Kathmandu Press

गत वर्ष के गर्‍यो चाँगुनारायण नगरपालिकाले ?

आर्थिक वर्ष २०७७/७८ मा यस नगरपालिकाको कुल बजेट १ अर्ब ५९ करोड ५० लाख १४ हजार ६ सय विनियोजन गरिएको थियो, जसमध्ये जेठ मसान्तसम्म ८८ करोड २१ लाख ८९ हजार ३ सय ३१ रुपैयाँ ४७ पैसा मात्र खर्च भएको छ । यो खर्च कुल विनियोजित बजेटको ५५.३० प्रतिशत हो।
गत वर्ष के गर्‍यो चाँगुनारायण नगरपालिकाले ?
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज १ : भक्तपुर जिल्लाका चार नगरपालिकामध्येको एक हो, चाँगुनारायण । ६२.९८ वर्ग किमिमा फैलिएको यस नगरपालिकाअन्तर्गत ९ वडा छन् । कुल १२ हजार ९ सय ७० घरधुरी रहेको यस नगरपालिकाको जनसंख्या ५५ हजार ४ सय ३० छ।

आर्थिक वर्ष २०७७/७८ मा यस नगरपालिकाको कुल बजेट १ अर्ब ५९ करोड ५० लाख १४ हजार ६ सय विनियोजन गरिएको थियो, जसमध्ये जेठ मसान्तसम्म ८८ करोड २१ लाख ८९ हजार ३ सय ३१ रुपैयाँ ४७ पैसा मात्र खर्च भएको छ । यो खर्च कुल विनियोजित बजेटको ५५.३० प्रतिशत हो।

पुँजीगततर्फ विनियोजित ९० करोड ४५ लाख ९० हजार रुपैयाँमध्ये जेष्ठ मसान्तसम्म कुल ४९ करोड ५ लाख १ हजार सात सय आठ रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजितको ५४.२२ प्रतिशत हो । चालू खर्चतर्फ विनियोजित ६९ करोड चार लाख २४ हजार ६ सय रुपैयाँमा ३९ करोड १६ लाख ८७ हजार ६ सय २४ रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजितको ५६.७३ प्रतिशत हो।

आर्थिक वर्ष २०७८÷७९ का लागि मात्र गत वर्षको बैंक मौज्दातबाट प्राप्त हुने समेत गरी कुल बजेट एक अर्ब ९० करोड ६४ लाख २४ हजार दुई सय २४ रुपैयाँ रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ । जसमध्ये ६२.३ प्रतिशत अर्थात् एक अर्ब १८ करोड ८० लाख ८८ हजार रुपैयाँ पूँजीगत खर्चमा विनियोजन गरिएको छ । कुल बजेटको ३७.७ प्रतिशत अर्थात् ७१ करोड ८३ लाख ९६ हजार दुई सय २४ रुपैयाँ चालू खर्चतर्फ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।


कुल बजेटमध्ये उपप्रमुखसँग महिला लक्षित कार्यक्रममा विभिन्न १५ किसिमका तालिमका लागि ५० लाख र लैंगिग समानता तथा नेतृत्व विकासका लागि महिला लक्षित कार्यक्रममा ४१ लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर बिना बाँस्तोलाले जानकारी दिइन् । यस्तै, बालमैत्री स्थानीय शासन नीतिगत तथा घोषणाका लागि ९८ लाख ३० हजार बजेट विनियोजन गरिएको बाँस्तोलाको भनाइ छ।

मेयर–उपमेयर उद्यमशीलता

यस नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ को सुरुवात गरेको थियो । उक्त कार्यक्रम देशकै पहिलो कार्यक्रम रहेको नगरपालिकाको दाबी छ । उक्त कार्यक्रममा आबद्ध कुल दुई सय ६५ युवाका लागि तीन लाख रुपैयाँ बिनाब्याज कर्जा उपलब्ध गराउन कार्यक्रमको कार्यविधि तथा निर्देशिका स्वीकृत भएको र नेपाल बैंक लिमिटेडसँग कार्यक्रममा लगानीका लागि सम्झौता समेत भइसकेको नगरपालिकाको भनाइ छ।

नगरपालिकाका अनुसार, युवा उद्यमीको छनोट उत्प्रेरणा अभिवृद्धि र क्षमता विकासका लागि राष्ट्रिय युवा परिषद्को सहकार्यमा जिवाइबी (जेनेरेट योर बिजनेस) र एसवाइबी (स्टार्ट योर बिजनेस) सात दिने तालिम सम्पन्न भएको छ । पहिलो चरणमा सात दिन तालिम लिएका दुई सय ६२ जनालाई ऋणका लागि नामावली नेपाल बैंक लिमिटेडमा सिफारिस समेत गरिएको नगरपालिकाले जनाएको छ।

उपप्रमुखसँग उद्यमशीलता कार्यक्रमअन्तर्गत सीप तथा उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । जसमा ६० जनलाई सिलाई कटाइ तालिम, ५० जनालाई हस्तकला बेतवाँसको सामग्री बनाउने तालिम, २० जनालाई मखमली जुत्ता बनाउने तालिम, ७५ जनलाई आधारभूत कम्प्युटर तालिम, १८ जनालाई आधारभूत मन्टेश्वरी तालिम, १८ जनालाई नै एडभान्स मन्टेश्वरी तालिम, २० जनालाई कुशन डल बनाउने तालिम, १७ जनलाई कफी मेकिङ तालिम, १८ जनालाई बेकरी तालिम गरी कुल दुई सय ९६ जनालाई सीप विकास तालिम सञ्चालन गरिएको छ।

सिलाइकटाई, हस्तकला, कम्प्युटर, मन्टेश्वरी लगायत लामा तालिम हाल लकडाउनका कारण स्थगित गरिएको उपमेयर बाँस्तोलाले जानकारी दिइन् । ‘कोभिड केही साम्य हुनेबित्तिकै ती कार्यक्रम पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ,’ उनले भनिन्।

छोरी बचत

गत आर्थिक वर्षमा ‘बचत खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम’ अन्तर्गत चाँगुनारायणका सामुदायिक विद्यालयका छात्राको लगत संकलन गरी कुल ९ सय ३८ छात्राको बैंक खाता खोलिएको छ । यसमा नगरपालिकाबाट ४ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडबाट १ सय रुपैयाँ गरी ४ हजार १ सय रुपैयाँ रकम जम्मा गरिएको छ । यस कार्यक्रममा कक्षा १२ सम्म अध्ययनरत छात्राको खातामा प्रत्येक वर्ष बजेटबाट विनियोजित रकम जम्मा गरिने नगरपालिकाले जनाएको छ । 

मिलन चौतारी

यस नगरपालिकाले वृद्धवृद्धाका लागि निश्चित योजना बनाएको उपमेयर बाँस्तोला बताउँछिन् । ‘ज्येष्ठ नागरिकका लागि मिलन चौतारी बन्दै छन् । जसमा उनीहरूका लागि निश्चित ठाउँमा हार्मोनियम–तबला लगायत साधन दिनेछौँ । उनीहरूले एकआपसमा आफ्नो सुखदुःखका कुरा गर्ने वातावरण सहितको सामुुदायिक हल बनाउने योजनामा छौँ,’ उनले भनिन्, ‘सामुदायिक हल बनाउनका लागि हरेक वडालाई तीन लाखको दरले बजेट छुट्ट्याइएको छ ।’ महिलाका लागि ‘उपमेयर उद्यमशीलता’ नामक कार्यक्रम सञ्चालन गर्नुका साथै युवाका लागि ३ लाख बराबरको उद्यमी कर्जा समेत दिने गरेको उनी बताउँछिन्।

शिक्षा, युवा तथा खेलकुद

गत वर्ष शिक्षा, युवा तथा खेलकुद विकास शाखामा कुल दुई करोड ९३ लाख ७० हजार विनियोजन भएकामा हालसम्म एक करोड ५० लाख ७० हजार खर्च भएको छ । यो कुल विनियोजनको ५१.३६ प्रतिशत वित्तीय प्रगति हो । ससर्त अनुदानतर्फ कुल २२ करोड ७४ लाख ९८ हजार विनियोजन भएकामा १६ करोड ७१ लाख ३० हजार अर्थात् ७३.४६ प्रतिशत खर्च भएको छ, (प्रदेश सरकारले स्थानीय तह वा प्रदेश सरकारको कुनै योजना कार्यान्वयन गर्न संविधानको धारा २५१ को उपधारा (१) बमोजिम आयोगले तोकेको आधार बमोजिम स्थानीय तहलाई सशर्त अनुदान गर्ने व्यवस्था छ) ।

कोरोनाका कारण विद्यालय पूर्ण रूपमा खोल्न नपाएका कारण अपेक्षित बजेट खर्च नभएको नगरपालिकाले जनाएको छ ।

कोभिड– १९ का कारण विद्यालय सुचारु हुन नसकेको र प्रत्यक्ष सिकाई क्रियाकलाप सञ्चालन हुन नसकेको कारण अपेक्षित उपलब्धि हासिल गर्न चुनौती भएको अवस्थामा कार्ययोजना बनाई बाँकी कार्य गरिएको बाँस्तोलाले जानकारी दिइन् ।

विद्यालय

गत वर्षको बजेट अन्तर्गत यस नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयको नियमित प्रत्यक्ष सञ्चालनका निम्ति स्वास्थ्य सुरक्षाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री (सर्जिकल मास्क, स्यानिटाईजर, साबुन आदि) तथा विद्यालयको मुख्य रूपमा प्रयोग हुने संरचनालाई डिसइन्फेक्टेन्ट (निस्संक्रामक) गरिएको छ । लकडाउनपछि वैकल्पिक सिकाइ प्रणालीबाट शैक्षिक सत्र सम्पन्न भई नयाँ सत्र सञ्चालनमा आएको छ । साथै, नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ भन्दामाथिका छात्राका लागि गुणस्तरीय स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ ।

स्वास्थ्य तथा आयुर्वेद

स्वास्थ्य तथा आयुर्वेद सेवातर्फ कोभिड– १९ को नियन्त्रणलाई प्राथमिकतामा राखी यसको संक्रमणलाई न्यून गर्न वडावडामा पिसिआर तथा एन्टिजेन टेस्ट गरिएको र संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन, होम आइसोलेसन तथा गम्भीर बिरामीलाई आवश्यकता बमोजिम चाँगुनारायण अस्पताल तथा अन्य अस्पतालमा भर्ना र उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

यस नगरपालिकाबाट आयुर्वेद शाखातर्फ विनियोजित कुल विनियोजित १० लाख ८५ हजारमध्ये ७ लाख ९० हजार खर्च भएको छ । यसमा अत्यावश्यक औषधि खरिद तथा आयुर्वेदका अन्य कार्यक्रम सम्पन्न भएका छन्।

चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नतिका लागि विनियोजित ५० लाखमध्ये हालसम्म ४७ लाख २९ हजार खर्च भएको छ । १० लाख बराबरको मेडिकल औजार खरिद गरिएको छ । महिला स्वास्थ्य स्वयं सेविकाको पुरस्कार तथा सम्मानका लागि विनियोजित २० लाखमध्ये ३ लाख २९ हजार खर्च भएको छ ।

महिला तथा बालबालिका

गत वर्ष महिला विकास कार्यक्रमअन्तर्गत लैंगिकहिंसा विरुद्ध अभिमुखीकरण, समुदायमा आधारित मनोसामाजिक परामर्श सेवासम्बन्धी तालिम, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चार सय जनाको सहभागितामा नगरस्तरीय लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन, नेतृत्व विकास तालिम सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

बालबालिका संरक्षण तथा विकास कार्यक्रम अन्तर्गत किशोरकिशोरीलाई लागुऔषध दुव्र्यसन तथा अन्य नकारात्मक विकृत्ति विरुद्ध चेतनामूलक कार्यक्रम नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागी गराई सम्पन्न गरिएको नगरपालिको भनाइ छ।

गरिब परिवारका ७५ बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । बालमैत्री स्थानीय शासन लागू गर्न नीतिगत अवलम्बन तथा घोषणासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी कार्ययोजना तयार गरिएको छ । नगरप्रमुखको अध्यक्षतामा बालमैत्री स्थानीय शासन नगर समिति गठन समेत गरिएको छ ।

प्रदेश सरकारबाट प्राप्त तथा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमबाट अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने सहायक सामग्रीका लागि आवेदन माग गरी विवरण संकलन गर्ने कार्य भइसकेको छ । सोही बमोजिम सहायता सामग्री वितरण भइरहेको नगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विनियोजित कुल एक करोड ६० लाख ३० हजार बजेटमध्ये विभिन्न कार्यक्रम सञ्चालित छन्।

अहिले बालबाललिकाका लागि प्रत्येक वडामा बाल समूह तथा समिति गठन भइरहेको नगरपालिकाका उपमेयर बाँस्तोलाले बताइन् । ‘अहिले कुन वडामा कति बालबालिका छन् भन्ने अध्ययन कार्य भइरहेको छ । आगामी फागुन महिनासम्ममा बालमैत्री शासन घोषणा गर्ने तयारीमा छौँ,’ उनले भनिन्, ‘कोही बालबालिका हिंसामा नपरून्, मजदुरका रूपमा उनीहरूलाई प्रयोग गर्न नपाउने, उनीहरूले कुनै पनि प्रकारको शोषण भोग्न नपरोस् भनेर उक्त योजना कार्यान्वयनमा ल्याएका हौँ ।’

सामाजिक सुरक्षा

गत वर्ष दलित लक्षित कार्यक्रमतर्फ २० लाख विनियोजन भएकामा ८ लाख खर्च भएको छ । नगरपालिकाका सबै वडामा नागरिक वडा मञ्च गठन भइसकेको छ ।

चालू आर्थिक वर्षमा सामाजिक सुरक्षामा १२ करोड ६० लाख विनियोजन भएकामा तीन हजार ६ सय ७७ जनालाई हालसम्म पहिलो र दोस्रो किस्ताबापतको रकम भुक्तानी भइसकेको छ । अन्तिम किस्ता भुक्तानीको चरणमा रहेको छ ।

यस नगरपालिकामा ४ हजार ४ सय २६ जनाले सामाजिक सुरक्षा भत्ता पाउँछन् । जसमध्ये दुई हजार चार सय २२ ज्येष्ठ नागरिक, ८१ ज्येष्ठ दलित, ६ सय ८८ ज्येष्ठ नागरिक एकल महिला, सात सय ९७ विधवा, एक सय ५३ पूर्ण अपांग (क वर्ग), एक सय ६३ आंशिक अपांग (ख वर्ग), एक सय २२ दलित (बालपोषण) छन् । यसमा पहिलो र दोस्रो किस्ता नलिएका तथा अघिल्लो वर्ष समेत भुक्तानी नलिएका करिब दुई सयजनाको विवरण वडा कार्यालयमा यकिन गर्नका लागि पठाइएको नगरपालिकाले जनाएको छ ।

दर्ता

‘चाँगुनारायण नगरपालिका आर्थिक वर्ष २०७८÷७९ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका’ मा उल्लेख  भए अनुसार, हालसम्म जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेदको अभिलेखलाई विद्युतीय प्रणालीमा आबद्ध गरिएको छ । चालू आर्थिक वर्षमा चाँगुनारायण नगरपालिकामा कुल २ हजार ४ सय ४९ घटना दर्ता भएका छन् । जसमध्ये जन्मदर्ता एक हजार पाँच सय १६, मृत्यु दर्ता तीन सय ९७, सम्बन्धविच्छेद १४, विवाहदर्ता चार सय २८ र बसाइसराइँ तीन सय ७५ दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा कुल ४६ वटा निवेदन दर्ता भए (अघिल्लो आ.व.बाट २५ सरी आएको समेत), जसमा सुनुवाइका क्रममा २५ वटा छन्  । एक निवेदन कारबाहीका लागि अदालत पठाइएको छ । १० वटा तामेलीमा छन् । पाँचवटामा फछ्र्यौट तथा मिलापत्र भएको थियो ।

परिचयपत्र

हालसम्म चाँगुनारायण नगरपालिकाबाट एक सय ९३ वटा अपांगता परिचयपत्र वितरण भइसकेको छ । ०७७÷७८ मा मात्रै कुल ९२ वटा अपांगता परिचयपत्र वितरण गरिएको छ । जसमध्ये कुल ४९ महिला र ४३ पुरुष छन् । त्यस्तै, ‘क’ वर्गको परिचय पत्र प्राप्त गर्ने ७१, ख वर्गको ८४, ग वर्गको २८ र घ वर्गको १० रहेका छन् ।

२०७८ जेठ मसान्तसम्म अपांगता परिचयपत्र पाउने एक सय ९३ जनालाई चार श्रेणीमा विभाजन गरिएको छ । जसअन्तर्गत ‘क’ वर्गले रातो कार्ड पाउँछन् । पूर्ण रुपमा अशक्त तथा अपांगता भएका व्यक्तिलाई ‘क’ वर्गमा राखिएको छ । उनीहरूले नगरपालिकाबाट मानिस चार हजार रुपैयाँ भत्ता पाउने व्यवस्था गरिएको नगरपालिकाको महिला बालबालिका शाखाकी अधिकृत आशा माझीले जानकारी दिइन् । यस्तै, ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिलाई नीलो कार्ड दिइन्छ । उनीहरूलाई अतिअशक्त वर्गमा राखी मासिक २ हजार ६ सय रुपैयाँ भत्ता वितरण गरिएको छ । ग वर्गमा पर्ने व्यक्तिले पहेँलो कार्ड पाउँछन् । उनीहरूलाई मध्यम अपाङ्गता वर्गमा राखिएको छ । घ वर्गमा पर्ने व्यक्तिलाई सामान्य अपांगताको वर्गमा राखिएको छ, उनीहरूले सेतो कार्ड पाउने माझीले बताइन् । ‘क र ख वर्गमा परेका व्यक्तिले भत्ता पाउँछन् भने ग र घ वर्गमा पर्नेले भत्ता नपाउने तर लोकसेवाको अपांगता कोटामा जागिर खान मिल्छ,’ उनले भनिन्, ‘क वर्गको मान्छे उपचारपछि ठीक भएमा ख, ग वा घ वर्गमा पर्न सक्छन् । तर त्यस्तो बिरलै हुन्छ । बरु ग, घ वर्गमा पर्नेहरू स्वास्थ्य अझै बिग्रेर क, ख वर्गका आएका छन् ।’

हस्तान्तरित कार्यक्रम

प्रदेश सरकारबाट गत वर्ष हस्तान्तरित कार्यक्रमको कुल २ करोड ९७ लाखमध्ये हालसम्म ५३ लाख ४९ हजार खर्च भएको छ । यो कुल बजेटको १७.९९ प्रतिशत खर्च हो । यसमा अपांगता भएका व्यक्ति सहयोग कार्यक्रम, न्यूनतम सेवा मापदण्ड, बालविकास कक्षा शिक्षकलाई प्रोत्साहन, महिला स्वास्थ्य स्वयंसेवक सञ्चार खर्च कार्यक्रम सम्पन्न भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा १५ लाख ६५ हजारमध्ये कुल ११ लाख ६९ हजार खर्च भएको छ ।

संघीय सरकारतर्फ विनियोजित ४ करोड ४७ लाख ७९ हजारमध्ये हालसम्म ३ करोड ९६ लाख ९३ हजार खर्च भएको छ । यो बजेट आधारभूत तथा आकस्मिक सेवाका लागि औषधि, स्वास्थ्य सुरक्षा सामग्री खरिद तथा औषधि लगायत सामग्रीको ढुवानी तथा रिप्याकिङ, वितरण, स्थानीय तहका स्वास्थ्य चौकी र अस्पतालमा कार्यरत कर्मचारीको तलब, महँगी भत्ता, स्थानीय भत्ता, पोसाक लगायत प्रशासनिक खर्चमा समेत खर्च गरिएको नगरपालिकाको भनाइ छ ।

कृषि

कृषि विकासतर्फ यस नगरपालिकाबाट कुल २ करोड २ लाख विनियोजन भएकामा हालसम्म १७ लाख ८४ हजार खर्च भएको छ । कृषि औजार वितरणका लागि विनियोजित कुल दश लाख बजेटको कार्यक्रममध्ये ठेक्का आह्वान भई २९ जनालाई कृषक औजार वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा उन्नत तरकारी कीट वितरण, धान मकै गहुँको बीउ तथा मूल बीउ वितरण सम्पन्न भएको छ ।

सडक

यस्तै, यस आर्थिक वर्षमा मा कुल ३.५ किमी कालोपत्रे बाटो निर्माण भएको छ । ८ किलो मिटर सडकहरू ग्राभेल भएका छन् । २ किलो मिटर बाटो ढलान भएको छ । १ वटा स्वास्थ्य चौकी भवन निर्माण र १ वटा सामुदायिक भवन निर्माण भएका छन् ।

सिफारिसमा २९ योजना

गत वर्ष कार्यपालिका सदस्यको सिफारिसमा सञ्चालित कुल २९ योजनामा १० योजना सम्पन्न भएको छ ।

विपद् व्यवस्थापन

गत वर्ष विपद् व्यवस्थापनमा विनियोजित १ करोड १५ लाखमध्ये हालसम्म ३३ लाख ९४ हजार खर्च भएको छ ।

सूचना प्रविधि

गत वर्ष सूचना प्रविधिमा विनियोजित १ करोड ६२ लाखमध्ये हालसम्म ५२.१९ प्रतिशत खर्च भएको छ । यसमा १ करोड ८ लाख बजेट कार्यक्रमको खरिद प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष २०७७÷७८ मा रोजगार सेवा केन्द्रमा सशर्त अनुदानबापत एक करोड एक लाख ५६ हजार विनियोजन भएको थियो । यसमा असार ६ सम्म २७ लाख ९१ हजार ८ सय खर्च भयो, यो कुल विनियोजित बजेटको २७ प्रतिशत हो।

बेरोजगार सूचीकरण

आार्थिक वर्ष २०७७÷७८ मा न्यूनतम रोजगारीमा संलग्न हुन बेरोजगार दर्ताका लागि ९ वटै वडा कार्यालयमार्फत प्राप्त भएका १ हजार १५ बेरोजगार व्यक्ति सूचीकरण गरिएको छ । उनीहरुको प्राथमिकीकरणको कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

(नोट : काठमाडौंप्रेसले स्थानीय सरकारको गत वर्षको कार्य प्रगतिलाई नियमित पस्कँदै छ । विकास र समृद्धिको आधार स्थानीय सरकार भएकाले हामीले स्थानीय सरकारका गतिविधिलाई प्रस्तुत गर्दै जानेछौँ । त्यसमध्येको हाम्रो अर्को शृंखला जनप्रतिनिधि महिला पनि सञ्चालित छ । हाम्रो प्रयासमा सबै स्थानीय तहबाट सहयोग हुने अपेक्षा गरिएको छ । – प्रधानसम्पादक ।)  

 

प्रकाशित मिति: १०:२४ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्