Kathmandu Press

‘चटपटे टाइम’ : चिकेन, पनिरदेखि च्याउसम्मका १२ आइटम

पछिल्ला दिनमा चटपटे र पानीपुरी फुटपाथमा मात्र होइन, पसलमै पाइन थालेका छन्। तिनैमध्येको हो, ‘चटपटे टाइम’। बालुवाटारस्थित नेपाल राष्‍ट्र बैंकको अगाडिपट्टि खुलेको यो स्टेसनमा १२ थरिका चटपटे पाइन्छन्।
‘चटपटे टाइम’ : चिकेन, पनिरदेखि च्याउसम्मका १२ आइटम

काठमाडौं, भदौ ३०  : ‘चटपटे’ नाम सुन्‍नासाथ अमिलो, पिरो र रंग घोलेर रातो बनाइएको परिकारको आकृति आँखामा आउँछ र मुख रसाउँछ। चटपटे मन नपर्ने व्यक्ति पनि कमै होलान्।

अमिलो र पिरोको यो मिश्रित परिकार बालबालिकादेखि ज्येष्‍ठ नागरिकसम्मको रोजाइमा पर्छ। घरमै बनाउने चलन त छँदैछ, सडक पेटी र सहरका ‘हाइराइज बिल्डिङ’ अघिल्तिर पनि चटपटे बिक्री गर्ने व्यक्ति देखापर्छन्।

अहिले भने चटपटे र पानीपुरी बिक्री गर्ने पसल नै खुल्न थालेका छन्। तिनैमध्येको हो, ‘चटपटे टाइम’। बालुवाटारस्थित नेपाल राष्‍ट्र बैंकको अगाडिपट्टि खुलेको यो चटपटे स्टेसनमा १२ थरिका चटपटे पाइन्छन्। त्यसैले यो स्टेसनमा चटपटेको स्वाद लिन युवा-युवती झुम्मिएको देखिन्छ।

भक्तपुर राधेराधेका सदन राजथलाले बालुवाटारमा ‘चटपटे टाइम’ एक वर्षअघि सञ्‍चालनमा ल्याएका हुन्। उनले लामो समय बेकरीसम्बन्धी काम गरेका थिए। ‘त्यसैले कस्तो खानेकुराले स्वास्थ्यमा असर पुर्‍याउँछ भन्‍ने राम्रो ज्ञान छ,’ राजथला भन्छन्, ‘चटपटे स्टेसन खोल्न योजना बनाएर कार्यान्वयनमा ल्याउन ४-५ महिना लाग्यो।’

उनका दुई छोरी फुटपाथमा चटपटे खान दौडिन्थे। पहिलो त, उनीहरूलाई सवारी साधनले ठक्कर दिने जोखिम थियो। दोस्रो- अखाद्य पदार्थ मिलाएर बनाइने चटपटेका कारण फुड पोइजन हुने डर पनि उत्तिकै थियो। फुटपाथमा बिक्रीमा राखिने चटपटे खाएर धेरैपटक उनीहरूको पेट गडबड भइसकेको थियो।

त्यसैले राजथलाले स्वास्थ्यलाई हानी नपुर्‍याउने गरी कसरी चटपटे बनाउन सकिन्छ भनेर उनले गहन अध्ययन गरे। त्यही अध्ययनले जुरायो, १२ थरि चटपटे आइटम। ‘जथाभावी बनाएको चटपटे खाँदा धेरैको परिवारले स्वास्थ्य समस्या झेल्नुपरेको हुनसक्छ,’ उनी भन्छन्, ‘त्यसकारण स्वास्थ्यमा असर नपुर्‍याउने गरी चटपट खान सकिन्छ भन्‍ने सकारात्मक सन्देश प्रवाह गर्न चटपटे टाइम खोलेको हुँ।’

गत मंगलबार साँझ दुई युवा-युवतीका लागि चिकेन चटपटे बनाउँदै थिइन्, सम्झना पराजुली। ती युवा-युवती ठमेलबाट चटपटे खानकै लागि बालुवाटार पुगेका थिए। र, चिकेन चटपटेको स्वादमा रमाउँदै उनीहरू बाहिरिए।

सम्झनाले फ्रिजमाथि राखिएका विभिन्‍न तरकारी काठको बोर्डमा राखिन्। त्यसमाथि उनले चिकेन छोइला र चटपट मसला राखेर मिक्स्चरमा चटपटे घोलिन्। फुटपाथमा बिक्री गर्ने चटपटे कागज र प्लास्टिकको टोकरीमा दिने चलन छ। ‘चटपटे टाइम’मा कागजबाट बनाइएको कपमा राखेर दिइन्छ। र, काठको चम्चा दिइन्छ।

चटपटे खान प्रयोग गरिने कप चीनबाट खरिद गर्ने गरिएको सदन बताउँछन्। ‘सादा कागजमा चटपटे सर्भ गर्दा छोटो समयमै कागज गल्छ र उपभोक्ताले चटपटे मात्र नभई कागज पनि खान पुग्छन्, जसका कारण स्वास्थ्यमा असर पुग्छ,’ उनी भन्छन्, ‘त्यसैले चिसो, तातो राख्दा नगल्ने कागजबाट बनाइएको कप खरिद गर्ने गरेका छौँ।’ उनका अनुसार एउटा कप र काठको चम्चा प्रतिगोटा १५ देखि १८ रुपैयाँ पर्छ।

‘चटपटे टाइम’को मेनुमा ८५ देखि एक सय ४० रुपैयाँसम्म पर्ने १२ थरिका चटपटेको सूची छ। ग्राहकको स्वाद र मागअनुसार चटपटेका परिकार बनाइने गरेको सञ्‍चालक राजथला बताउँछन्।

धेरैजसो चटपटेमा तरकारी राखिन्छ। तर, मासुका परिकार राखेर चटपटे बनाउन आफूहरूले नै सुरु गरेको सम्झना बताउँछिन्। ‘१२ थरिका परिकार राखेर चटपटे बनाइन्छ, भेजिटेबल मात्र राखेर चटपट खानेका लागि केही नयाँ स्वाद पस्किने गरेका छौँ,’ उनी भन्छिन्, ‘फरक स्वादसँगै स्वास्थ्यलाई ध्यानमा राखेर चटपटे बनाउँछौँ, त्यसैले ग्राहकले पनि रुचाउनुभएको छ।’

‘चटपटे टाइम’ अर्गानिक खानेकुरा ग्राहकलाई पस्किने गरेको छ। ‘हामीले बनाउने चटपटेमा प्रयोग हुने सामग्री सफा र हाइजेनिक हुन्छन्,’ उनी भन्छिन्।

सुरुका दिनमा ४-५ जना मात्र ग्राहक आए। प्रचार बढ्दै जाँदा ग्राहक संख्या बढेको उनी बताउँछिन्। ‘अहिले दैनिक ४०-४५ जना ग्राहक आउँछन्,’ उनी भन्छिन, ‘सुरुका दिनमा आएका ग्राहक पटक-पटक दोहोरिएर आइरहेका छन्।’ ग्राहक दोहोरिएर आउनुको अर्थ चटपटेको स्वाद मन पराएको रूपमा उनीहरूले लिएका छन्। अधिकांश ग्राहक आ-आफ्ना सवारी साधनमा आउँछन्।

यहाँ चटपटे खान आउने एक ग्राहक सरकारी कर्मचारी थिए, जो सिंहदरबारमा कार्यरत छन्। उनले चटपटेको नयाँ स्वादबारे अरूलाई जानकारी दिन टिकटक बनाएर प्रचार गरिदिए। ‘टिकटकमा देखेपछि ग्राहक टाढा-टाढाबाट आउन थालेका हुन्,’ सम्झना भन्छिन्।

‘चटपटे टाइम’ नौ लाख रुपैयाँ लगानीमा सुरु भएको हो। ‘एउटा मात्र कोठा भए पनि महँगो लोकेसन भएकाले मासिक २० हजार रुपैयाँ भाडा तिर्नुपर्छ,’ सम्झना भन्छिन्, ‘दैनिक ३-४ हजार रुपैयाँको व्यापार हुन्छ।’

कक्षा-१२ अध्ययनरत उनीहरूकी जेठी छोरी अन्सुरानी राजथलाले अर्गानिक चटपटे पसल खोल्ने योजना प्रस्ताव गरेकी हुन्। अर्थात्, ‘चटपटे टाइम’को अवधारणा उनले नै अगाडि सारेकी हुन्। सम्झना भन्छिन्, ‘धेरैजसो समय पसलमा छोरी नै बस्छिन्।’ अहिले भने कक्षा-१२ को परीक्षामा व्यस्त रहेकाले उनले समय दिन सकेकी छैनन्।

यस्तो छ ‘चटपटे टाइम’को मेनु

(१) चटपटे अल टाइम- ८५ रुपैयाँ
(२) चिकेन छोइला चटपटे- एक सय ४० रुपैयाँ
(३) चिकेन चटपटे- एक सय ३० रुपैयाँ
(४) मसरुम छोइला चटपटे- एक सय ४० रुपैयाँ
(५) मिठो स्विट चटपटे- एक सय ३० रुपैयाँ
(६) पनिर चटपटे- एक सय ३० रुपैयाँ
(७) रोयल चटपटे- एक सय ३० रुपैयाँ
(८) भेज मिक्स चटपटे- एक सय १५ रुपैयाँ
(९) तामा चटपटे- एकसय २० रुपैयाँ
(१०) स्विट कोन चटपटे- एक सय २० रुपैयाँ
(११) स्पाइसी चटपटे- एकसय १० रुपैयाँ
(१२) आलु फ्राई बेल्स चटपटे- एकसय २० रुपैयाँ

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्