Kathmandu Press

‘वैचारिक हिसाबले एमाले विभाजित भइसक्यो, सांगठनिक रूपमा विभाजन रोक्ने प्रयासमा छौँ’

एकथरिले भोट हाल्दा अनुुपस्थित भइदिने, एकथरि विपक्षलाई भोट हाल्ने। वैचारिक रूपमा त्यहीँबाट पार्टी विभाजित भइसक्यो। तर, सांगठनिक रूपमा अर्को पार्टी भन्ने नभएकाले हामी विभाजनलाई रोक्ने प्रयासमा छौँ।
‘वैचारिक हिसाबले एमाले विभाजित भइसक्यो, सांगठनिक रूपमा विभाजन रोक्ने प्रयासमा छौँ’
Hardik ivfHardik ivf

२३ फागुनको सर्वोच्च अदालतले गरेको फैसलापछि दुुई तिहाइनजिक बहुमतसहितको माओवादी केन्द्र र एमाले अलग दल बने। एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेका कारण सिर्जना भएको एमालेभित्रको विवाद अझै सुल्झिएको छैन। वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीबीच बढेको दूरीका कारण एमालेभित्रको विवाद उत्कर्षमा छ। एमालेका केही नेता पार्टी एकता जोगाउने कसरतमा लागिरहेकै छन्। तिनै नेतामध्येका हुन्, एमाले सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ। एमालेभित्रको विवादकै सेरोफेरोमा केन्द्रित रहेर गुरुङसँग काठमाडौं प्रेसका लागि शुष्मा बरालीले गरेको कुराकानी :

एमालेभित्रको विवादको पटाक्षेप कसरी होला?

पार्टीभित्रको विवादको पटाक्षेप यो तरिकाले हुन्छ भन्ने थाहा भएको भए त्यहीअनुुरूप अगाडि बढ्न हुुन्थ्यो नि। हामी अझै छलफलमा नै छौँ, दुवै नेतालाई सहमतिमा ल्याउने कोशिसमै छौँ। सहमति गरेर अन्तिममा मिलेर जाने भन्ने हो। एमालेभित्रको विवाद सुल्झाउन नसकिने भन्ने होइन। विवाद समाधानका सन्दर्भमा किन दोहोरो गतिविधि भइरहेको छ भन्ने हो। दोहोरो गतिविधि जति बढ्दै गयो, त्यति समस्या हुुन्छ। त्यसैले दोहोरो गतिविधि सकभर नगरौँ भन्ने हो।

बाहिर समानान्तर गतिविधिहरू पनि जारी नै छन्। फेरि पार्टीका आन्तरिक निर्णयहरू पनि भइरहेको अवस्थामा एमाले विभाजित हुँदै गरेको भन्ने बुझाइ बाक्लो देखिन्छ। यथार्थ के हो?

पार्टी त पहिल्यै विभाजित भइसकेको थियो नि। हाम्रै साथीहरूले अर्कोतिर भोट हालिसके। त्यहीँ विभाजित देखियो। एकथरिले भोट हाल्दा अनुुपस्थित भइदिने, एकथरि विपक्षलाई भोट हाल्ने, अर्कोथरिले अन्यलाई भोट हाल्ने। वैचारिक रूपमा भन्ने हो भने त्यहीँबाट विभाजित भइसक्यो। तर, सांगठनिक रूपमा अर्को पार्टी भन्ने नआइसकेको हुनाले हामी अहिले पार्टी विभाजनलाई रोक्ने प्रयासमा छौँ।

पार्टीको विधान महाधिवेशनको तयारी भइरहेको छ। वडादेखि पालिकासम्मका अधिवेशन पनि घोषणा भएका छन्। पार्टी महाधिवेशनको तयारी पनि भइरहेको छ। अहिलेको विवाद कायम राखेर महाधिवेशन आयोजना गर्नुको औचित्य रहला र?

विधान महाधिवेशनको तयारी भएको छैन, वडादेखि पालिकासम्मका अध्यक्ष पनि घोषणा भएको छैन। सोहीअनुुसार हुुन्छ भन्ने पनि होइन। खाली विधान संशोधनको मस्यौदाउपर छलफल चलाउँदा, प्रस्तावित प्रारम्भिक मस्यौदामा धेरै छलफल भएर वडा तहदेखि केन्द्रसम्म आएर पारित भएपछि अन्तिम मस्यौदाको रूपमा विधानमा समावेश गर्ने भन्ने हो। त्यसको लागि सबै एकजुट भएपछि समावेश गर्नु राम्रो हुुन्छ। अहिले सबै साथीहरू आउनुभएको छैन, त्यसले गर्दा आधाले मात्र समर्थन जनाएको हो।

तपाईंले माधवकुमार नेपाललाई सम्मानजनक स्थान दिनुुपर्छ भन्नुभएको थियो। उहाँलाई पार्टीमा स्पेस दिन या साथमा लिएर सँगै हिँड्नका लागि केले रोकेको छ ? अध्यक्ष केपी ओली नै तयार नहुन भएको हो त?

अतिवादी शक्तिहरू जो छन्, जो छुट्टिन रहर गर्नेहरू छन्, दुुईपक्षमा त्योचाहिँ एकदमै सानो शक्ति हो। अर्को भनेको अन्त्यमा मिलेर नै अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ। फेरि अतिवादले फेरि के भन्छ भने अलि बढि बढि डिमाण्ड गर्ने, मिलाउँनेले पनि अहिलेको अवस्था के हो, पार्टीको स्थिति र आवश्यकता के हो भन्ने केलाएर कसैमाथि अपमान नहोस्, कसैमाथि ठेस नपुुग्ने तरिकाले कसैले दिएको जस्तो कसैले लिएको जस्तो नहोस्।

वास्तवमा यो जसले व्यवस्थापन गर्नुहुन्छ, सोही तरिकाले मिलेर जाने प्रयत्न यसअघि गठित कार्यदलले गरेको हो। त्यो कार्यदलभन्दा बाहिर सहजीकरण गरिरहेका हामी साथीहरूले पनि त्यही गरेको हो। यसमा उता पक्षका माग व्यवस्थापन भएन, अझै राम्रो भएन भन्ने एकथरिको भनाइ छ भने अर्कोथरि धेरै समय भइसक्यो अब यो दुुई पक्षबीच समन्वय नै हुँदैन नि भन्नेजस्तो भएकाले सोही विन्दुमा हामी अड्किरहेका छौँ।

एमालेभित्रको अहिलेको विवाद पटाक्षेप नहुनु र अझ लम्बिँदै जानुको मुख्य कारकचाहीँ माधवकुमार नेपाल जस्तो लाग्छ कि केपी ओली?

मुख्य कुरा त विवाद भन्ने कुरा एउटा पक्षले गर्दा मात्र हुँदैन। विवादमा जो छुुट्टिएर जान्छ, उसको पहिलो गल्ती हुन्छ। किनकि, आफूलाई चित्त नबुुझेका कुराहरू त घरभित्रै बसेर समाधान गर्नुपर्छ नि, सिद्धान्तले त्यसै भन्छ। जो सिद्धान्तभन्दा बाहिर गइरहेको छ, जसले पार्टीको नीति निर्देशन नमानेर अन्य कुराहरू लिएर बस्नु ठूलो गल्ती हो। तर, त्यस्तो परिस्थिति हुँदाखेरि पनि पार्टीको संस्थापनले उक्त कुराको व्यवस्थापन गर्ने विषयमा बेलैमा ध्यान किन नदिएको भन्ने कुरा पनि उठ्छ। त्यसकारणले गल्ती दुवैथरिको हो। एकथरिले मात्र गल्ती गरेको छ भन्ने कुरा आउँदैन, धेरै र थोरैको कुुरा मात्र हो।

पार्टी एकताको सम्भावना यहाँले कत्तिको देख्नुभएको छ?

पार्टीभित्रको विवाद मिलाउन दुवै नेता मिलेर कार्यदल बनाइएको थियो। पार्टीको समस्या समाधानका लागि कार्यदल बनाइएको थियो। तर, समस्या कहाँनिर उत्पन्न भयो भने आफैँले निर्माण गरेको कार्यदलको निष्कर्षलाई दुवै नेताले सहज रूपमा मान्न आनाकानी गर्नुभयो।

पछि केपी ओलीले स्वीकार गरेँ भनेर उहाँको तर्फबाट अनुुमोदन गराउनुु भयो भने माधवकुमार नेपालले असमर्थता जनाउनुभयो। त्यसपछि थप ‘पावर सेयरिङ’मा लाग्यौँ। पार्टीभित्र दुुईजना अध्यक्ष व्यवस्थापन गर्ने भन्नेतिर लाग्यौँ। उक्त विषय पनि ठीकै भएको थियो। फेरि त्यहीँनेर दुुईजना अध्यक्ष पनि कस्तो कस्तो खालको, एक नम्बर, दुुई नम्बर भन्ने कि, बराबर भन्ने कि के भन्ने के भन्ने भनेर प्रश्नहरू आए।

एकथरिले एउटा अर्कोथरिले अर्को कुरा गरेको भएर यो विषय अल्झिरहेको छ। माधवकुमार नेपाल पक्षमा रहनुभएका साथीहरूले केन्द्रीय कमिटीमा बसेर निकै सकारात्मक र महत्त्वपूर्ण निर्णय गर्नुभयो। त्यो भनेको गठबन्धन सरकारमा सहभागी नहुने, दशबुुँदे सहमतिलाई पनि अनुमोदन गर्ने। यो निकै सकारात्मक कुरा हो। त्यही निर्णयमा अडिनुपर्छ, केही कुरा तलमाथि हुन्छ, जसलाई चाँडोभन्दा चाँडो सच्याउँदै परिमार्जन गरेर टुुंग्याउनुपर्छ।

 

प्रकाशित मिति: ०९:४८ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्