मुद्दा विचाराधीन, शव राखेको शुल्क मात्रै १८ लाख ५४ हजार
‘न्याय खोज्दाखोज्दै पाँच वर्ष बित्यो। अजितलाई मारेकै हो भन्ने हजारौँ प्रश्न छन् तर ठोस प्रमाण नभएको भन्दै न्याय पाइएको छैन।’काठमाडौं, साउन २८ : विगत पाँच वर्षदेखि काभ्रे पाँचखाल नगरपालिका– ७ का अजित ढकाल (मिजार) को शव टिचिङ अस्पताल महाराजगन्जको चिकित्सा क्याम्पमा राखिएको छ । ३० असार ०७३ मा धादिङको गजुरेमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको बताइएको थियो । अन्तर्जातीय विवाह गरेका अजितको हत्या भएको भन्दै परिवारले किटानी जाहेरी दिएको थियो ।
अहिले अजितको मुद्दा विचाराधीन छ । अर्थात् अजितको शवले न्याय पर्खिरहेको छ । चिकित्सा क्याम्पसका फरेन्सिक मेडिसिन विभागीय प्रमुख डा. तुलसी कँडेल शव राखेको एक दिनको शुल्क एक हजार रुपैयाँ लाग्ने बताउँछन् । ३० असार ०७८ सम्म अजितको शव राखेको पाँच वर्ष अर्थात् ३६५ दिन बराबर एक वर्ष अनुसार एक हजार ८ सय २५ दिन हुन्छ । यस हिसाबले आजका मिति अर्थात् साउन २८ सम्म अजितको शव राखेको शुल्क मात्रै १८ लाख ५४ हजार पुग्छ । अजितको न्याय एकातिर छ भने यतिका दिन शव राखेको पैसा कसले तिर्ने भन्ने प्रश्न अर्कोतिर छ ।
राष्ट्रिय दलित आयोगले अस्पतालको शुल्क तिरिदिने भने पनि हालसम्म रकमबारे अस्पताल र आयोगबीच छलफल भएको छैन । आयोग लामो समय पदाधिकारीविहीन भएका कारण अजितको घटनालाई जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिन नसकिएको र अहिले सबै पक्षसँग छलफल भइरहेको आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा आयोगबाट रकम तिर्ने सम्झौता भएको छ, तर कति दिने भन्ने कुरा भएको छैन ।’
अजितको घटनामा अहिले विभिन्न अध्ययन तथा छलफल भइरहेको र घटनाको अवस्था हेरेर अगाडि बढ्ने अध्यक्ष विश्वकर्मा बताउँछन् ।
प्रेम विवाहपछिको कथा
२०७१ सालदेखि पाँचखाल नजिकै ज्याम्दीकी पराजुली थरकी किशोरीसँग अजित प्रेममा परेका थिए । दुई वर्षपछि २५ असार २०७३ मा उनीहरूले प्रेम विवाह गरे । केटी पक्षबाट उमेर नपुगेको देखाई उनीहरूको जोडी छुट्ट्याइयो । त्यसको भोलिपल्ट २९ असार ०७३ मा घरबाट तामाघाट बजार जान निस्किएका अजित घर फर्केनन्, उनको शव धादिङमा भेटियो।
अन्तर्जातीय प्रेमकै कारण अजितले ज्यान गुमाउनुपरेको परिवारको दाबी छ । अजितका बुवा हरिभक्त ढकाल भन्छन्, ‘न्याय खोज्दाखोज्दै पाँच वर्ष बित्यो । अजितलाई मारेकै हो भन्ने हजारौँ प्रश्न छन् तर ठोस प्रमाण नभएको भन्दै न्याय पाइएको छैन ।’
हरिभक्तका अनुसार, २९ असारका दिन उनको घरमा अन्जान व्यक्ति आएर ‘अजित कहाँ छ’ भन्दै सोधिरहेका थिए । सोही दिन मोबाइलको चार्जर किन्न आमासँग एक सय रुपैयाँ मागेर अजित तामाघाट बजार जान निस्केका थिए । ‘पैसा नभएको व्यक्ति कसरी सोही दिन धादिङ पुग्यो ? प्रहरीले शव एक दिनमै गाडेको थियो, किन ? शवमा एसिड प्रयोग गरिएको जस्तो देखिएको थियो, कसरी ? धेरै प्रश्न छन्,’ हरिभक्त भन्छन् ।
पछिल्लो पाँच वर्षदेखि हरिभक्तले कहिले धादिङ त कहिले काठमाडौं धाइरहेका छन् । अजितको परिवारको किटानी जाहेरीपछि प्रहरीले अजितकी प्रेमिकाका बुवा भोजराज पराजुली, दिदी सम्झना र काका पर्ने टेकबहादुरलाई पक्राउ गरेको थियो । तर वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङबाट उनीहरूलाई २० जेठ ०७७ मा सफाई दिइयो । अहिले उच्च अदालत पाटनमा अजितको मुद्दा विचारधीन छ ।
‘दुवै पक्ष राखेर शवको पोस्टमार्टम गरियोस् भन्ने हाम्रो माग हो,’ हरिभक्त भन्छन्, ‘हाम्रो माग अनुसार, एकपल्ट पाटन अदालतलको आदेशमा पोस्टमार्टम गरिएको छ । तर पीडक पक्ष मात्र राखेर पोस्टमार्टम गरियो ।’
अधिवक्ता मोहन साशंकर अजितको घटनामा विभिन्न तहबाट छानबिन भएको र हरेकपल्टको छानबिन समितिले अजितको आत्महत्या नभई हत्या भएको प्रतिवेदन बुझाएको बताउँछन् । उनी भन्छन्, ‘तर, अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टमा त्रुटि भएका कारण न्याय पछाडि धकेलिएको छ ।’
तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको संयोजकत्वमा ६ माघ २०७३ मा छानबिन समिति बनेको थियो । समितिले हत्यामा पराजुली परिवारलाई नै दोषी किटानी गरेको प्रतिवेदन बुझायो । तर, यसमा सुनुवाइ भएन । यही प्रतिवेदनका आधारमा सरकारले मिजार परिवारलाई १० लाख रुपैयाँ प्रदान गरेको थियो । ‘त्यही रकमले अजितको न्यायका लागि आवाज उठाइरहेको छौँ,’ हरिभक्तले भने ।