Kathmandu Press

‘महामारीको विशिष्‍ट परिस्थितिमा कांग्रेसको महाधिवेशन पछाडि धकेलिन सक्छ’

हिजोका दिनमा समयमा उचित व्यवस्थापनसहित महाधिवेशन भएको हो, अहिले अब प्राकृतिक प्रकोपका कारण महाधिवेशन गर्ने मिति, समय धकेलिन सक्छ तर महाधिवेशन नै नहुने भन्‍ने होइन।
‘महामारीको विशिष्‍ट परिस्थितिमा कांग्रेसको महाधिवेशन पछाडि धकेलिन सक्छ’

प्रतिनिधिसभामा कांग्रेसकी सचेतक पुष्‍पा भुसाल कांग्रेसको केन्द्रीय कानूनी सल्लाहकार समिति सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव पनि हुन्। अर्घाखाँची स्थायी बसोबास भएकी उनी प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित भएकी हुन्। त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी उनले १७ वर्ष वकालत पेशामा पनि आबद्ध थिइन्। कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी नेपाल बार एसोसिएसनकी पूर्वकेन्द्रीय सदस्य पनि हुन्। ०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्, भुसाल। कांग्रेसको १४औँ महाधिवेशनको अन्योल र विकल्पमा केन्द्रित रहेर भुसालसँग काठमाडौं प्रेसका लागि शुष्‍मा बरालीले गरेको संवादः


कांग्रेसको १४ औँ महाधिवेशनको तिथि हेरफेर गर्ने विषयसँग कस्ता मुद्दा जोडिएका छन्?

यसमा धेरै कुरा छन्। पहिलो- कांग्रेसले हरेक जिल्लामा सक्रिय सदस्यता वितरण खुला गरेको छ। शतप्रतिशतका दरले सक्रिय सदस्य थपिएको अवस्था छ। दोस्रो- पार्टी समायोजन भएको छ। अरू पार्टीबाट आउनुभएका सदस्यलाई पनि प्रक्रियात्मक तरिकाले सक्रिय सदस्यमा समावेश गराएका छौँ। पार्टीमा सक्रिय सदस्यहरूको ठूलो भूमिका रहने भएकाले पनि सक्रिय सदस्यतामा जोड दिएका हौँ।

Hardik ivf

महाधिवेशन भनेको पार्टीको निर्वाचनसँग जोडिएको छ र आगामी आम निर्वाचनसँग पनि जोडिएको छ। तेस्रो- आन्तरिक संगठनलाई मजबुत बनाउनका लागि पनि सक्रिय सदस्यहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यी तीन उद्देश्य भएको हुनाले पनि अहिलेको महाधिवेशनमा सक्रिय सदस्यहरू शतप्रतिशतले थपिएको हो। समायोजन भएका सदस्यहरूलाई मिलाएर संगठनलाई मजबुत बनाउनुपर्ने निर्णय भएको हुनाले पनि अहिलेको महाधिवेशनमा धेरै कोणहरू समावेश छन्।

तसर्थ, कांग्रेसको अहिलेको महाधिवेशन अवसर पनि हो र त्यससँगै चुनौती पनि देखिएको छ। १४ औँ महाधिवेशनको मिति फेरि सर्ने विषय भनेको अहिलेको कोरोना भाइरस संक्रमणको त्रास, विभिन्‍न किसिमका समस्या, माहोल र परिस्थिति पनि जिम्मेवार छन्। ती सबै व्यवस्थापन हुनासाथ महाधिवेशन गर्ने योजना छ। हाम्रो महाधिवेशन ७७ जिल्लाहरूमा एकैपटक हुन्छ। तसर्थ सबै भौगोलिक माहोल मिलेपछि गर्ने योजना छ।

महाधिवेशनको तिथिबारे नेताहरू बीच मत बाझिएको भन्‍ने गरिएको छ। वास्तविकता के हो?

कांग्रेसको महाधिवेशनको विषय विधानमै व्यवस्था छ। कांग्रेसको अभ्यास हेर्ने हो भने पार्टीभित्रका कुनै पनि विषयबस्तुलाई सामूूहिक बैठक बसेर, निर्णय गरेर मात्र अगाडि बढ्ने चलन छ। तसर्थ यसमा विवाद भन्‍ने कुरा त रहँदैन। सबै पदाधिकारीको सहमतिबाट मात्र महाधिवेशन सम्पन्‍न गर्नुपर्ने हुन्छ। यस विषयमा बाझिने भन्दा पनि मिलेर व्यवस्थापन गर्नुपर्ने हुन्छ।

र, यथार्थ विषयहरूमा छलफल कसरी गर्ने अहिलेको परिस्थितिमा देखापरेका समस्याहरू जसमा संगठनभित्रका सदस्यताका समस्याहरू त व्यवस्थापन गरिएला, त्यो समस्याको कुरा भएन। आन्तरिक विवाद त समाधान गर्न सकिन्छ तर बाहिरी समस्याहरू कोरोना भाइरसका नयाँ भेरियन्टहरू देखा परेको अवस्थामा महाधिवेशनमा कतिको संख्यामा जम्मा हुन सक्ने वा जम्मा हुने अवस्था होला या नहोला, प्राकृतिक प्रकोपले समस्या पार्न सक्छ। समस्याग्रस्त माहोलमा महाधिवेशनमा समग्र पाटो समावेश गर्न सकिन्छ कि सकिँदैन भन्‍ने आशंका कायमै छ। तसर्थ मिति सार्ने या नसार्ने विषयभन्दा पनि स्वास्थ्य महत्त्वपूर्ण रहन्छ।

मंसिरमा गर्नेगरी महाधिवेशन सार्ने तयारी भएको सुन्‍नमा आएको छ। विशेष परिस्थितिमा ६ महिना थप्न सकिने मिति पनि गुज्रँदै छ। फेरि सार्दा वैधताको प्रश्‍न उठ्दैन?

पार्टीकै आन्तरिक समस्याले अधिवेशनको मिति सार्ने अवस्था भएको भए पार्टीको वैधताको प्रश्‍न उठ्थ्यो भन्‍न सकिन्थ्यो। तर, यो त पार्टीभित्रको समस्या या विवाद नभएर प्राकृतिक समस्या हो। प्राकृतिक स्वास्थ्य संकटको रूपमा फैलिएको कोरोना भाइरसले हाम्रो देशलाई अथवा कांग्रेस पार्टीलाई मात्र असर गरेको होइन, आज विश्व नै आक्रान्त छ। संगठनलाई अझै बढी चलायामान गर्नका लागि महाधिवेशन गर्ने हो। महाधिवेशनमा आउने एजेन्डाहरू भनेको घोषणापत्रमा केन्द्रित हुन्छ। महाधिवेशनको विषयमा गहिरिएर छलफल गर्नुपर्ने आवश्यकता हुन्छ।

संविधान कार्यान्वयन, संघीयता, जनजीविकाका सवालहरू, पार्टीका आन्तरिक संगठनहरू, लोकतान्त्रिक पक्षका कुराहरू छलफलका विषयबस्तु हुन्छन्। आगामी निर्वाचनको लागि पनि यो विषयका आधारमा बन्‍ने भएको अत्यन्त महत्त्वपूर्ण ढंगले एजेन्डा तयार पार्नुपर्ने हुन्छ। अब वैधताको सवालमा पार्टीले सुनिश्‍चतता नभएसम्म अगाडि बढ्ने कुरा भएन। वैधताको सुनिश्‍चतताका लागि पार्टीमा छलफल हुन्छ। सम्बन्धित निकायहरूमा छलफल गरेर मात्र निर्णय लिइन्छ।

महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा हुन सकेन। खासमा समस्याको चुरो के हो?

वडा तहमा अधिवेशन निर्धारित समयमा नहुनु यो छलफलको विषय हो। पार्टीको गतिशीलताका लागि कुन संयन्त्र अपनाउने भन्‍ने पनि पार्टीमै छलफल गर्ने विषय हो। यो संगठनलाई जागरण कसरी गराइन्छ भन्‍ने कुरामा भर पर्छ। संगठनलाई बलियो कसरी बनाउन सकिन्छ, कतिपय सदस्यहरूलाई पे्ररित कसरी गर्न सकिन्छ भन्‍नेमा पनि भर पर्छ। सदस्यहरूको मनोबल कसरी उच्च बनाउनेदेखि ऊर्जावान बनाउने अवसर पनि रहेकाले विभिन्‍न मोडालिटीअनुसार छलफल भइरहेको छ। केन्द्रीय कार्य समितिमा उपयुक्त कुन हो, सान्दर्भिक के हो भन्‍नेमा पनि बृहत रूपमा छलफल भएकाले र समय परिस्थितिले पनि तयारी भइरहेको छ।

कांग्रेसको महाधिवेशन भदौभित्र नभए कानूनी रूपमा निर्वाचन आयोगमा निर्वाचनका बखत दल दर्तामा समस्या हुन सक्छ। दल खारेजीको अवस्था पनि आउनसक्ने भनाइहरू आएका छन्। यस्तो अवस्थामा ऐतिहासिक पार्टीको भविष्‍य के होला?

महाधिवेशनको मितिको कुराले दल खारेज र दलको वैधताको विषयमा कांग्रेस सचेत नै छ। निर्वाचन आयोगसँग पार्टीको गम्भीर छलफल पनि हुने नै छ। तसर्थ कांग्रेस पार्टीको खारेजी वा वैधताको विषयमा सचेत र गम्भीर भएरै अगाडि बढ्छौँ। समग्र पार्टीको भविष्‍यको विषयमा पार्टीले निर्णय लिन्छ, त्यसमा कुनै समस्या छैन।

हिजोका दिनमा समयमा उचित व्यवस्थापनसहित महाधिवेशन भएको हो, अहिले अब प्राकृतिक प्रकोपका कारण महाधिवेशन गर्ने मिति, समय धकेलिन सक्छ तर महाधिवेशन नै नहुने भन्‍ने होइन। यस्तो विषम् परिस्थितिमा विशिष्‍ट नियमहरू बनाउने चलन हुन्छ। कानूनी नियम भनेको समयको आवश्यकताअनुसार बनाउने कुरा हो। त्यही भएर त देशअनुसार नियम र कानूनहरू फरक-फरक छन्। हामी पनि अहिलेको आवश्यकताअनुसार अगाडि बढ्नुपर्ने हुन्छ। तसर्थ सिंगो पार्टी खारेजी भन्‍ने कुरा त हामीले कल्पना पनि गरेका छैनौँ, त्यस्तो अवस्था आउँदैन पनि। पार्टीको वैधतालाई सुरक्षित राख्नको लागि निर्वाचन आयोगसँग समन्वयकारी भूमिकाका साथ अगाडि बढ्छौँ।

संविधानअनुसार पाँच वर्षभित्र दलको महाधिवेशन भइसक्नुपर्छ। विशेष परिस्थितिमा ६ महिना थप समय पाइने हो। १३ औँ महाधिवेशन भएको पाँच वर्ष पूरा हुँदैछ। लोकतन्त्र, संविधानवाद, विधिको शासनको पाठ सिकाउने कांग्रेसका लागि यो हदसम्मको विलम्ब सुहाउने कुरा हो र?

यस विषयमा विलम्बको पछाडिका कारक तत्त्वहरूले निर्धारण गर्छन्। संविधान बनाउँदा या नियम कानून तयार गर्दा यस्तो खालको परिस्थिति आउला अथवा यस्तो समस्या पर्ला भनेर बनाइएको हुँदैन। अहिलेको परिस्थिति भनेको व्यवस्थापन गरेर अगाडि बढ्नु हो। कानूनमा उल्लेखित नियम समय परिस्थतिअनुसार फेरबदल गर्न सकिँदैन या मिल्दैन भन्‍ने छैन। समय र आवश्यकताअनुसार परिमार्जन गर्न पनि सकिन्छ।

अहिलेको परिस्थितिमा मिति, समयको कुरालाई लिएर र पार्टीको वैधताको कुरालाई लिएर धेरै ठूलो विवाद निम्त्याउनुभन्दा समयअनुसार व्यवस्थापन कसरी गर्ने भनेर छलफल अगाडि बढेको छ जुन आवश्यक पनि छ। तर, अहिलेको परिस्थितिमा अधिवेशन गर्दा वडाका सदस्य, युवा नेतृत्व, विश्लेषकसँग राय सल्लाह लिने अर्को पाटो छ। परिस्थितिलाई व्यवस्थापन गरेर हामीले त सकेसम्म अधिवेशन गरेर संगठन चलायमान गराउनु नै छ।

कोरोना भाइरसको काललाई शून्य समय मानेर जाने विषयमा अरू दलहरू बीच पनि छलफल चलेको विषय सार्वजनिक भएको छ। त्यस्तो कोणबाट पनि छलफल चलिरहेको हो र?

कोभिड-१९ महामारीको जटिल समयलाई शून्य समय मान्‍ने कि नमान्‍ने भन्‍ने छलफलको विषय हो। कतिपय अन्य अवस्थाले पनि शून्य समय मानेको भन्‍ने छ। पार्टीको आन्तरिक छलफल यो कोणबाट पनि अगाडि बढिरहेको छ।  कोरोनाका कारणले भएको लकडाउनको अवस्थालाई शून्य समय मान्‍ने अथवा कसरी अगाडि बढ्ने आन्तरिक छलफलको विषय बनेको छ।

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्