै काट्न सक्ने हुन्थ्यो।

आजकल रेडिमेड माझा हालेको धागो आउने कारण पनि यो चलन हराएको उनी बताउँछन्। ‘एक-दुई जना युवा सोध्दै आउँछन्, माझा हालेको धागोबारे। अब कसले त्यस्तो दुःख गरिरहोस्,’ उनी भन्छन्।

माझा हाल्दाको सम्झना उनीसँग ताजै छ। उनी भन्दै थिए, ‘पहिले साबुदानलाई पानीमा उमाल्ने। साथै, सिसाका स-साना टुक्रालाई धुलो बनाउने गरिन्छ। माझा हाल्न दुईजनाको आवश्यकता पर्छ, एकजनाले मात्र सक्दैन। उमालेको साबुदानालाई पहिले काँचो धागोमा लेपसरह लगाउने र सोहीमाथि सिसाको धुलोलाई छर्किने। साबुदाना लगाएको धागोमा एकजनाले सिसाको धुलो राखेर अर्कोले लट्टाइमा धागो बेर्नुपर्छ।

सिसाका लागि भने प्रायः जलेका ‘बल्ब’ प्रयोग हुन्थ्यो। दिनभर घाममा माझा गरिएको धागो सुकाएपछि अर्को दिनदेखि चंगा उडाउन सकिन्थ्यो। सिसाको धुलोलाई धागोले समाओस् भनेर साबुदानाको प्रयोग गरिएको उनको भनाइ छ।

यद्यपि, माझा हाल्दा सावधानी भने अपनाउनुपर्छ। माझाले धागो बलियोभन्दा पनि धारिलो बनाउँछ। अहिले आउने रेडिमेड माझा धागो खस्रो र चिल्लो गरी दुई प्रकारका हुन्छन्। खस्रो माझाले चंगा चाँडै चेट पार्न सक्छ भने चिल्लो लामो समय उड्ने र चाँडै चेट हुँदैन र काट्न पनि समय लाग्छ। रुचिअनुसार चिप्लो वा खस्रो माझाका धागो लाने उनी बताउँछन्।

सगरदेखि सोरुमसम्म

नीलो सगरमा उड्ने चतुर्भुज, चरालगायत आकृतिका चंगा पाइन्छन्, सोरुमहरूमा। सोरुमका पारदर्शी सिसामा सजाइएका रंगीचंगी स-साना चंगाहरूले दसैंको आभास दिलाउँछन्। चंगा, पिङ, लंगुरबुर्जा लामो समयदेखि दसैंको आगमन भएको आभास दिलाउने मापक थिए। अहिले चंगा, पिङ खासै नखेलिए-नदेखिए पनि विभिन्‍न सोरुममा स-सानादेखि ठूला झिलिमिली चंगा देख्न पाइन्छ। कतिपयले पिङ नै पनि राखेका हुन्छन्।

यसप्रकारको सजावट विज्ञापनभन्दा पनि दसैंको रौनकता र ऊर्जा थप्न राखिने सोरुमका सञ्‍चालकहरू बताउँछन्। अन्य समयमा भन्दा दसैंमा चंगा र पिङ राख्दा छुट्टै ऊर्जा र रमाइलो लाग्‍ने उनीहरूको भनाइ छ।

‘स-साना र झिलिमिली चंगा पहिले हाम्रा लागि सोपिसका रूपमा आउँथे,’ व्यवसायी प्रविन भन्छन्, ‘अहिले भने अफिस, सोरुमबाट यसप्रकारका चंगाको अर्डर आउँछ।’

उडाउने जमात घट्दा सो पिसको रूपमा प्रयोगमा रहेका चंगाले पनि व्यापारमा केही राहत दिने सुदनको बुझाइ छ। यद्यपि, सजावटमा सीमित नभई यसलाई संस्कारका रूपमा निरन्तरता दिनुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्