Kathmandu Press

वैज्ञानिकले पत्ता लगाए संसारको सबैभन्दा खतरनाक महामारी ‘प्लेग’को भ्याक्सिन

काठमाडौं, साउन १५ : तीन वर्षयता कोरोनाभाइरसको महामारी चलिरहेको छ। यो महामारी विश्वका लागि नयाँ भए पनि यसअघि योभन्दा धेरै भयानक महामारी आएका...
वैज्ञानिकले पत्ता लगाए संसारको सबैभन्दा खतरनाक महामारी ‘प्लेग’को भ्याक्सिन

काठमाडौं, साउन १५ : तीन वर्षयता कोरोनाभाइरसको महामारी चलिरहेको छ। यो महामारी विश्वका लागि नयाँ भए पनि यसअघि योभन्दा धेरै भयानक महामारी आएका छन्।

इतिहासकै सबैभन्दा खतरनाक महामारी हो, प्लेग। सन् ५४१ मा देखिएको ‘जस्टिनियनको प्लेग’बाट २५ देखि ५० लाख मानिसको मृत्यु भएको थियो। १४औं शताब्दीमा आएको ‘ब्लाक प्लेग’ले युरोपको आधा जनसंख्या नै सखाप बनाएको थियो। युरोप र एसियामा गरि ब्लाक प्लेगले लगभग दुई करोड मान्छेको ज्यान लिएको थियो।

त्यसपछि पनि समयका विभिन्न कालखण्डमा प्लेग देखिने क्रम जारी रह्यो। लाखौं मान्छेले ज्यान गुमाइरहे। अझै पनि अफ्रिका लगायत विभिन्न ठाउँमा प्लेगका लक्षणहरु भेटिइरहेका छन्। तर, पछिल्लो समय भने त्यसले महामारीको रुप लिइसकेको छैन।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले सोही पूरानो दूश्मन प्लेगको नयाँ भ्याक्सिन तयार गरेका छन्। कोभिडविरुद्धको भ्याक्सिन तयार गरेकै प्रविधिमा आधारित रहेर उनीहरुले प्लेगको नयाँ भ्याक्सिन बनाएका हुन्।

वैज्ञानिकहरुले नयाँ भ्याक्सिनको मानव परीक्षण गर्न तयार पनि रहेको जनाएका छन्। उनीहरु हाल भ्याक्सिनको परीक्षणका लागि स्वयंसेवकहरु लिइरहेका छन्।

प्लेग येर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण हुन्छ। जनावरबाट झिँगा, किरा, फट्यांग्रालगायतबाट मान्छेमा सर्ने यो विमारी विभिन्न माध्यमबाट मान्छे–मान्छेमा सर्ने गर्दछ। समयमै उचित उपचार भएन भने प्लेग लागेको मान्छे बाँच्ने सम्भावना अत्यत्नै न्यून हुन्छ।

यसका लक्षणहरु पनि फ्लूको जस्तै हुन्छन्। ज्वरो, सामान्य रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्ने, थकान, चिसो हुने, आदी। यो क्रम बढ्दै गएर शरीरका ‘लिम्फ नोड’हरु सुन्निने र दुख्ने हुन्छ, जसलाई ‘बुबोज’ भनिन्छ। यसैकारण यसको नाम ‘बुबोनिक प्लेग’ पनि रहन गएको हो।

सन् १९९० को तुलनामा पछिल्लो समय प्लेगका घटना बढीरहेको वैज्ञानिकहरु बताउँछन्। सन् २०१० देखि २०१५ को अवधिमा विश्वभर तीन हजार दुई सय ४८ जनामा प्लेग देखिएको थियो। जसमध्ये ५ सय ८४ जनाको मृत्यु भएको तथ्यांक छ। २०१७ मा माडागस्करमा फैलिएको प्लेगले दुई हजार एक सय १९ जनालाई संक्रमति बनाउँदा एक सय ७१ जनाले ज्यान गुमाएका थिए।

हालसम्म पत्ता लागेको प्लेगको उपचार भनेको एन्टीबायोटिकको सेवन हो। यसले यसका सबै भेरियन्टमा भने असर गर्दैन। र, यो सधैं सम्भव पनि हुँदैन।

‘एन्टीबायोटिकले केही हदसम्म प्लेगको निदान गर्न सकिने भएता पनि यसका लागि चाँडोभन्दा चाँडो संक्रमण पत्ता लाग्न जरुरी छ। तर, प्लेग ग्रामिण भेगमा बढी देखिने गरेको छ। त्यहाँ सधैं एन्टीबायोटिकको उपलब्धता नहुन सक्छ। त्यसैले भ्याक्सिनको प्रयोग गर्न सके यसलाई पराजित गर्न सकिने थियो,’ अक्सफोर्ड विश्वविद्यालयका भाइरोलोजिस्ट क्रिस्टिन रोलियरले बताएकी छिन्।

अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन ग्रुपले मांशपेसीमा लगाइने भ्याक्सिनको खोज गरेको छ। कोभिड–१९ को एस्ट्राजेनेका भ्याक्सिनमा जस्तै यसमा पनि चिसोको एडेनोभाइरसको परिमार्जित रुप यसमा प्रयोग गरिएको छ।

यो भाइरसको माध्यमबाट प्लेगविरुद्ध लड्ने जिन कोडलाई शरीरमा भएको प्रोटिनमा पठाउँछ। त्यसपछि यसले हाम्रो प्रतिरक्षात्मक प्रणालीलाई प्लेग संक्रमण गराउने पेस्टिसलाई दुश्मनका रुपमा चिनाउँछ र मिलेर पराजित गर्न सहयोग गर्छ।

कोभिड–१९ का केही भ्याक्सिनमा पनि यही तरिका अपनाइएको छ। प्लेगको भ्याक्सिनको साइडइफेक्ट पनि सामान्य दुखाइ, ज्वरोदेखि खोप लगाएको पहिलो हप्ता केही एलर्जीजन्य प्रतिक्रिया हुनसक्ने बताइएको छ। तर, यी सबैलाई भने हुँदैन।

अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन पत्ता लगाउने वैज्ञानिकहरु अहिले १८ देखि ५५ वर्षका स्वस्थ व्यक्तिहरुमा मानव परीक्षण गर्नै योजनामा छन्। परीक्षणमा सहभागी हुनेहरुलाई प्रति व्यक्ति आठ सय ८० अमेरिकी डलर अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा बढी रकम प्रदान गरिने पनि उनीहरुले बताएका छन्।

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्