विदेशी धागो, स्वदेशी ब्रान्ड, नेपाली पस्मिना संसारकै नम्बर वान (भिडियाेसहित)

तस्बिर : सुजल बज्राचार्य/काठमाडौं प्रेस

काठमाडौं, भदौ २७ : हिमाली भेगमा पाइने ‘च्याङ्ग्रा’ मासुका लागि मात्र प्रयोग हुने धेरैको आकलन हुन सक्छ । त्यसै पनि दशैँ नजिकिँदै गर्दा हिमाली भेगबाट च्याङ्ग्रा संकलन गरेर सहरी इलाकातिर ल्याउने क्रम सुरु भएको छ । तर, च्याङ्ग्राको भुवाबाट मूल्यवान पस्मिना पनि बन्छ र विदेश निर्यात हुन्छ । खेर जाने च्याङग्राको ‘रौं’ कति मूल्यवान् छ भन्ने धेरैलाई पत्तो छैन ।

‘च्याङ्ग्रा पाल्ने किसानलाई त थाहा छैन उहाँहरूले कति मूल्यवान् वस्तु पालिरहनुभएको छ,’ आशिर्वाद पस्मिना उद्योगका सञ्चालक गणेश श्रेष्ठ भन्छन्, ‘च्याङ्ग्राको भुवाबाट संसारभर रुचाइएको पस्मिनाका कपडा बन्छन् ।’

यसरी बन्छन् पस्मिनाका कपडा

काठमाडौं सतुुंगलस्थित बौथली चोकमा करिब चार रोपनीमा फैलिएको छ, आशिर्वाद  पस्मिना उद्योग । गत सोमबार उद्योगमा पुग्दा चलिरहेको मेसिनमा व्यस्त थिए, कर्मचारी । एकअर्कोले बोलेको सुन्न सकिने अवस्थासमेत थिएन । मानव आवाजले मेसिनबाट ध्वनित आवाजलाई पराजित गर्न सकिरहेको थिएन ।

कोही तयार भएका कपडामा रंग भर्दै थिए त कोही तिनमा डिजाइन कोर्दै थिए । कोही  कपडाको फिनिसिङमा व्यस्त थिए । काममा तल्लिन कर्मचारीहरूको दैनिकी बिहान नौ बजेदेखि सुरु हुन्छ र साँझ पाँच बजे मात्र सकिन्छ । गेटभित्र छिरेपछि उनीहरू पस्मिनाका कपडा बनाउन व्यस्त रहन्छन् । दिउँसो एक घण्टा खाजाका लागि मात्र ‘ब्रेक’ पाउँछन् ।

‘पस्मिना च्याङ्ग्राको रौंभन्दा पनि भित्री भुवाबाट बनाइन्छ, जसका लागि पहिले च्याङ्ग्राको भुवा निकालिन्छ ।’ त्यसपछि संकलित भुवा ‘रिफाइन प्रोसेस’ अर्थात् प्रशोधन गरिन्छ । त्यसमा पनि च्याङ्ग्राको छालामा हुने मसिना रौं उखेलिन्छ । नेपालमा यसप्रकारको पस्मिनाको ‘रिफाइन सेन्टर’ खासै छैन । केही समयअघि मात्र ५० जना पस्मिना उद्योगी मिलेर मनाङ र मुस्ताङको बीचमा अवस्थित चराङमा भुवा संकलन केन्द्र स्थापना गरेका छन् । रिफाइनको लागि नेपाल फाइबर रिफाइन सेन्टरलाई भुुवा जिम्मा लगाइन्छ ।

कसरी हुन्छ च्याङ्ग्राको रौंबाट पस्मिना भुवाको प्रशोधन ?

प्रारम्भिक चरणमा च्याङ्ग्राको छालाबाट निकालिएको भुवालाई संकलन केन्द्रमा ल्याई काँडा, छेस्का, बालुवा, ढुंगा आदि कणहरू छानिन्छ । यस्तै, भुवा हुने ‘कोर्सा’ अर्थात च्याङ्ग्राका लामा लामा भुत्ला पनि छान्नुपर्छ । सबै भुवालाई भाइब्रेट मेसिनमा राखेर छान्ने काम हुन्छ । त्यसपछि संकलित भुवालाई बोरामा हालेर उपकरणमा राखी च्यापिन्छ ।

त्यसपछि भुवाको वजन नापिन्छ । प्रारम्भिक चरणमा प्रशोधन गरिएका भुवा निश्चित टन पुगेसँगै त्यसलाई काठमाडौंमा प्रशोधनको लागि पठाउने गरिन्छ ।

प्रशोधनपछि मात्र भुवाबाट पस्मिना धागो बनाइन्छ । त्यसका लागि धागो कारखानामा ‘डिक्रिजिङ’ र ‘डिहेडिङ’ अर्थात् छान्ने–केलाउने, धुने–पखाल्ने र टकटक्याउने काम क्रमशः गरिन्छ । र, धागो बनाई त्यसमा विभिन्न रंगमा रंग्याइन्छ । त्यसपछि मात्र पस्मिना धागो बजारमा बिक्री गर्न योग्य हुन्छ । नेपाल फाइबर प्रोसेसिङ प्रालीले च्याङ्ग्राको भुवाको प्रशोधन गर्ने जिम्मा लिएको छ ।

‘खासमा नेपालमा पस्मिनाका सामान बने पनि हामीले फाइबर र धागो भने अन्य देशबाट ल्याउनुपरिरहेको छ,’ पस्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछाने भन्छन् ।

विदेशी र नेपाली पस्मिनाको अनुपात ९:१

नेपालमै पस्मिना धागो उत्पादन गर्ने प्रचुर सम्भावना छ । तर, त्यो पनि विदेशबाटै आयात भइरहेको छ । गत वर्षमा मात्र एक सय ९५ टन पस्मिना धागो र फाइबर आयात भएको लामिछाने बताउँछन् । पस्मिना धागो र फाइबर मंगोलिया, न्युजिल्यान्ड र चीनबाट आयात गर्ने गरिएको छ ।

लामिछानेका अनुसार नेपालमै एक सय ९५ टन पस्मिनाका धागो उत्पादनका लागि करिब चार सय टन भुवा आवश्यक हुन्छ । अहिले संकलन भइरहेको भुवाबाट त्यो माग धान्न सकिने अवस्था छैन । च्याङ्ग्रा पालन मात्र नभई यसमा आवश्यक प्रविधि तथा सुविधाका कारण पनि तत्काललाई नेपाली भुवाबाट माग धान्ने अवस्था नरहेको उनको भनाइ छ ।

हेर्नुहाेस् भिडियाे

आशिर्वाद पस्मिना उद्योगका सञ्चालक श्रेष्ठ पनि उनको भनाइमा सहमत छन् । भन्छन्, ‘नेपालमा ९०ः१० को अनुपातमा विदेशी र नेपाली पस्मिनाका सामान बन्छन् ।’

लामिछानेका अनुसार गर्मीयाम सुरु भएसँगै भुवा छेक्ने (च्याङ्ग्राको छालाबाट भुवा निकाल्ने) काम सुरु हुन्छ । संकलन केन्द्र स्थापना भएपछि करिब दुई टन भुवा संकलन भएको उनी बताउँछन् ।

नेपालमा उत्पादित पस्मिनाका सामानमा ‘मेड इन नेपाल’को ट्याग लागे पनि धागो र फाइबरका लागि अन्य देशमा आश्रित हुनुपर्ने बाध्यता रहेको उद्योगीहरू बताउँछन् । जब कि, पस्मिनाको गुणस्तरमा नेपाली उत्पादन विश्वमै पहिलो नम्बरमा पर्छन् ।

भुवा संकलनदेखि धागो, डिजाइन, रंग रोगन र कपडासम्म

अहिले नेपाली किसानले संकलन गर्ने भुवा खस्रो हुन्छ । त्यस्तो भुवा पस्मिनाका लागि उपयोग हुँदैन । त्यसैले पहिले त किसानलाई च्याङ्ग्राको छालाबाट भित्री भुवा निकाल्न सिकाउनै बाँकी रहेको उद्योगीहरू बताउँछन् । च्याङ्ग्राका छालाबाट मसिनो भुवा निकाल्न नजानेसम्म पस्मिनाका लागि धागो बनाउन सहज नहुने उनीहरूको भनाइ छ ।

त्यसपछि संकलित भुवाको प्रशोधन हुन्छ । ऊनजस्तो डल्ला बनेका भुवालाई ‘ह्यान्ड  लुम’ अर्थात् हाते चर्खामार्फत धागोमा परिणत गरिन्छ । आजकल प्रविधिको सहयोगले मेसिनमै पनि धागोका लट्टा बनाइन थालेको छ । तथापि, हाते चर्खाबाट धागो बनाउन समय केही बढी लाग्छ । तर, त्यो गुणस्तरमा एक नम्बर हुन्छ ।

आशिर्वाद पस्मिना उद्योगमै पनि एक दशकदेखि ४८ वर्षीया इन्दिरा पाण्डेले चर्खामार्फत पस्मिना धागो बनाउँदै आएकी छन् । घ्यार्र–घ्यार्र आउने चर्खाको आवाजसँगै भुवाका डल्लालाई धागोमा परिणत गर्न उनी तल्लिन रहन्छिन् । भुवाबाट विस्तारै तन्किएर पातला लाम्चा आकारमा आउने धागो घरीघरी चुँटिन्छ ।

अनि चुँटिएको धागोलाई पुनः जोड्दै उनी चर्खा चलाइरहन्छिन् । ‘पस्मिनाका भुवा धेरै चुँटिन्छन्, त्यसैले यो काममा धैर्य अत्यावश्यक हुन्छ,’ पस्मिना धागो बनाउन करिब ३० वर्षको अनुुभव बटुुलेकी पाण्डे भन्छिन् ।

उनीजस्तै दुई हजार ३० जना महिलाले यसरी नै भुवाबाट धागो बनाउँछन् । प्रतिकिलो पाँच हजारको दरले पारिश्रमिक तोकिएको छ । घरमै गर्न सकिने भएकाले घरायसी कामकाज सकाएर महिनामा तीनदेखि चार किलोसम्म धागो हरेक महिलाले धागो तयार पार्छन् । इन्दिरालाई भने उद्योगले कार्यालयमै बोलाउने गरेको छ । कारण– अध्ययन–अनुसन्धानमा आउने विद्यार्थी र मिडियाकर्मीका लागि एकजना धागो बनाउने कामदार उद्योगले राख्नुपरेको हो ।

चर्खाबाट तयार भएको धागोलाई मेसिनमा राखी अझ सुन्दर र मजबुत गराइन्छ । सँगै कस्तो प्रकारको कपडा बनाउने भन्ने योजनामा पहिले ग्राफ पेपरमा डिजाइन गरिन्छ । ३२ वर्षदेखि डिजाइन गर्दै आएका शंकर गौतमले पहिले ग्राफमा चित्र कोरेर सोहीअनुसार ‘ड्राफ्टिङ’ गरिने जानकारी दिए । प्रत्येक धागोका रेसालाई डिजाइनअनुसार क्रमबद्ध रूपमा मेसिनमा मिलाएर राखिने प्रक्रियालाई ‘ड्राफ्टिङ’ भनिन्छ ।

‘ड्राफट’पछि धागोलाई प्रोडक्सनमा पठाइन्छ । धागोलाई मेसिनमा आवश्यक आकारसहित सेट गरेर कपडाको स्वरूपमा ल्याइन्छ । ती कपडालाई अब आवश्यकताअनुसार ‘डाइङ’ अर्थात् रंगरोगन गरिन्छ ।

आशिर्वाद उद्योगले १६ वटा प्रमुख रंग चलाउँछ । ती रंगबाटै हजारौं रंग बनाउन मिल्ने सञ्चालक श्रेष्ठ बताउँछन् । यद्यपि, संयोजनको काम सहज छैन । रंग संयोजनका लागि ल्याबमा कार्यरत डाइङ मास्टर गोविन्द श्रेष्ठले कफी कलरको डेमो देखाए ।

ब्राउन, पहेँलो र रातो रंगको समिश्रणबाट कफी कलर आउने रहेछ । एक सय डिग्री उमालिएको पानीमा निश्चित परिमाणमा रंगहरूको नापतौल गरी मिसाउनुपर्ने श्रेष्ठ बताउँछन् । त्यसपछि उक्त रंगको ‘सोलुसन’लाई पहिले जाँच गरिन्छ अनि मात्र रंगरोगनका लागि पास हुन्छ । कुनै औपचारिक शिक्षा नभई कामकै आधारमा उनले हालसम्म ल्याबको जिम्मेवारी १५ वर्षदेखि कुशलतापूर्वक सम्हाल्दै आएका छन् । भन्छन्, ‘सरले पहिले हामीलाई तालिम दिनुभयो, त्यसपछि ल्याबमा काम गर्न थालेँ । अहिलेसम्म गुनासो आएको छैन ।’

ल्याबका सानो भाँडामा राखिने रंगको मिश्रण ल्याबबाहिरको ठूलो डेक्चीमा राखेर घोलिन्छ अनि तयारी कपडालाई डुुबाइन्छ । सञ्चालक श्रेष्ठका अनुसार कलर गर्न प्रयोग हुने पानी मिनरल वाटरजतिकै शुद्ध हुनुपर्छ । रंग प्रयोगपछि निकालिएको पानीमा रंग आउनु नहुने उनी बताउँछन् । कपडामा रंग बसिसक्दा पानी सफा र क्लियर हुन्छ ।

त्यसपछि कपडालाई वासिङ मेसिनमा धुने र सुकाउने गरिन्छ । त्यसका लागि पनि विभिन्न चरण छन् । रंगरोगन र कपडा धुवाइका लागि दैनिक १० हजार लिटर पानी खर्च हुने श्रेष्ठ बताउँछन् ।

यसरी सुकेका कपडालाई फिनिसिङ सेक्सनमा जिम्मा लगाइन्छ । कपडाका कतै धागो छुटेका छन् वा ‘ड्यामेज’ भएको छ कि भनेर फिनिसिङ सेक्सनमा जाँच गरिन्छ । फिनिसिङ सेक्सनका श्याम केसीका अनुसार कपडाअनुसार जाँच गर्न समय लिइन्छ । ब्ल्यांकेट, स्विटर, ज्याकेटका लागि घण्टौँ लाग्न सक्छ । स्काफ र पछ्यौरी भने छोटो समयमै फिनिसिङ हुन्छन् । फिनिसिङ सेक्सनतर्फ लिङ्किङ, आइरनिङ र प्याकिङको काम हुन्छ ।

सानो लगानीबाट सुरु भएको पस्मिना उद्योग

२०५६ सालमा उनले २५ हजारको लगानीमा गणेश श्रेष्ठले आशिर्वाद पस्मिना उद्योग सुरु गरेका थिए । २५ हजारको लगानीमा उनले चाबहिलमा एउटा फ्ल्याट भाडामा लिएर पहिले ‘डाइङ’बाट पस्मिना उद्योगमा कदम बढाए । आफैँले सुरु गर्नुअघि केही वर्ष भने उनले आफन्तको उद्योगमा पस्मिनासम्बन्धी काम गरेका थिए ।

‘मैले छिटै काम सिकेँ र पछि आफैँ केही गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको हुँ,’ उनी भन्छन्, ‘०५६ सालताका पस्मिनाको डिमान्ड पनि राम्रै थियो । अर्डरमा आएका सामानका कलर गर्दै विस्तारै उद्योग स्थापनामा लागेँ ।’

साल ०५९–६० मा पस्मिनाको मागमा केही गिरावट उनी सम्झिन्छन् । ०६० सालमा विस्तारै फेरि माग बढ्न थाल्यो । यसरी २५ हजारबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक करोडौँको कारोबार गर्छ ।

तथापि, दुुई वर्षयता फैलिएको कोरोना महामारीका कारण एकातिर पस्मिना धागोको भाउ बढेको छ भने अर्कोतर्फ उपभोक्ताबाट पहिलेजस्तो माग पनि आएको छैन । सोही कारण व्यवसायमा ६० प्रतिशतले गिरावट आएको उनी बताउँछन् । महामारीको चपेटामा छन्, पस्मिना उत्पादक र व्यवसायी ।

उद्योगमा नयाँ कर्मचारीको आवश्यक हँदा पहिले तीन महिना तालिम दिएर राम्रो गर्न सक्नेबाट छनोटपछि मात्र काममा राख्ने गरिएको श्रेष्ठ बताउँछन् । त्यसमा पनि स्थानीय र उद्योगमा कार्यरत कर्मचारीका चिनेजाने व्यक्तिलाई प्राथमिकता दिइने गरेको छ ।

यो उद्योगमा हाल ४८ कर्मचारी कार्यरत छन् । दुुई वर्षअघि कर्मचारी संख्या घटेको उनी बताउँछन् । उनका अनुसार त्यसको मुख्य कारण नै कोरोना महामारी हो । महामारीको समयमा यो उद्योगले कर्मचारी कटौती गरेन । उद्योगका कर्मचारी पहिलो लकडाउनलगत्तै आ–आफ्ना घरतिर लागे । उनीहरू फर्किने क्रमसँगै पुनः उद्योगबाट उत्पादन सुरु भयो । अन्य कर्मचारीलाई पर्खेर बसेका छन्, श्रेष्ठ । किनकि, उनीहरू पस्मिना बनाउन दक्ष भइसकेका छन् ।

पर्याप्त छैन निजी क्षेत्रको पहल, सरकारी निकाय उदासिन

च्याङ्ग्रा पालन  तथा भुवा संकलनको योजना भएकोले सम्भाव्यता अनुसन्धानमा नेपाल पश्मिना उद्योग संघ लागि परेको छ। त्यसैका लागि पस्मिना उद्योगी र व्यवसायी मिलेर रिफाइन सेन्टर स्थापना पनि गरेका छन् । यस साझेदारीमा ५० जना उद्योगी, व्यवसायी छन् । उनीहरूकै पहलमा चराङमा स्थापना भएको हो, भुवा संकलन केन्द्र पनि ।

पस्मिना कपडाबारे पर्याप्त प्रचारप्रसार नहुनु, सरकार पक्षबाट उद्योगी, व्यवसायीले साथ नपाउनुुलगायत कारणबाट नेपाली पस्मिनाको बजार विस्तार हुन नसकेको लामिछाने बताउँछन् । च्याङ्ग्रा पालन, भुवा उत्पादन र त्यसबाट धागो तयार पारेर विदेश निर्यात गर्न सकिने प्रचुर सम्भावना भने जीवित छ ।

यस्तै, विभिन्न देशका पस्मिनाको अस्वस्थ बजार प्रतिस्पर्धा देखिँदै आएको छ । भविष्यमा नेपाली पस्मिनाको ब्रान्डिङमा सरकारले ध्यान दिन नसक्दा बजार अझ खुम्चिने जोखिम उद्योगी, व्यवसायीहरू औँल्याउँछन् । ‘अर्थतन्त्रकै मेरुदण्ड बन्न सक्ने पस्मिनालाई निजी व्यवसायीको एकपक्षीय प्रयास मात्र काफी छैन,’ श्रेष्ठ भन्छन् ।

लामिछानेका अनुसार गत आर्थिक वर्ष ०७७–७८ मा पस्मिना निर्यातवापत मुलुकमा तीन अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्रिएको थियो । ठमेलजस्ता क्षेत्रबाट चिनोका रूपमा करिब तीन अर्बको कारोबार गर्न सकिने व्यवसायीहरूको भनाइ छ । त्यसैले त हो, व्यवसायीले नेपाली पस्मिनालाई ‘लुकेको हीरा’ संज्ञा दिएका छन् । अब सरकारी प्रयास देखिने हो भने यो ‘लुकेको हीरा’बाट अर्बौँ आम्दानी प्राप्त गर्न सकिने व्यवसायीहरूको भनाइ छ ।
 

 Published Date: Sunday, 12th September 2021 10:22:00 am