Kathmandu Press

मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी, असोज २ : धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ। एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ...
मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी, असोज २ : धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ। एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो। 

दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए।

‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ,’ उनले भने, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरी आउने छ।’  टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ। 

Hardik ivf

बन्द तामाखानी हाल बेवारिसे अवस्थामा छन्। मल्कवाङ नजिकै तामा उत्खनन् गर्न खनिएका दर्जनौँ सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन्। 

सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन्। स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन्।

तामाखानी उत्खनन् गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र सीप हस्तान्तरण हुने उहाँको विश्वास छ। विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। 

धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो। तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खनन्को वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क छन्।

गुर्जा, मच्छिम, कुइँनेमङ्गले र ओखरबोटमा समेत तामाखानी छ। खानी उत्खनन् र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ।

तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए। तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ।  
 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्