‘देशको राजधानीबाटै हराएकी छोरीमैयाँ भेटिएकी छैनन्, अन्यत्र के हाेला?’
‘छोरीमैयाँको मुद्दाले १० वर्षसम्म न्याय पाउन नसक्नु समग्र न्यायको असफलता हो । उनको मुद्दा अनुसन्धानका लागि अनुसन्धान समिति गठन गरेर आउँदा पनि न्याय सहजै किनमेल हुन्छ भने न्याय र न्यायलयप्रतिको विश्वास के रहला ?’हामी चुप लाग्दैनौँ,
हिंसा सहनुु हिंसै हो,
हाम्री आमालाई न्याय दे,
हाम्री आमा कहाँ छिन् ?
सरकार किन मौन छ ?
यो नारा नारा मात्र थिएन, आमाको खोजीका लागि सन्तानको चित्कार थियो । विगत दश वर्षदेखि काठमाडौं जैसिदेवलकी छोरीमैयाँ महर्जन परिवारको सम्पर्कमा आएकी छैनन् । छोरीमैयाँ हराएलगत्तै उनका तीन छोरीहरू प्रहरी, सडक हुँदै अदालत पुगे । तर आजसम्म छोरीमैयाँको कुनै खबर छैन ।
१६ फागुन ०६८ को बिहान (८ः१५ तिर) छोरीमैयाँ साथी (सुरक्षा सिंह ‘निक्की’)लाई भेट्न बानेश्वर जान्छु भनी घरबाट निस्केकी थिइन् । १० वर्षअघि आमाको खोजखबर र न्यायका लागि सडकमा हारगुहार गर्दा सुधा २२ वर्षकी थिइन् । यो दश वर्षमा देशमै र सुधाको जीवनमै पनि धेरै परिवर्तन भए, तर सुधा र उनका बहिनीहरुको पीडा उस्तै छ । ‘आमाबिनाको यो समय निकै कठिन छ, कसरी बित्यो म शब्दमा भन्न सक्दिनँ,’ यति भन्दै गर्दा सुुधाको आवाज भासिन्छ । उनी आमाबारे सोच्दासोच्दै र सम्झँदासम्झँदै मानसिक रुपमा विक्षिप्त हुन पुग्छिन् । सुधा भन्छिन्, ‘गुमनाम पारिएकी आमाको खबरका लागि तड्पिनुको पीडा कुनै शब्दमा बयान गर्न सक्दिनँ ।’
सुखी परिवारमाथि वज्रापात
१० वर्षअघि छोरीमैयाँ ५१ वर्षकी थिइन् । नेपाली भाषा सामान्य लेखपढ गर्न सक्ने उनले सिलाइकटाइको व्यवसाय गर्थिन् । योसँगै उनी सिर्जनशील सिलाइ तथा प्रशिक्षण केन्द्र र सहमिलन महिला बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष समेत रहेकी थिइन् । उनका श्रीमान् (शिवकृष्ण) अवकाशप्राप्त कर्मचारी हुन् । नेपाल राष्ट्र बैंकको शाखा अधिकृतबाट उनले ०६७ देखि अवकाश लिएका थिए । ३० वर्ष सेवा गरेबापत बैंकबाट पाएको रकम (४३ लाख रुपैयाँ) छोरीमैयाँसँग थियो । श्रीमान् बैंकका अवकाश कर्मचारी, आफू सिलाइकटाइको व्यवसायी— उनको जीवन र घरपरिवार सुखपूर्वक चलिरहेको थियो । यतिखेर उनका तीन छोरी र श्रीमान् उनकै पर्खाइमा जलिरहेका छन् ।
छोरी सुधाका अनुसार, त्यस दिन बानेश्वर पुगेपछि छोरीमैयाँले मोबाइलबाट घरमा फोन गरेकी थिइन् । ‘आमाले सुरक्षा सिंह (निकी) को घरमा फोन गरी निकी घरमा छन् कि छैनन् भनी सोधेर खबर गर्न भन्नुभएको थियो,’ सुधा भन्छिन्, ‘जहाँ गए पनि आमा खाना खान घरमै आउनुहुन्थ्यो । तर, त्यस दिन बेलुकासम्म फर्कनुभएन ।’
आमाको खबर बुझ्न उनले फोन गरिन् । आमाको मोबाइलमा फोन उठ्यो तर कुनै आवाज आएन । छोरीमैयाँले बोक्ने मोबाइल दुुई दिन अघि मात्र खसेर बिग्रेको (डिसप्ले फुटेको) थियो । त्यसैले मोबाइलमा केही समस्या आएको हो कि भन्ने छोरीहरुलाई लाग्यो । राति ८ बजे छोरीमैयाँको नम्बरबाट सुुधाको मोबाइलमा एउटा म्यासेज आयो– ‘म मनकामनामा छु, साथमा साथी पनि छ, म पर्सि आउँछु।’
बिहानदेखि हराएकी आमाको अनपेक्षित म्यासेज आउँदा परिवारमा शंका र बेचयनी बढ्यो । सुधा भन्छिन्, ‘आमाको मोबाइलबाट म्यासेज आउँदा हामी झसंग भयौँ । आमाले राम्रोसँग नेपालीमा लेखपढ गर्न त सक्नुहुन्न, झन् रोमनमा म्यासेज टाइप गर्न सक्ने कुरै भएन । उहाँलाई मोबाइलमा फोन उठाउनेबाहेक अन्य कुनै पनि फङ्सन चलाउन आउँदैनथ्यो ।’
त्यो म्यासेजपछि आमा अप्ठेरोमा परेको हुन सक्ने आफूहरुले अनुमान गरेको उनी बताउँछिन् ।
त्यसपछि उनीहरुले सुरक्षा सिंहलाई फोन गरी आमाको अवस्थाबारे सबै कुरा बताए । र, अब के गर्ने भनी सल्लाह पनि लिए । ‘तर उहाँ (निक्की)ले केही हुँदैन, एक–दुुई दिनमा फर्किहाल्नुहुुन्छ भनी सामान्य रुपमा लिनुभयो,’ सुधा भन्छिन्, ‘त्यसपछि हामी आमाको खोजीका लागि प्रहरीमा पुग्यौँ । उहाँ (निक्की)ले आमासँग ५० लाख रुपैयाँ सापटी लिनुभएको थियो । तर, उहाँले आफूले आमासँग पैसा लिएको कुरा प्रहरी सामु नभन्नुु भन्नुभएको थियो । यसले हामीलाई थप शंका बढ्यो । आमाको साथी र विश्वास गरेको व्यक्ति भए पनि हामीले निक्कीलाई नै शंका गरी किटानी जाहेरी दियौँ ।’
निक्कीलाई प्रहरी पक्राउ गरी अदालतमा पु¥यायो । तर, एक लाख रुपैयाँ धरौटीमा निक्की छुटिन् । १९ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले मुख्य अभियुक्त निक्कीलाई सफाइ दियो ।
‘प्रहरी र अदालतबाट केही नहुने देखेपछि हामी महिला आयोग, मानव अधिकार आयोग, गृह मन्त्रालय लगायत विभिन्न निकायमा धाउन थाल्यौँ । न्यायका लागि सडकमा पनि पुग्यौँ,’ सुधा भन्छिन्, ‘सडकमा हडताल ग¥यौँ, धर्ना दियौँ । तर, अझैसम्म आमाको खबर पाएका छैनौँ । हामी अझै थाकेका छैनौँ । मेरी आमाको केस रि–ओपन हुनुप¥यो, इमानदार पुलिस अफिसरले अनुसन्धान गर्नुप¥यो ।’।
अनुसन्धान फितलो : अभियन्ता
छोरीमैयाँको न्यायका लागि धाउनुपर्ने सबै निकाय धाएको, भन्नुपर्ने सबैलाई भनेको, गर्नुपर्ने सबै क्रियाकलाप गरेको बताउँछन्, अभियन्ता देवान राई । ‘छोरीमैयाँ, निर्मला पन्त लगायतले न्याय नपाउनुले दण्डहीनताको संस्कृति मौलाइरहेको देखाउँछ,’ उनले भने, ‘एक सय सात दिनसम्म, ‘अक्कुपाइड बालुवाटार’ भनी बालुवाटारअघि धर्ना बस्यौँ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समिति गठन गरेका थिए । बाबुरामपछि खिलराज रेग्मी प्रधानमन्त्री भएको तेस्रो दिनमै यहाँबाट हट्नुस्, नत्र राम्रो हँुदैन भनी धम्की नै आयो ।’
अभियन्ता बिकिल स्थापित छोरीमैयाँको न्यायमा सम्बन्धित निकायले लामो समयसम्म झुलाएको बताउँछन् । ‘छोरीमैयाँको घटना एउटा उदाहरण मात्र हो,’ उनी भन्छन्, ‘जबसम्म आपराधिक घटनामा निष्पक्ष छानबिन हुँदैन । न्याय पाउँदैनन्, तबसम्म आपराधिक क्रियाकलापको विषयमा बहस हुनुपर्छ, सम्बन्धित निकायलाई घचघचाइरहनुपर्छ । घरघरमा पर्चा बाँड्नेदेखि कोणसभा, पोस्टरिङ क्याम्पियन, ¥याली गर्दा पनि अहिलेसम्म छोरीमैयाँको मुद्दामाथि निष्पक्ष छानबिन हुन नसक्नुु दुःखद हो ।’ देशको राजधानी भनिएको काठमाडौंमै यसरी मानिस बेपत्ता पारिन्छ भने अन्य पीडितको न्यायमाथि कति पहुँचवालाको खेल वा खेलबाड कति भइरहेको होला भनी उनले प्रश्न पनि गरे ।
‘अक्कुपाइड बालुवाटार’मा जोडिएका अभियन्ता जगन्नाथ लामिछाने केस दर्तादेखि अनुसन्धानको पाटो नै छोरीमैयाँको पक्षमा फितलो रहेको बताउँछन् । ‘छोरीमैयाँको मुद्दाले १० वर्षसम्म न्याय पाउन नसक्नु समग्र न्यायको असफलता हो,’ उनी भन्छन्, ‘उनको मुद्दा अनुसन्धानका लागि अनुसन्धान समिति गठन गरेर आउँदा पनि न्याय सहजै किनमेल हुन्छ भने न्याय र न्यायलयप्रतिको विश्वास के रहला ?’ समाजमा भएका यस्ता आपराधिक घटनाउपर राम्रोसँग अनुसन्धान गरेर सत्यतथ्य खोजेर पीडितलाई न्याय दिनु राज्यको दायित्व भएको उनी बताउँछन् ।