Kathmandu Press

युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गरः योगेश भट्टराई

एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग–अलग खडा गरेका युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन्।
युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गरः योगेश भट्टराई
Hardik ivfHardik ivf

काठमाडौं, साउन ८ : एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग–अलग खडा गरेका युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।

अनेरास्ववियु र युवा संघजस संगठनलाई ओझेलमा पारेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्यमाथि उनले प्रश्न उठाएका हुन् ।

‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन– क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवालाई राजनीतिक–वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पु¥याएका अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ ?’ भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवालाई अराजनीतिकरण गर्दै कानून हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत यस्ता बहुबली समूहहरू तत्काल खारेज गर्नुपर्छ ।’

अनेरास्ववियू र युवा संघजस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गराउनुपर्ने उनले लेखेका छन् ।

‘के काम हुन्छन्, जो युवा संघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथ फोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने ?’ भट्टराईले प्रश्न गरेका छन्, ‘पार्टीभित्रका गुटहरूमा वैचारिक चरित्र सकिँदै जाँदा एकअर्काविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैँले खनिरहेको स्वीकार गर्नुपर्छ ।’

शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानूनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिनेजस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गरेको एमालेका लागि यो सुहाउने काम नभएको उनले सम्झाएका छन् । ‘तसर्थ, यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष अनुरोध गर्दछु,’ भट्टराईले भनेका छन् ।

प्रकाशित मिति: २१:४१ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्