वैज्ञानिकले किन दुर्लभ गैंडालाई उल्टो पारेर हेलिकोप्टरमा झुण्ड्याए?

काठमाडौं, असोज ३: विज्ञानको क्षेत्रका हाँस्यास्पद, रोचक तथा रमाइला जानकारी दिने म्यागेजिन हो, एन्नल्स अफ इम्प्रोबेबल रिसर्च। हरेक वर्ष यो म्यागेजिनले अनौठा र आश्चर्यजनक वैज्ञानिक प्रयोगलाई ‘आईजी नोबेल प्राइज’ पुरस्कार दिने गरेको छ। यो पुरस्कार पाउने वैज्ञानिक प्रयोगहरु सुन्दा र देख्दा रमाइलो लाग्ने हुनुपर्छ।

‘सुरुमा देख्दा वा सुन्दा मान्छेलाई रमाइलो लाग्ने वैज्ञानिक खोज तथा अनुसन्धान, तर त्यसपछि भने पुनर्विचार गर्न वाध्य बनाउने’ प्रयोगहरुलाई सो पुरस्कार प्रदान गरिने म्यागाजिनले जनाएको छ। र, २०२१ को आईजी नोबेल प्राइज जित्न सफल भएको छ, गैंडालाई उल्टो झुण्डाएर गरिएको एक अनौठो प्रयोगले।

खुट्टामा डोरीले बाँधेर हेलिकोप्टरबाट उत्तानो पारिएको गैंडाको फोटो हेर्दा जति हास्यास्पद हुन्छ, त्यसको पछाडिको विज्ञान भने उति नै गम्भीर छ।

संसारमा अहिले केबल पाँच प्रजातिका गैंडा भेटिन्छन्, जसमध्ये सबै दुर्लभ तथा लोपोन्मुख छन्। सजिलै पाइने (कम दुर्लभ) प्रजातिको तीनपत्रे सेतो गैंडा हाल विश्वभर २० हजारको संख्यामा रहेको अनुमान गरिएको छ।

फोटोमा देखिएको उल्टो झुण्ड्याइएको भने कालो गैंडा हो। १.५ टन तौल भएको यो प्रजातिको गैंडा विश्वभर सरदर ५ हजारको संख्यामा पाइन्छन्। गैंडालाई खुट्टमा बाँधेर उत्तानो पारेर हेलिकोप्टरमा ढुवानी गरेको दृश्य पनि सुरुमा हेर्दा निकै हास्यास्पद छ। तर, त्यसको कारण भने उति नै महत्वपूर्ण छ। मुख्यतः गैंडालाई त्यसरी झुण्डाउनुको कारणमध्येमा गैंडाको जनसंख्या प्रवर्धन रहेको छ।

गैंडा संरक्षकहरुले गैंडालाई खागको चोरीसिकारीबाट बचाउन उनीहरुको खाग पहिल्यै काटिदिने गरेका छन्। यसले अवैध रुपमा चोरीसिकारी गर्नेहरुबाट गैंडालाई जोगाउन निकै महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरु बताउँछन्।

यसबाहेक ‘ट्रान्सलोकेसन’ र ‘रिसरेक्सन’का माध्यमबाट पनि गैंडालाई स्थानान्तरण गर्दै तथा वैज्ञानिक पद्धतीले डिएनए, डिम्ब वा शुक्रकिटबाट गैंडा सिर्जना गर्ने प्रकृयामार्फत् पनि गैंडाको संख्या बढाउने गरिएको छ। गैंडालाई खुरमा बाँधेर उल्टो झुण्डाइएको यो प्रयोग पनि त्यसैसँग सम्बन्धित छ।

सामान्यतयः दुर्लभ प्राणीहरु सुरक्षा धेरै दिइएको बन्द परिधीमा राख्ने गरिएको छ। तर, यसले ति जंगली जनवारहरुले नयाँ क्षेत्र कब्जा गर्ने, वा दुई फरक स्थानका गैंडाको जिन मिक्स गरेर नयाँ बनाउने लगायतका प्रकृयाहरुमा प्रभाव पार्दछ।

त्यसैले अफ्रिकामा पाइने ठूला जनावरहरु, हात्ती, जिराफ, गैंडालगायतलाई समातेर स्थानान्तरण गर्नु जति आवश्यक छ, त्यति नै खतरनाक पनि। किनकी यस्ता जनावरहरु शारिरिक रुपमा निकै संवेदनशील पनि हुन्छन्।

बेहोस हुने सुई हानेर बाँधेर, लडाएर घण्टौं गाडीमा हालेर गैंडालगायत जंगली जनावारलाई स्थानान्तरण गर्दा उनीहरुलाई मानसिक तथा शारिरिक दुवै आघात पर्ने खतरा हुने गरेको छ।

त्यसैले, ट्राङ्कुलाइजर हानेर गैंडालाई गाडीमा घण्टौं लडाएर ठाउँ सार्नु र खुट्टामा बाँधेर उल्टो पारि हेलिकोप्टरमा झुण्डाएर १०–१५ मिनेटमै ढुवानी गर्दा कुन प्रकृयाले कम प्रभाव पार्छ भनेर गरिएको प्रयोगले आईजी नोबेल प्राइज जितेको हो। हेलिकोप्टरमा स्थानान्तरण गर्दा बेहोस हुने सुई लगाएर, आँखामा पट्टि बाँधेर, लैजाने गरिन्छ।

घण्टौं लगाएर गाडीमार्फत् स्थानान्तरण गर्नुभन्दा यसरी १०–१५ मिनेटमा उल्टो झुण्डाएर स्थानान्तरण गर्दा चाहिँ कम प्रभाव पर्ने सो अनुसन्धानमा सहभागी वैज्ञानिक जेसन गिलक्रिस्टले बताएका छन्। थोरै प्रतिशतको मात्र फरक भएपनि घण्टौं गाडीमा सुत्नुभन्दा उल्टो झुण्डाउनु नै श्रेयस्कर देखिएको हो।

जंगली जनवारको संरक्षण भनेको उनीहरुलाई मर्न नदिनु वा थुनेर जोगाउनु नभएको पनि गिलक्रिस्टले टिप्पणी गरे। गाडीमा ढुवानी गर्दा गन्तव्यमा पुगाएर छाडेको केही समयपछि पनि विभिन्न समस्या आएर गैंडाको मृत्यु हुने क्रम पनि बढेकाले वैज्ञानिकहरुले केही समययता त्यसको विकल्प खोजीरहेका थिए।

(द कन्जर्भेसनबाट)

 Published Date: Sunday, 19th September 2021 6:46:00 am