Kathmandu Press

होटेल एम्बासेडर : महारानी एलिजाबेथसँगका ती संयोग वियोग !

स्थापनाको ४२ वर्षमा लाजिम्पाटको होटेल एम्बासेडरले धेरै उतारचढाव बेहोर्‍यो। सञ्चालक योगेन्द्र शाक्यका लागि तीमध्ये तीनवटा घटना विशेष स्मरणमा छन्, तीनैपटक यो होटेलले आफ्नो जग्गा सडकमा गाभ्नुपर्‍यो। त्यसमा पनि दुईपटक बेलायती महारानीको नेपाल भ्रमणका लागि।
होटेल एम्बासेडर : महारानी एलिजाबेथसँगका ती संयोग वियोग !

काठमाडौं, असोज ७ : डा. बाबुराम भट्टराई प्रधानमन्त्री छँदा काठमाडौंमा सडक विस्तारको लहर चल्यो । खासगरी, काठमाडौंका रैथाने समुदायले त्यसको चर्को आलोचना गरे । तर, सरकार रोकिएन, सडक किनारमा बनेका घरहरूमा डोजर चलाइयो । लाजिम्पाटस्थित होटेल एम्बासेडर पनि त्यसबाट अछुतो रहन सकेन ।

होटेल प्रांगणमा सरकारी डोजर प्रवेश गर्‍यो । ४२ कोठे बुटिक होटेल केही क्षणमै ‘ग्राउन्ड जिरो’मा परिणत हुँदै थियो । तब होटेल सञ्चालक योगेन्द्र शाक्यले निर्णय लिए, आफैंले पुरानो भवन भत्काएर भव्य महल बनाउने । ‘मेरो होटेल म आफैँ भत्काउँछु,’ यति भनेर उनले सरकारी डोजरलाई फिर्ता पठाए । भवन भत्काउदै गर्दा सँगै एउटा ब्यानर टाँसे शाक्यले, ‘एभ्री चेन्ज ब्रिङ्स् अपरच्युनिटिज’ अर्थात् ‘हरेक परिवर्तनले अवसर ल्याउँछन् ।’

ब्यानर देखेर तत्कालीन प्रधानमन्त्री डा. भट्टराईकी पत्नी हिसिला यमीले शाक्यलाई म्यासेज पठाइन्, ‘तपाईंको आँट र सहनशीलतालाई मैले मानेँ ।’ शाक्यले रिप्लाइ गरे, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ ।’

होटेल एम्बासेडरको हकमा ब्यानरमा लेखिएजस्तै परिवर्तन आयो । शाक्यले बाबु–बाजेको चिनो पुरानो भवन आफैँले भत्काए । अनि तयार भयो ७२ कोठाको भव्य होटेल ।

राम्रै चलिरहेको होटेल त्यसमा पनि आफ्ना बाबु–बाजेको ‘लिगेसी’ भत्काउन उनको मन कहाँ मानेको थियो र ! तर, परिस्थितिले परिवर्तन मागेको थियो । र, परिवर्तनसँग डराउने स्वभाव थिएन शाक्यको ।

‘जीवनमा धेरै घटना हुन्छन् । घटना भएको अवधि पक्कै पनि नराम्रो हन्छ । तर, कालान्तरमा ती घटनाले सुन्दर पाठ सिकाएर जान्छन्,’ आफ्नो जीवन भोगाइका सकारात्मक पाटो केलाउँदै उनी भन्छन् ।

होटेल एम्बासेडरले राज्यबाट अतिक्रमण सहनुपरेको त्यो पहिलोपटक थिएन । त्यसअघि पनि दुईपटक होटेलको जग्गा सरकारले सडकमा गाभेको थियो, विस्तारकै नाममा । त्यसकारण पनि शाक्य भन्छन्, ‘४२ वर्षको सहनशीलता, लचकता र अदम्य साहसको उदाहरण हो, होटेल एम्बासेडर ।’

बेलायती महारानीको दुई भ्रमण, मारमा होटेल एम्बासेडर

योगेन्द्रका पिता थिए, वसन्तराज शाक्य । सन् १९६३ मा पहिलोपटक चारकोठे बंगला निर्माण गरी अनौपचारिक रूपमा उनले होटेल एम्बासेडरको सुरुवात गरेका थिए । बंगला बनेको उक्त जग्गा योगेन्द्रका हजुरबुवा सिद्धिबहादुर शाक्यले खरिद गरेका थिए ।

‘त्यतिबेला हजुरबुवाले के देखेर, सोचेर यो जग्गा किन्नुभएको थियो होला ? कारण– पहिलो त नेवार समुदाय आफ्नो समूहबाट टाढा बस्न रुचाउँदैनन्,’ शाक्यले आफ्नो प्रश्नको आफैँ जवाफ दिए, ‘हजुरबुवाको त्यो समयमा लैनचौर खाली र बस्तीबाहिर पथ्र्यो ।’

नेपाल भाषामा ‘लै’ को अर्थ मूला हुन्छ । ‘मूला धेरै फल्ने चौर भएकाले लैनचौर भनिएको हो कि,’ शाक्यले अनुमान लगाए ।

‘त्यो समयमा धेरैले बाजेलाई भने पनि होलान् त्यति बाहिर किन जग्गा लिएको भनेर । प्रायः नेवारहरू आफ्नो टोल, समुदायबाट बाहिर बस्न मन गर्दैनन् । अझ असनजस्तो व्यावसायिक ठाउँबाट लैनचौरजस्तो त्यतिबेलाको दुर्गमझैँ लाग्ने ठाउँमा जग्गा किन्नुको केही कारण त थियो होला,’ शाक्य भन्छन्, ‘सायद त्यो जग्गा नदेखिएको हीरा थियो, जुन हजुरबुवाले देख्नुभयो । उहाँबाट हस्तान्तरण भएर बुवाले सही समयमा प्रयोगमा ल्याउनुभयो ।’

बाहिरबाट भव्य देखिने होटेल एम्बासेडरको कथा भने अविश्वसनीय छ । विकासमा नाममा काठमाडौंका रैथानेहरूको जग्गा अतिक्रमण हुनु नौलो विषय होइन । र, होटेल एम्बासेडर पनि अतिक्रमणबाट अछुतो रहेन । सन् १९६३ मा चारवटा कोठामा बनेको बंगला बेलायती रेजिडेन्टलाई भाडामा दिएका थिए, योगेन्द्रका बाबुले ।

बंगला बन्नुभन्दा दुई वर्षअघि सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलोपटक नेपाल भ्रमणमा आइन् । महारानीको सवारी चलाउन लैनचौरदेखि शीतलनिवाससम्म सडक विस्तार गरियो । र, योगेन्द्रका हजुरबा सिद्धिबहादुर शाक्यको यो जग्गाको केही हिस्सा पनि सडकमा गाभियो ।

बेलायती कर्मचारीलाई भाडामा दिइएको चारकोठे बंगलालाई योगेन्द्रका बुवाले छेउछाउबाट भवन थप गरी सन् १९७७ मा ४२ कोठे बुटिक होटेलमा परिणत गराए । सन् १९७७ मा योगेन्द्र पनि भारतबाट होटेल म्यानेजमेन्टको अध्ययन सकेर स्वदेश फर्किसकेका थिए । होटेल म्यानेजमेन्ट नै पढेर आएका कारण बुवाको लगानी अनि योगेन्द्रको अध्ययन र सीप फलदायी सावित भयो ।

सन् १९६९–७० तिर नेपाल पनि हिप्पी संस्कृतिको प्रभावमा पर्‍यो । त्यतिबेलाको झोछेँ ‘फ्रिक स्ट्रिट’का रूपमा परिचित थियो । चहलपहल बढ्न थाल्यो । सोही चहलपहललाई समात्दै पर्यटन व्यवसायी कर्ण शाक्यले ‘काठमाडौं गेस्ट हाउस’ स्थापना गरे, जुन ठमेलको पहिलो होटेल हो । राणा परिवारबाट खरिद गरेको दरबारलाई उनले होटेलमा परिणत गराएका थिए ।

ठमेलभन्दा बाहिर त्यो पनि दिउँसै स्याल कराएको आवाज सुनिने लाजिम्पाटमा योगेन्द्रका बाबु वसन्तरा शाक्यले चारकोठे बंगला निर्माण गरेका थिए । र, नजिकै पर्ने बेलायती दूतावासका कर्मचारीको आवासका रूपमा भाडामा दिएका थिए ।

सन् १९८६ मा बेलायती महारानी दोस्रो पटक नेपाल भ्रमणमा आइन् । फेरि सरकारले लाजिम्पाटदेखि शीतलनिवाससम्मको सडक फराकिलो बनाउने भयो । र, फेरि होटेल एम्बासेडरको केही जग्गा सडकमा गाभियो । तत्कालीन राजा वीरेन्द्रले बग्गीमार्फत बेलायती महारानीलाई सवारी चलाउने निर्णय लिएका थिए । बग्गीको सवारी चलाउँदा सडकमा गाभियो शाक्य परिवारको जग्गा ।

तेस्रोपटक सरकारकै कारण पुरानो बंगला भत्काएर नयाँ भव्य भवन ठड्याएका योगेन्द्रले होटेल उद्घाटनका लागि चार वर्षअघि डा. बाबुराम भट्टराईसँगै तत्कालीन बेलायती राजदूतलाई पनि आमन्त्रण गरेका थिए । ‘मजाकै मजाकमा मैले बेलायती राजदूतलाई महामहिम तपाईंकी महारानीलाई नेपाल भ्रमणका लागि फेरि बोलाउनुहोला, उहाँ आउँदा हरेकपटक हाम्रो जग्गा  घटेको छ भनेको थिएँ,’ मन्द मुस्कानका साथ शाक्यले स्मरण गरे ।

४२ वर्षको इतिहासमा होटेल एम्बेस्डरले भोगेको इतिहासलाई फर्केर हेर्दा ४२ वर्षको सहनशीलता र लचकताको उपमा ‘होटेल एम्बेस्डर’ लाई दिन्छन् संचालन योगेन्द्र शाक्य ।

भावनात्मक संवेग र आदर जोडिएको होटेल

‘एसीई होटेल्स’अन्तर्गत हालको भव्य होटेल एम्बासेडरको निर्माण सन् २०१७ मा सम्पन्न भयो । नयाँ ढाँचा दिइएको पुरानो होटेलको यो स्वरूप निकै भिन्न छ ।

होटेल एम्बासेडरका सञ्चालक योगेन्द्र शाक्य

‘मेरो बुवा भावुक तथा मानवीय संवेदना अझ बढी बुझ्ने, आदर गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँ कसैले बनाएको भवन पनि भत्काउन नहुने तर्क गर्नुहुन्थ्यो,’ योगेन्द्र सम्झिन्छन्, ‘सन् १९६३ मा बनाएको बंगलालाई पनि नबिगारी बरु छेऊ, कुनाबाट भवन गाभी ४२ कोठे होटेलको स्वरूप तयार गर्नुभएको थियो ।’

सायद पुख्र्यौली पेशाका कारण पनि योगेन्द्रका बाबु वसन्तबहादुरमा त्यो कला आएको हुनुपर्छ । ‘हामी पेशाले सुनचाँदी गहना व्यवसायी हौँ,’ योगेन्द्र भन्छन्, ‘गहना बनाउने कलाकौशलालाई पो उहाँले भवन निर्माणमा पनि प्रयोग गर्नुभयो कि ?’

योगेन्द्रका हजुरबुवा सिद्धिबहादुर शाक्यको सन् १९६१–६२ तिर युवावस्थामै निधन भयो । त्यसपछि घरपरिवार सबैको जिम्मेवारी योगेन्द्रका बुवा वसन्तबहादुरको काँधमा आयो । एक भाइ र दुई दिदी–बहिनीको शिक्षादीक्षा र बिहेवारी तथा योगेन्द्रसहितका पाँच सन्तानलाई हुर्काउने, बढाउने चुनौती थियो । वसन्तराजलाई ३५ वर्षकै उमेरमा १४ जनाको परिवारलाई सम्हाल्नु थियो ।

‘एउटा सुनचाँदी पसलले १४ जनाको परिवारलाई धान्न सहज थियो होला । दुःखको समयमा बनाएको कारण पनि होला होटेल एम्बेस्डरसँग उहाँमा अझ बढी एयाट्याचमेट थियो,’ शाक्य सम्झिन्छन्, ‘म पो भर्खरको युवा ‘योङ र इनर्जेटिक’ थिएँ । मलाई भवन भत्काएर नयाँ बनाउन उहाँलाई जतिको दुःख सायदै लागेको थिएन ।’

योगेन्द्रका अनुसार पुरानो भवन भत्काएर नयाँ बनाउँदा उनका बाबु वसन्तबहादुर निकै दुःखी थिए । ‘यसो सम्झँदा म उहाँभन्दा केही कम संवेदनशील थिएँ । अहिले यो ७२ कोठे भवनसँग मेरो पनि विशेष झुकाव उस्तै छ,’ उनी भन्छन् ।

दुर्घटनाले जुराएको होटेल म्यानेजमेन्ट अध्ययन

योगेन्द्र शाक्यको जन्म सन् १९५४ मा असनमा भएको थियो । उनले एसएलसीसम्मको शिक्षा सेन्ट जेभियर्स स्कुलबाट पूरा गरेका थिए भने आईएस्सी अस्कल क्याम्पसबाट गरे ।

आईआईटीअन्तर्गत भारतको खड्कपुर इन्जिनियरिङ कलेजमा ‘मेकानिकल इन्जिनियरिङ’ पढ्ने तयारीमा थिए उनी । त्यही समयमा एउटा झडपमा उनी दुर्घटनामा परे । र, उपचारका लागि भारतको भेल्लोर पुर्याउनुपर्‍यो ।

अस्पतालमा उनीसँगै उपचारमा रहेका अर्का बिरामीले टेक्सटाइल इन्जिनियरिङ गरेका थिए । तिनै बिरामीले उनलाई होटेल म्यानेजमेन्टमा भविष्य राम्रो रहेको बताए । शाक्य भन्छन्, ‘उनले मेरो ब्रेन–वास यसरी गरे कि इन्जिनियरिङ छोडेर उपचारपछि भारतमै होटेल म्यानेजमेन्ट पढ्न थालेँ ।’

डाक्टर, इन्जिनियरलाई महत्त्व दिने समयमा कतै गल्ती पो गरियो कि भन्ने भान उनलाई नभएको पनि होइन । कहिले भाँडा माझ्नुपर्ने, कहिले वेटर, कहिले कुकको काम गर्नुपर्ने कुराले उनले पढ्न मन नहुँदा–नहुँदै पढाइ सके । र, सन् १९७७ मा नेपाल फर्किए । सुरुमा किन यो भाँडा माझ्ने, रुम सफा राख्ने पेशामा लागेको होलाजस्तो लाग्थ्यो रे उनलाई । अहिले उनलाई बोध भएको छ, ‘होटेलिङले हरेक पेशालाई समान रूपमा हेर्न सिकाउने रहेछ ।’

स्वदेश फर्केकै अर्को वर्ष सन् १९७८ मा होटेल एम्बासेडरको औपचारिक सुरुवात भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनको ‘एसीई होटेल्स’अन्तर्गत क्लब हिमालय, होटेल एम्बासेडरलगायत होटेल सञ्चालनमा छन् अहिले ।

एउटा नमिठो घटनाले उनको जीवनको बहाव नै बदलिदियो । यसकारण पनि उनी भन्छन्, ‘दुर्घटना भएको समयले नराम्रो र नमीठो अनुभव दिन्छ । तर, त्यही घटनाले कालान्तरमा सम्भावित सुन्दर परिमाण दिन सक्छ । बस्, आशावादी र सकारात्मक हुनुपर्छ ।’

अविस्मरणीय क्षण

सन् १९७७ मा उनी भर्खरै होटेल म्यानेजमेन्ट पढेर आएका थिए । काम गर्ने क्रममा एक विशेष पाहुनाको आगमन हुँदै थियो । ‘टोनी जोन्स’ नामका ती व्यक्ति ‘टुर अपरेटर’ थिए । लन्डनबाट ‘टुर’मा पर्यटकहरू नेपाल ल्याउने ‘एजेन्ट’ थिए उनी।

उनी आउनु अघिल्लो दिन नै शाक्यले सबै स्टाफलाई भेला गरी ‘टोनी जोन्स’ महत्त्वपूर्ण पाहुना भएका कारण उनलाई ‘बेस्ट सर्भिस’ दिन आग्रह गरेका थिए । ‘४२ कोठाको सानो होटेल भएका कारण विशेषतः किचेन र स्टोरका सामान थोरै प्रयोगमा आउँथे,’ शाक्यले सविस्तार बताए, ‘जोन्स होटेल चेक–इन गरेको बिहान त्यस्तै ९–१० बजेतिर रेस्टुराँमा कफी अर्डर गरेछन् । त्यो समय ड्युटीमा खटिएका वेटरले अर्डर लिए तर किचेनमा कफी सकिएको रहेछ ।’

कुकु र वेटरबीच केही समय मतभेद पनि भएछ । शाक्यको आदेश थियो, जोन्सलाई बेस्ट सर्भिस दिनु । कफीको सट्टा चिया दिनु पनि भएन । अनि वेटर आफ्नै पैसाले कफी किनेर सर्भ गरेछन् वेटरले । उता टोनी जोन्स भने सर्भिस ढिला भएका कारण रिसाए छन् । आखिर जे नहोस् भन्ने थियो, त्यही भइदियो ।

उक्त घटना शाक्यले थाहा पाएपछि केही समय उनी स्वयं पनि हच्किए । उनी भन्छन्, ‘होटेल चेक–इन गर्दा त्यति मजाले कुरा गरेको मान्छे रिसाएर बोलेको पनि छैन ।’ त्यसपछि शाक्यले सम्झाइबुझाइ गरी सविस्तार घटना बताए । वास्तविक घटनाको जानकारी पाएपछि जोन्स ती वेटरबाट निकै प्रभावित भएछन् र केही पाउन्ड रकम ‘टिप्स’समेत दिएछन् । सजग हुँदाहुँदै पनि अप्रत्यासित रूपमा भएको त्यो घटना शाक्यको मनमा अमिट छाप बनेर बसेको छ ।

‘हरेक घटना, परिस्थिति स्टोरी टेलिङमा भर पर्छ,’ शाक्य भन्छन्, ‘होटेलिङमा पनि स्टोरी टेलिङ नै हो जस्तोसुकै अवस्थालाई पनि सम्हाल्नका लागि । जसरी मैले जोन्सलाई सम्हालेको थिएँ ।’

होटेलिङको सुरुवात नै लाजिम्पाटबाट

होटेलिङको प्रसंग आउँदा ठमेल, झोँछे ‘फ्रि स्ट्रिट’ को सम्झाना आउन सक्छ । सन् १९९३ मा होटेल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष रहँदा उनले नेपालमा होटेलिङको इतिहासबारे अध्ययन गर्न लगाएका थिए । अध्ययनका क्रममा सन् १९५२–१९५४ को दौरानमा नेपालमा तीनवटा होटेल स्थापना भएको खुल्यो ।

सन् १९५२ मा जावलाखेलको चिडियाखानाअघि ‘नेपाल होटेल’ नाम दिए गोबर्द्धनलाल मास्केले स्थापना गरेका रहेछन् । तर, उक्त होटेलले होटलिङभन्दा ‘क्लब’को रूपमा सेवा दिएको थियो ।

यस्तै, सन् १९५३ मा ‘एङ्लो–इन्डियन’ टम मेन्डिजले एक नकर्मी परिवारको घर भाडामा लिएर होटेल ‘होटेल स्नो भ्यु’ सञ्चालनमा ल्याए । त्यो लैनचौर क्षेत्रमा खुलेको पहिलो होटेल थियो । लैनचौर मात्र होइन, सायद नेपालमै पहिलो होटेल थियो त्यो । ‘नामअनुसार पनि हाम्रो अनुमानमा लैनचौरबाट हिमालहरू देखिन्थे होला । अहिले पो ठूल–ठूला भवनले छेकेका छन्,’ शाक्य भन्छन् ।

यस्तै, हालको निर्वाचन आयोग रहेको बहादुर भवनमा रुसी नागरिक बोरिस लिसानेभिचले पनि होटेल रोयल खोलेका थिए । स्थापनाको मितिअनुसार होटेल स्नो भ्यु पुरानो हो तर बोरिसलाई नेपालमा होटेलिङ सुरु गर्ने पिताका रूपमा लिइन्छ । जसको कारण उनी यसरी प्रस्ट्याउँछन्, ‘सन् १९५२ मा बेलायती राजा किङ जर्ज नेपाल आएको बेलामा उनीहरूले जंगलमा क्याटरिङ गरेका कारण पहिलो होटेलको रूपमा हामीले नै स्थान दिएका हौँ ।’

सन् १९६९–७० ताका हिप्पीहरू नेपाल आए । उनीहरू झोछेँ र ठमेलमा बसे । निःसंकोच उनीहरूले पर्यटनका लागि बाटो देखाए । ‘तर, होटेलिङको सुरुवात भने पर्यटन सुरु हुनुअघि नै भएको हो,’ शाक्य भन्छन् ।

नेपालमा पर्यटन विकासको श्रेय उनी हिप्पीहरूलाई नै दिन्छन् । भन्छन्, ‘न त नेपाल सरकार वा कुनै व्यक्ति विशेषले नेपालमा पर्यटन सुरुवात गरेका हुन् । यदि कसैले यस्तो दाबी गर्छन् भने उनीहरू गलत छन् ।’

‘लजिङ पाथ’बाट लाजिम्पाट

हाल लैनचौरको परिधि होटेल एम्बासेडर अघिल्तिरको क्षेत्रमै खुम्चिएको छ । यद्यपि, त्यतिबेलाको लैनचौरको परिधि पानीपोखरीसम्मको क्षेत्रलाई मानिन्थ्यो । विस्तारै विदेशी पर्यटकको आउजाउ बाक्लियो ।

लजिङको लागि पर्यटकहरूको रोजाइ बन्न थाल्यो, लैनचौर क्षेत्र । विदेशी पर्यटककै बोलीचालीमा ‘लजिङ पाथ’ भन्न थालियो । सोही शब्दावली नेपाली लवजमा अपभ्रंश भई लाजिम्पाट नाम रहन गएको उनको भनाइ छ ।

जग्गा अतिक्रमण, काठमाडौंबाट नयाँदिल्ली उडेको एयर इन्डियाको विमान अपहरण, माओवादीको सशस्त्र विद्रोह, भूकम्प, भारतको नाकाबन्दी अनि अहिले कोरोना महामारी । यी सबै परिघटनाले सबैभन्दा बढी प्रभाव होटेलिङमै पारेको छ । यस्ता घटनाले नेपालमा पर्यटक आवागमन प्रभावित पारेको उनको विश्लेषण छ ।

शाक्य भन्छन्, ‘दुई वर्ष भयो, पर्यटकको संख्या शून्य भएको । पहिले पनि हामी आत्तिएनौँ, हरेस खाएनौँ । आज पनि हरेस पनि खाएका छैनौँ र भविष्यमा पनि हार मान्ने छैनौँ ।’

उनको भनाइमा होटेलिङ लाइनमा जति ‘ग्ल्यामर’ देखिन्छ, उति नै चुनौतीपूर्ण पनि छ । ‘मैले र मेरो होटेल आज जुन स्थानमा उभिएको छ, त्यसका लागि धेरै समस्या, दुःख झेलेर आएको छ । यसकारण पनि मेरो लागि ‘होटेल एम्बासेडर रिसाइलेन्स अर्थात् ४२ वर्षयताको लचकता र सहनशीलताको प्रतीक हो,’ उनले कुराकानीलाई बिट मारे ।

प्रकाशित मिति: ०९:२७ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्