Kathmandu Press

कहिले आउँछ मेलम्ची ?

हेलम्बु गाउँपालिका-१ अम्बाथानमा हेडवर्क्स निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव पाँच किलोमिटर लामो सुरुङ बनाएर उपत्यकामा पानी भित्र्याइएको थियो।
कहिले आउँछ मेलम्ची ?

काठमाडौं, साउन २० : काठमाडौंवासीलाई मेलम्चीको सपना २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखाएका थिए। त्यसको ३० वर्षपछि १५ चैत ०७७ मा मेलम्चीको पानी उपत्यकाका घरघरमा आइपुग्यो। तर, पुनः प्राविधिक परीक्षणका लागि भनी १ असार ७८ देखि मेलम्चीको पानी बन्द गरियो।

मेलम्चीको पानी नआउने भएपछि जेठ ३१ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सूचना जारी गरी खानेपानी वितरण तालिका सार्वजनिक गरेको थियो, जसमा उपत्यकाका विभिन्न स्थानमा दुईदेखि १२ दिनसम्म बिराएर पानी आउने जानकारी गराइएको छ। उपत्यकावासीलाई केही महिनामै मेलम्ची आउने आशा थियो, तर यसबीचमा दुईपटक (१ असार र १७ साउनमा) मेलम्चीमा बाढी आएका कारण उपत्यकामा पानी आइपुग्न अझै कति समय लाग्ला भन्नेमा अन्योल छ। 

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार असार १ गते गएको बाढीले आयोजनाको हेडवक्र्स पुरिएको थियो। सुुरुङ मार्गको ५-७ किलोमिटरसम्म बाढीले असर गरेको थियो। त्यस्तै, चार-पाँचवटा पुलमा क्षति पुर्याएको थियो। ‘साउन १७ को बाढीले अझ थप क्षति पुर्याएको छ,’ प्रवक्ता पन्त भन्छन्, ‘हेडवक्र्स पुरिएको छ, हेडवर्क्सभित्र कति क्षति पुुगेको छ भन्ने थाहा छैन। सुरुङ मार्गमा पनि थप क्षति पुगेको छ। थप एक पुल बाढीले बगाएको छ।’

उनका अनुसार, एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। माथिल्लो भेगमा बाढी र पहिरो निरन्तर आइरहेकाले काम अगाडि बढाउने बारेमा अध्ययन भइसकेको छैन। ‘बाढी नियन्त्रण आएपछि वा रोकिएपछि मात्रै अध्ययन गरी निर्माण कार्य थाल्ने योजना छ,’ प्रवक्ता पन्तले भने, ‘हेडवक्र्स अन्तै सार्नुपर्ने पनि हुुसक्छ। त्यसैले अब मेलम्चीको पानी काठमाडौंमा कहिलेसम्म आउँछ भनी यसै भन्न सकिँदैन।’ 

मेलम्ची कथा

उपत्यकामा मल्लकालीन राजकुलोको अवशेष अझै भेटिन्छ। यहाँ पानीको व्यवस्थाका लागि पहिलेदेखि इनार, ढुंगेधारा र पोखरी निर्माण गरिएको थियो। कति पोखरीबारे विभिन्न कथा र किंवदन्ती पनि पाइन्छन्। 

उपत्यकामा पानीको आपूर्तिका लागि सम्भाव्य स्रोतहरुको पहिचान २०२९ सालदेखि नै सुरु गरिएको थियो। 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार २०५२ मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरिएपछि एसियाली विकास बैंकद्वारा ऋण प्राप्त भएको हो। २०५५ सालबाट आयोजनाको सुरुवात गरियो। ०५८/५९ देखि मेलम्ची आयोजनाको भौतिक निर्माण कार्य शुभारम्भ भएको थियो। 

हेलम्बु गाउँपालिका-१ अम्बाथानमा हेडवर्क्स निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव पाँच किलोमिटर लामो सुरुङ बनाएर उपत्यकामा पानी भित्र्याइएको थियो। पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौं भित्र्याउने योजना थियो। सोहीअनुरुप पहिलो चरण अन्तर्गत १५ चैत ०७७ देखि दैनिक १७ हजार लिटर पानी काठमाडौं भित्रिएको थियो। यसपछि याङ्ग्री र लार्केबाट १७-१७ करोड लिटर पानी ल्याउने योजना थियो। 

२०७७ चैत १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा धारा खोली मेलम्ची पानीको उद्घाटन गरेकी थिइन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईका अनुसार हाल उपत्यकामा अस्थायी तथा स्थायी गरी करिब ३५ लाख जनसंख्या रहेको अनुमान गरिएको छ। त्यही अनुसार दैनिक ३५ करोड लिटर पानीको माग रहेको छ। मेलम्ची आइसकेपछि मेलम्चीको १७ करोडसहित उपत्यकाका विभिन्न स्रोतबाट ९-१० करोड लिटर गरी दैनिक २७ करोड पानी उपत्यकामा वितरण भइरहेको थियो। मेलम्ची नआएका बखत काठमाडौंमा पानी निजी तवरले आपूर्ति हुँदै आएको छ। 

लगानी 

मेलम्ची खानेपानी आयोजनामा हालसम्म ३० अर्ब १५ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ। मेलम्ची खानेपानी आयोजनाकोे हालसम्मको खर्चको तथ्यांक अनुसार, मुआब्जा तथा पुनर्वासका लागि ९४ करोड ३१ लाख, वातावरण व्यवस्थापनका लागि २० करोड ५० लाख, सामाजिक उत्थानका लागि १ अर्ब २१ करोड १२ लाख, सार्वजनिक निर्माणका लागि २१ अर्ब ३९ करोड ७६ लाख, प्रवेश मार्गका लागि ३ अर्ब एक करोड १९ लाख, साइट क्याम्प कार्यालय भवनका लागि १२ करोड रुपैयाँ लगानी भएको छ। 

त्यस्तै, हेडवक्र्स तथा सुरुङ निर्माणका लागि १२ अर्ब ९५ करोड २६ लाख, पानी प्रशोधन केन्द्रका लागि ५ अर्ब २० करोड ९ लाख, परामर्श सेवा डिजाइन तथा सुुपरिवेक्षणका लागि ५ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ, सवारीसाधन खरिदका लागि चार करोड १८ लाख, प्रशासनिक तथा चालु खर्चमा ९० करोड रुपैयाँ लगानी भएको समितिको प्रवक्ता पन्त बताउँछन्। 
 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्