दिपायल विमानस्थल पुनः सञ्चालनमा

डोटी, असोज २ : कोरोनाका कारण बन्द रहेको दिपायल विमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ। 

जिल्लामा कोरोनाको  जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले  पुनः हवाई सेवा  सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन्। दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको र  निजी क्षेत्रको बिमान कम्पनी समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए। उनले भने, ‘आज शनिबारदेखि  पुनः जहाज सञ्चालन भएको छ, अब दिपायल धनगढी हवाई उडानले निरन्तरता पाउनेछ ।’

विमानस्थल पुनः सञ्चालन भएसँगै यहाँ जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएको छ। अठार जनाको सिट क्षमता भएको जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट  धनगढीका लागि ११ः३० बजे उडान हुने भएको छ। 

कार्यालयका अनुसार हाललाई दिपायलदेखी धनगढीसम्मको टिकट रु तीन हजार ४०० तोकिएको छ। टिकटका लागि दिपायलस्थित पिपल्लामा रहेको होटल रिभर साइटबाट उपलब्ध गराइने होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए। उनले भने, ‘दिपायल–धनगढी हप्तामा एक दिन जहाज सञ्चालन भएको छ, टिकटको जिम्मा अहिले मैले लिएको छु ।’ 

जिल्लाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा नेपाल सरकारले विमानस्थल कालोपत्र गरिएको थियो। बन्द भएको विमानस्थल पुनः सञ्चालन भएकाले स्थानीयबासी निकै खुशी भएका पिपल्लका व्यापारी चन्द्रु पाठकले बताए। 

उनले भने, ‘कोरोनाले गर्दा जहाज सञ्चालन बन्द गरिएको थियो, फेरी सञ्चालन भयो, यसले गर्दा  यहाँको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने छ।’ 

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमति भएसँगै यहाँका क्षेत्रीय कार्यालय कैलाली सारिएपछि निरास भएका स्थानीयवासी अहिले क्रमिकरुपमा विमानस्थलदेखि अन्य विकासका योजना सञ्चालन हुन थालेकाले खुशी भएका हुन् । 

विमानस्थलमा नियमित जहाज सञ्चालन भए यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने चेम्वर अफ कमर्सका जिल्लाअध्यक्ष खगेन्द्रबहादुर साउदले बताए।

उनले भने, ‘दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेछ, पर्यटक भित्रिए यहाँको विकास हुने निश्चित छ।’ 

नियमित जहाज सञ्चालन भए यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदारलगायत क्षेत्रमा पर्यटक ओइरिने उद्योग बाणिज्य सङ्घका जिल्लाअध्यक्ष मोहनबहादुर कलेलले बताए। उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेका ठाउँहरु हुन्, नियमित जहाज सञ्चालन भए यहाँको पर्यटन उद्योग  फष्टाउने छ।’

विमान सञ्चालन भएसँगै विमानस्थलमा रहेका टर्मिनल भवन तथा एटिसी भवन पुनः निर्माण गर्न माग गरिएको छ। यो विमानस्थलको धावनमार्ग  करिब ४९० मीटर लामो भएकाले एकहजार मिटर बनाउनका लागि स्थानीयवासीले माग गर्दै आएका छन्।
 

 Published Date: Saturday, 18th September 2021 12:59:00 pm