Kathmandu Press

काठमाडौंमा खेत जोत्‍न गोरुको प्रयोग नगर्नुका यी चार कारण

पशुपतिनाथको बाहन मानिएकाले काठमाडौं उपत्यकामा खेतबारी जोत्‍न गोरुलाई प्रयोग नगरिएको हो। त्यसबाहेकका अन्य कारण पनि छन्, खेतबारीमा गोरु नार्ने चलन अवलम्बन नगरिनुका।
काठमाडौंमा खेत जोत्‍न गोरुको प्रयोग नगर्नुका यी चार कारण

खेतबारी जोत्‍न नेपालका पहाडी र तराई भेगमा हल गोरुको प्रयोग गर्ने परम्परागत चलन हो। काठमाडौं उपत्यकामा भने गोरु प्रयोग गरिँदैन। पछिल्लो समय गोरुको साटो ट्र्याक्टर प्रयोग पनि बढेको छ, पहाडी र तराई भेगमा। काठमाडौंमा पहिलेदेखि नै मानिसले खनेर गह्रा हिल्याउने चलन थियो। अहिले मेसिनको प्रयोग पनि बढेको छ।

काठमाडौं उपत्यकामा गोरु प्रयोग नगर्नुको मुख्य कारण भनेकै यसलाई पाशुपत क्षेत्रका रूपमा मानिनु हो। यहाँ पशुपतिनाथको अस्तित्व रहेको मानिन्छ। गोरुलाई पशुपतिनाथको बाहन मानिन्छ। सोही कारण उपत्यकावासीले गोरु जोत्‍नु भनेको पशुपतिको बाहनलाई जोत्‍नु रहेको मान्‍ने गर्छन्।

आफ्नो बाहन प्रयोग गरेर खेतबारी जोतेको पशुपतिनाथलाई पनि प्रिय छैन। यहाँ मात्र नभई अन्य ठाउँमा पनि गोरु जोत्‍न नहुने हो। तर, उपत्यकाबाहिरका बासिन्दाले यो कुरा सम्झिन सकेनन् र गोरु जोत्‍ने चलन बस्यो। उनीहरूले आफूलाई सजिलो हुने कुरालाई मात्र प्राथमिकतामा राखेर काम गरिरहेका हुन्। 

Hardik ivf

धान रोप्दा र गोड्मेल गर्न आफ्नै बाहुबलले गर्नुपर्छ। त्यो गर्न नसकेरै अन्य ठाउँमा गोरु जोत्‍ने गरिएको छ। काठमाडौंमा भने पशुपतिकै बास भएको हुनाले गोरु नजोत्‍नु भन्‍ने शिवको पनि वचन रहेको जनविश्‍वासका साथ उपत्यकावासीले यसको पालना गर्दै आएका छन्।

काठमाडौंमा पहिलादेखि नै शैवधर्मको शासनसत्ता चलिआएको छ। शासनसत्ता भनेको समाजको व्यवस्थापन हो। समाजको व्यवस्थापनका लागि विभिन्‍न गणहरू छुट्याइएको हुन्छ। ती सबै गणका नेता अर्थात् गणाध्यक्ष भनेर शिवलाई मान्‍ने गरिन्छ। त्यसैले पनि उनको वचनलाई मान्यता दिएर गोरु जोत्‍ने परम्पराको अन्त्य गरिएको हो।

यस्तै, नेवार समुदायमा गोरु जोतेर रोपेको धानले देवतालाई पूजा गर्न नहुने जनआस्था छ। त्यो पनि यहाँ गोरु नजोत्‍नुको प्रमुख कारण हो।

देवतालाई नै पूजा गर्न नहुने चिज हामीले खान हुन्छ त भनेर धर्मवीरहरू त्यो चामलको भात त परैको कुरा चिउरासमेत पनि खाँदैनन्। भनेपछि यो ठाउँमा त गोरु जोत्‍नै भएन। यहाँ गोरु नजोत्‍नुको ऐतिहासिक घटनाक्रम यस्तो छ। नेपाल भाषामा गोरु जोत्‍नेलाई ‘वासाँ वाय्केगु’ अर्थात् गोरु जोतेर खेतलाई सम्याउने भनिन्छ।

सामाजिक विकासक्रमलाई केलाऊँ। काठमाडौंमा बस्ती बसेको सुरुवाती चरणदेखि नै यहाँ गोरु जोतेको इतिहास पाइँदैन। विगतमा यहाँ धेरै गाईगोरु भए पनि तिनलाई खेत सम्याउने काममा प्रयोग गरेको पाइँदैन।

मानिसमा चेतनाको विकास नहुँदा त जे पनि हुन्थ्यो तर जब सामाजिक विकासवादी सिद्धान्तको विकास भयो, त्यसपछि भने गोरुलाई जोतेर वा दुःख दिएर उमारेको धान पूजा गरे पनि त्यसको फल पाइँदैन र खाए पनि जिउमा लाग्दैन भन्‍ने विश्‍वास भएपछि गोरु नजोतिएको हो।

यस्तै, काठमाडौं वागमती, विष्णुमतीलगायत नदीबाट सिञ्‍चित भएकाले यहाँको माटो पनि मलिलो छ। सोही कारण पनि गोरु जोत्‍न आवश्यक नठानिएको हो। पहिलादेखि नै यहाँ धान रोप्न कुनै समस्या हुँदैनथ्यो। त्यो पनि एक प्रमुख कारण हो।

काठमाडौंमा मानिस आफैँले खेत सम्याएर धान रोपिसकेपछि जनैपूर्णिमाको दिन भ्यागुतालाई पूजा गरेर भात खुवाउने चलन पनि छ, जसलाई नेपाल भाषामा ‘ब्यान्चा जा नकेगु’ भनिन्छ। त्यसो गर्दा धान रोपिसकेपछि खेतमा विभिन्‍न किरा फट्यांग्राले दुःख दिँदैनन् र किरा लागे पनि भ्यागुताले सबै किरालाई सखाप पार्ने विश्‍वास गरिन्छ। अन्‍न जोगाउन सहयोग गर्ने विश्‍वासका साथ भ्यागुताको पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ।

(संस्कृतिविद् शर्मासँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्