प्रचण्ड र कानु सन्यालको एउटै हो त बाटो ? 

काठमाडाैं, असाेज २१ : कुनै–कुनै बेला भावुक र मर्मस्पर्शी कुरा गर्न निकै सिपालु मानिन्छन्, कमरेड प्रचण्ड । केही दिनअघि उनले अत्यन्तै भावनात्मक कुरा बाँडचुँड गरे, जुन आत्महत्याजस्तो गम्भीर र संवेदनशील विषयमाथि थियो । उनले भने, ‘मैले कि त यत्ति नै रहेछ भनेर आफूले आफैँलाई सुसाइड गर्नुपर्‍यो । सबै सुसाइड नराम्रा मात्र हुँदैनन् है साथीहरू । मार्क्सका छोरी–ज्वाइँले सुसाइड गरेको कथा तपाईंहरूले पढ्नुभएकै होला ।’ 

कमरेड प्रचण्डको आत्महन्ता–विमर्श सुनेपछि जोकोहीको मनभित्र यस्तो प्रश्न स्वाभाविक रूपमा उब्जन्छ, ‘आखिर, प्रचण्डको आङमा किन आत्महत्यारूपी देउता चढिरहेको छ ? के कारण उनी आत्महत्याको कहालीलाग्दो सुरुङतिर उन्मुख हुँदै छन् ?’ निश्चय नै, यस्ता प्रश्नको अन्तस्करणमा पुग्नुअघि नक्सलबाडी विद्रोहका सूत्रधार कानु सान्यालको जीवन–कथा केलाउनु अति नै आवश्यक देखिन्छ । सन् ७० को दशकतिर सिंगो भारतभरि नै शक्तिशाली आँधीबेरी ल्याउने नक्सलबाडी सशस्त्र विद्रोहका नायक चारु मजुमदारपछिका दोस्रो बरीयताका नेता सन्यालले जीवनको आखिरी समयमा आत्महत्या रोजेको प्रसंगलाई यतिबेला सम्झिनु सान्दर्भिक होला ।

कानुले रोजेको त्यो बाटो 

प्रचण्डले माक्र्सको छोरी–ज्वाइँले आत्महत्या गरेका इतिहास उप्काएर ‘सबै आत्महत्या नाजायज हुँदैनन्’ भन्ने अनौठो भाष्य पेस गरे । तर हामी शताब्दी अघिका माक्र्सका छोरी–ज्वाइँसम्मै पुग्नैपर्दैन । हाम्रै छिमेक अर्थात् पूर्वी तराईको झापासँगै जोडिएको पश्चिम बंगालका होनहार कम्युनिस्ट नेता कानु सन्यालले आत्महत्या गरेको प्रसंगमा टेकेर नै प्रचण्डको भाष्यको धरातल पहिल्याउन सक्छौं । 

सिलिगुडीको एक मध्यम वर्गीय परिवारमा जन्मिएका सान्याल कलेजमा पढ्दै गरेकाताका निष्काशनमा परे । पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री डा. विधानचन्द्र रायविरुद्ध आवाज उठाएकै कारण उनी कलेजबाट निष्काशित हुनुपरेको थियो । कलेज पढ्दाताका नै चिनियाँ क्रान्तिको सघन प्रभावमा परेका उनले निष्काशनपछि कम्युनिस्ट विचारलाई रोजे र आदिवासी समुदायबीच काम गर्ने संकल्प लिए । सोही क्रममा उनको भेट भयो, जांगल सन्थालसँग । जुन समय सन्थाल आदिवासी समुदायबीच कम्युनिस्ट विचारलाई प्रवाहित तुल्याउँदै थिए । 

सन् १९६७ मा पश्चिम बंगालमा वामपन्थीको नेतृत्वमा सरकार बन्यो । त्यतिबेला सन्याल मार्क्सवादी कम्युनिस्ट पार्टीको दार्जिलिङ जिल्लाको सचिवालय सदस्य थिए भने सन्थालचाहिँ सिलिगुडी इलाका कृषक समितिको अध्यक्ष । सोही बेला सिलिगुडी इलाकाको किसान सम्मेलन भयो र उक्त सम्मेलनले जमिनदारले वर्षौंदेखि कब्जा जमाउँदै आएको जमिन खोस्ने नीति पारित गर्‍यो । जमिनदारहरू सहज रूपमा आफ्नो जमिन किसानलाई सुम्पिन तयार नदेखिएपछि किसानले हतियारधारी दस्ता निर्माण गरे र आफूलाई सशस्त्र विद्रोहतिर मोडे । नक्सलबाडी इलाकामा हतियार बोकेका किसान र प्रहरीबीच चर्को भीडन्त हुन थाल्यो । सोही क्रममा केही किसान र केही प्रहरी मारिए । इतिहासमा दर्ज नक्सलबाडी आन्दोलनको नेतृत्व गरेका सन्याल त्यसपछि भारतको राष्ट्रिय राजनीतिमा एक चर्चित विद्रोहीका रूपमा चिनिन पुगे । 

नक्सलबाडी किसान विद्रोह हुनुभन्दा केहीअघि मात्र चारु मजुमदारसँग गठबन्धन भएको थियो, सन्यालको । दुवैको एउटै मत बन्यो, चिनियाँ क्रान्तिकै शैली अपनाए मात्र भारतीय जनतालाई मुक्ति दिलाउन सकिन्छ । नक्सलबाडी आन्दोलन ५२ दिनसम्म चर्किएपछि वाममोर्चा सरकारले हस्तक्षेप गर्‍यो र चारु मजुमदार, जांगल सन्थाललगायत ५२ विद्रोही गिरफ्तारीमा परे । सन्याल भने प्रहरीको घेराबन्दी तोडेर उम्किन सफल भए । वाममोर्चा सरकारले तीव्र खोजतलास गरेपछि सन्याल चीन पुगे र केही समय गुरिल्ला तालिम पनि लिए । पछि भारत आएपछि उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नागभूषण पटनायक, चौधरी तेजेश्वर राव, कोला वेंकैया लगायतसँगको छलफललाई घनीभूत तुल्याए । 

सन्याल चीनबाट फर्किंदासम्म नक्सलबाडी आन्दोलन नौलो भुमरी सिर्जना गरेर स्थगित भइसकेको थियो । मानौं, बालुवै–बालुवाको बगरमा केही समय भुमरी आएजस्तो । केवल क्षणिक । नक्सलबाडी किसान विद्रोहको बाछिटाले भने भारतका अरू भूभागलाई रुझाइसकेको थियो– बंगालकै बल्लभपुर, गोपीडेबरा, वीरभूम, आन्ध्रप्रदेशको श्रीकाकुलमसम्मै । त्यही समय सन्यालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन खोजिरहेका थिए । प्रहरीको गिरफ्तारीमा परेका चारु मजुमदारको कोलकातास्थित लालबजार प्रहरी हिरासतमा प्राणान्त भयो । सन् ८० को दशकतिर अधिक मदिरा सेवन गर्न थालेका जांगल सन्थालको पछिल्लो समय प्रहरी मुठभेडमा मृत्यु भयो । र, निकै पछि अर्थात् वृद्धवस्थाका दिन झेलिरहेका सन्यालले भने २३ मार्च २०१० मा आत्महत्याको कठोर निर्णयबीच आफूलाई उभ्याउन पुगे ।  

क्रान्तिप्रति अत्यन्तै लालायित सन्यालले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डसँग आफ्नो कुराकानी हुने स्वीकारेका थिए । आत्महत्या गर्नुभन्दा दुई वर्षअघि सन् २००८ मा ‘दैनिक भाष्कर’ का पत्रकार प्रकाश दुवेसँगको साक्षात्कारमा उनले भनेका थिए, ‘मलाई प्रचण्डको कार्यशैलीप्रति सन्देह छ ।’ 

चारु, कानु, जांगललगायतको नेतृत्वमा ६० को उत्तरार्द्ध दशकतिर पूर्वोत्तर भारतमा चम्किएको किसान विद्रोहले क्रान्तिको झिल्का उत्पन्न गराए पनि लामो समयसम्म त्यो झिल्का बल्न सकेन । तर पछिल्लो समय फेरि मूलतः आदिवासी बाहुल्य छत्तीसगढ लगायत केही भारतीय प्रान्तमा नक्सलबाडी विद्रोहकै शैलीमा भारतीय माओवादीले विद्रोह प्रारम्भ गरे । माओवादी विद्रोहीले जनयुद्धका नाममा हत्या र हिंसाको राजनीतिलाई प्रश्रय दिएकोप्रति सन्यालको असहमति थियो, जुन कुरालाई उनले ‘गलत’ संज्ञा दिएका थिए । 

प्रचण्डः असफल नायक

जनयुद्धकालीन समयमा प्रचण्डको चुम्बकीय आकर्षण अत्यन्तै प्रभावकारी थियो । युद्धको मैदानमा भिडिरहेका र युद्ध नचाहनेहरू दुवैबीच । युद्धमा मोर्चाबद्ध भएकालाई त प्रचण्डको चुम्बकीय व्यक्तित्वले आकर्षित तुल्याउनु स्वाभाविकै थियो । युद्धप्रति असम्बद्धलाई पनि उनको क्रान्तिकारी व्यक्तित्व र छविले लोभ्याएको थियो । उनको चुम्बकीय आकर्षणको निरन्तरता २०६२÷०६३ को जनआन्दोलन, संविधानसभाको पहिलो निर्वाचन, उनकै नेतृत्वमा गठित प्रथम सरकारको समयसम्मै रह्यो । त्यसयताका दिनमा भने उनीमा अन्तरनिहीत चुम्बकीय क्षमतामा क्रमशः ह्रास आउँदै जान थाल्यो । भनिन्छ, अधिकांश चुम्बक फलाम र निकेलहरूमा कृत्रिम तरिकाले चुम्बकीय तत्व राखेर बनाइन्छ । तर त्यस्ता चुम्बकको आयु लामो हुँदैन । प्राकृतिक रूपका चुम्बकको आयु भने दीर्घ हुन्छ । साँच्चै, पछिल्लो अवधि प्रचण्डको चुम्बकीय क्षमता कृत्रिम साबित हुँदैछ र त्यो अब एउटा सामान्य पत्थरको आकर्षणभन्दा धेरै कम देखिँदै गएको छ । किनभने, जनयुद्धभन्दा पूर्ववर्ती समयदेखि नै उनको पथमा डोरिँदै आएका योद्धा÷सहयोद्धा सबै लाखापाखा लागिसकेका छन्, उनलाई नमस्कार गरेर आ–आफ्नो गन्तव्य पहिल्याइसकेका छन् । यति ठूलो विग्रह, सहयोद्धा–विछोड र फाटो त नेपालको कुनै पनि राजनीतिक दलमा सायदै आए होलान् । त्यसका शीर्ष पात्रले झेले होलान् । 

निःसन्देह, विद्रोही माओवादी शान्ति प्रक्रियामा आउँदा नेपाली राजनीतिको नाभिकणमा केवल प्रचण्ड, डा. बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ लगायत पात्र थिए । यिनीहरूका प्रभावकारिता कुनै मिथकमा उल्लिखित साहसी, निष्ठावान र अद्भुत पात्रभन्दा कम थिएन । अझ, यिनीहरूका हरेक अभिव्यक्ति र व्यवहार–शैलीले आम जनतामा बेग्लै प्रभाव छाडेको थियो । यी तीनैजना नेताले आफूहरू सत्ताको चालबाजीमा नफस्ने र जनताको सेवामा जुट्ने अठोट मात्र व्यक्त गरेका थिएनन्, ठट्टामजाक नै किन नहोस्, त्यतिबेलै भनेका थिए, ‘हामी गान्धी बन्न चाहन्छौं ।’ तथापि, दुई किनारझैँ अलग थियो, गान्धी र प्रचण्डले हिँडेका बाटो । जुन व्यवहारमा कहिल्यै लागू हुन सक्दैनथ्यो र जुन कुरा समय क्रममा पूर्णतः साबित पनि भइसकेको छ ।

यद्यपि, बितेको डेढ दशकको समीक्षा गर्ने हो भने प्रचण्डले आफ्नै व्यवहार र कार्यशैलीमार्फत आफ्नो झाँगिदो ‘नायकत्व’ माथि पल–प्रतिपल कैंची चलाउँदै आए । जनयुद्धका ऊर्जावान वर्षका साथै शान्ति प्रक्रियापछिका केही वर्षसम्म उनको नायकत्व नेपाली समाजका लागि स्वीकार्य नै देखियो । पछिल्लो समय भने उनी वैचारिक र आदर्शमुखी राजनीतिको शिखरबाट क्रमशः फेदीतिर उन्मुख हुँदै गए, मूल्यहरूका धरातलबाट भासिँदै गए, तीव्र भावना, उदासीनता र विरोधाभासको मौलाउँदो काँढेघारीमा अल्झिँदै गए । आज प्रचण्ड आफ्नो विगतको सान, साख र समृद्ध हिँडाइको बचाउमा उत्रिनुका साथै अरूका आँखामा धुलो हाल्ने प्रयत्नमै मग्न देखिनुमा यिनै पक्ष कारक तत्त्वका रूपमा रहेका छन् भन्नु पक्कै अन्यथा नहोला । 

नेपाली राजनीतिमा हतास वा आत्ममुग्ध राजनीतिलाई पछ्याउने पात्र बग्रेल्ती छन् । प्रचण्डको राजनीतिक आरोह–अवरोहलाई केलाउने हो भने उनले सुरुदेखि अहिलेसम्म हतास र आत्ममुग्ध राजनीतिको बाटो मात्र अँगाल्दै आएको प्रस्टै देखिन्छ । आखिर, यो बाटोको हिँडाइले उनलाई कुन गन्तव्यमा पुर्‍याउला ? 

आत्महत्या : अस्तित्वसम्बन्धी संकट

हरेक आत्महत्या एक दुःखद परिघटना हो । निराशा, हतास र कमजोर मनस्थितिबीच बाँचिरहेका मानिस आत्महत्याको गोरेटो रोज्न बाध्य देखिँदै आएका छन् । कतिपयले शारीरिक अस्वस्थताबाट मुक्ति पाउन आत्महत्या रोज्लान् भने कतिपयले मानसिक तनाव र संकटसँग जुध्ने शक्ति क्षीण हुँदै गएपछि आत्महत्याको सरल बाटो अपनाउँछन् । तर, जुन व्यक्तिले आत्महत्या रोज्छन्, उसको भौतिक अस्तित्वले मुक्ति त पाउला, तर त्यसले समाज र परिवारभित्र निम्त्याउने भयावह र त्रासद परिदृश्यको परिकल्पना नै गर्न कठिन हुन्छ । 

निश्चय नै, मानसिक तनाव, व्यग्रता र छटपटीमा डुबेका मानिसले जिजीविषाको सुनौलो क्षितिज पहिल्याउन सक्दैनन् र अन्ततः उनीहरू आत्महत्याको सरल मार्ग अपनाउन पुग्छन् । अतः मनोवैज्ञानिक भन्छन्– आत्महत्या एक अस्तित्वसम्बन्धी संकट पनि हो । विदेशी मुलुकमा आत्महत्या–प्रवृत्त व्यक्तिका लागि सरकारले नै हेल्पलाइनको व्यवस्था गरेको हुन्छ र त्यसले मानसिक तनावबाट गुज्रिएर आत्महत्या रोज्ने कैयौं व्यक्तिलाई जीवनको सार्थकता बुझ्ने अवसर मिल्छ । त्यस्ता व्यक्तिहरू आत्महत्याको डिलैनेर पुगेर पनि फर्कन सफल भएका छन् । के हामीकहाँ पनि त्यस्तो हेल्पलाइनको आवश्यकता देखिन थालेको हो अब ?

 Published Date: Thursday, 7th October 2021 9:59:00 am