Kathmandu Press

मस्तिष्कमा पोस्ट कोभिड प्रभाव : स्मरणशक्ति घट्ने जोखिम

मनोविद् करुण कुँवरका अनुसार अहिले धेरै मानिस तनावका कारण पाचन प्रणालीमा असर पर्न गई शरीरका अन्य अंगमा समस्या देखिन थालेको छ।
मस्तिष्कमा पोस्ट कोभिड प्रभाव : स्मरणशक्ति घट्ने जोखिम

काठमाडौं, असार १५ : कोरोना संक्रमण निको भएका बिरामीमा दीर्घकालीन मानसिक रोग देखिन थालेको विज्ञहरूले बताएका छन्।

कोरोना संक्रमण नभएका मानिसमा समेत यस्तो समस्या देखिन थालेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकाल बताउँछन्। ‘कोभिडका कारण मस्तिष्क स्वास्थ्यमा समस्या निम्तिएर मेमोरी डिस्फंक्सन अर्थात् सम्झने क्षमता कम हुनसक्छ,’ उनले भने ‘संक्रमणबाट निको भएका मानिसमा यस्तो समस्या अझ बढी देखिएको छ।’

कोभिडकै कारण मानसिक रोगी बढेका हुन् कि होइनन् भन्ने विषयमा विभिन्न अध्ययन भइरहेको उनले बताए। ‘कोभिडकै कारण मानसिक रोगी बढेको रिपोर्ट आएको छैन। तर, कोभिडसँग जोडिएका लकडाउन, आर्थिक संकटलगायत विषयले मानिसको मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने।

Hardik ivf

संक्रमित नभएका मानिसमा कोरोना लाग्यो भने के गर्ने भन्ने डर रहेको र संक्रमित भएकाहरूमा मनोबल कम हुने देखिएको उनले बताए। मानिसले बढी प्राथमिकता दिँदै धेरै समय यही कुरा सोचिरहँदा मस्तिष्कमा धेरै असर पार्ने ढकालले बताए।

‘कोरोना लागे पनि त्यसलाई पार लगाउनुपर्छ भनेर मनोबल उच्च नराख्ने भएकाले संक्रमित हुँदा धेरै तनावबाट गुज्रेको हुन्छ, जुन अरू कसैसामु व्यक्त गर्न सकेको हुँदैन,’ उनले भने ‘यसले मानिसलाई अति डराउने, आत्तिने वा शुद्धिबुद्धि नै हराउनेसम्म हुनसक्छ।’

संक्रमणबाट निको भइसकेपछि पनि एकोहोरो हुने, स्वभावमा परिवर्तन आउने, काममा मन नलाग्ने, खुशी नहुने, निरुत्साहित हुने, काम वा कसैको कुरामा ध्यान नजाने, बिर्सिने बानी हुने, झर्को लाग्नेलगायत समस्या केही समयसम्म देखिनसक्ने उनले बताए।

ढकालका अनुसार यस्ता समस्या क्रमशः कम हुँदै जान्छन्। केही व्यक्तिमा भने यसले स्वभावकै रूप लिन सक्ने भएकाले समयमै सम्बन्धित विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ। ‘बिरामी अस्पतालबाट घर फर्किसकेपछि परिवार र छरछिमेकले गर्ने व्यवहार, कसको कुरा सुन्छ, कस्तो समाचार हेर्छलगायत कुराले पनि मानसिक रोगलाई प्रभाव पारेको हुन्छ,’ उनले भने।

तसर्थ, बिरामी स्वयंले संक्रमणबाट कसरी मुक्त हुने तथा परिवार र छरछिमेकले पनि पहिलाकै जस्तो जीवनशैलीमा कसरी फर्काउने भन्ने विषयमा सहयोग गर्दा खासै समस्या नआउने उनको सुझाव छ।

महामारीअघि नै मानसिक समस्या भएकाहरूलाई अहिले थप समस्यामा परेको ढकालको बुझाइ छ। मानसिक समस्या नभएकाहरूमा पनि महामारीका कारण निम्तिएको लामो अनिश्चितता, व्यवसाय खस्किनु, रोजीरोटीको समस्यालगायतले प्रभाव पारिरहेको उनको ठम्याइ छ। ‘कुनै पनि व्यक्तिले नसोचेको वा अचानक आइपरेको घटनामा चिन्तित हुनु स्वाभाविकै हो। तर त्यस परिस्थितिको कसरी सामना गर्ने भन्ने कुरा व्यक्ति स्वयंमा निर्भर हुन्छ,’ उनले भने।

विज्ञहरूका अनुसार कोभिडका कारण मानिसमा डिप्रेसन, एन्जाइटीलगायत समस्या देखिएका छन्। कोरोनामुक्त भएका, कोरोनाका कारण परिवारका सदस्य गम्भीर अवस्थामा पुगेका र परिवारका सदस्य नै गुमाएकाहरूमा अझ बढी यस्तो समस्या देखिएको छ। यसबाट बच्न उच्च मनोबल राख्नुको विकल्पमा नरहेकामा उनी जोड दिन्छन्।

सेती अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कोरोना निको भएका कतिपयमा मानसिकसँगै शारीरिक समस्या पनि देखिएका छन्। निको भइसकेपछि पनि रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टा दुख्नेलगायत समस्या देखिएको उनले जानकारी दिए।

‘अहिले पोस्ट कोभिडभन्दा पनि कोरोनाकै जस्तो लक्षण लिएर आउने बिरामी बढी छन्,’ डा. कमरले भने, ‘ज्वरो आउने,
श्वासप्रश्वासमा समस्या, हातगोडा दुख्नेलगायत समस्या लिएर आउने बिरामी बढेका छन्।’ त्यस्तो समस्या लिएर अस्पताल आउनेहरूमध्ये प्रायः कोभिड निको भइसकेकाहरू बढी रहेको उनले जानकारी दिए।

मनोविद् करुणा कुँवर भने पोस्ट कोभिडमा देखिएका अधिकतम समस्या मस्तिष्कमा भएको तनावका कारण हुने बताउँछिन्। अहिले मानिसले कोरोनाका कारण आफन्त गुमाइरहेको र आफैँ पनि संक्रमित भइरहँदा त्यसले मस्तिष्कमा एक प्रकारको तनाव पैदा गरेकाले धेरै मानिसमा पोस्ट कोभिडको समस्या देखिएको उनको भनाइ छ।

‘मानिसको उत्पत्तिदेखि नै हामीले कुनै पनि अवस्थामा वा बाँच्नका लागि दुई खालको प्रतिक्रिया दिन्छौँ– फ्लाई (भाग्नु) र फाइट (जुध्नु)। मानिसले आफू बाँच्नका लागि कि त पर भाग्छ कि परिस्थितिसँग जुध्छ,’ उनले भनिन्, ‘त्यो समयमा हाम्रो मस्तिष्क स्वतः फ्लाई वा फाइटमा जान्छ।’ मस्तिष्कमा एकैचोटी धेरै तनाव आउँदा मानिसको पाचन प्रणालीमा सीधै असर पर्ने कुँवर बताउँछिन्।

उनका अनुसार मस्तिष्कमा तनाव उत्पन्न हुनेबित्तिकै पाचन प्रणालीमा असर हुने र यसै कारण धेरै दिसापिसाब लाग्ने, मुटुको धड्कन बढ्ने, शरीरका अंगहरू झमझमाउने, जिउ तातो वा चिसो हुने, टाउको दुख्ने, छाती भारी हुने, आँखा धमिलो हुने, बेहोस हुनेलगायत समस्याहरू आउने उनी बताउँछिन्।

कोरोना महामारीअघि पनि धेरै तनावमा रहने मानिसमा यस्ता समस्याहरू देखिने गर्थे। त्यस्ता समस्यामा ध्यान नदिँदा अहिले पोस्ट कोभिडका रूपमा यसलाई चिनिन थालेको उनी बताउँछिन्। ‘कुनै असामान्य घटनाको समाचार आउँदा मानिस बेहोस भएका घटनाहरू पहिले पनि धेरै थिए,’ उनले भनिन्। यो समस्या कसैलाई छोटो त कसैलाई लामो समयसम्म रहनसक्ने उनी बताउँछिन्।

उनका अनुसार अहिले धेरै मानिस तनावका कारण पाचन प्रणालीमा असर पर्न गई शरीरका अन्य अंगमा समस्या देखिन थालेको छ। शरीरमा जुन समस्या आयो, त्यसैको मात्र उपचार गराईहँदा तनावका कारण यस्तो भएको भन्ने कुराको धेरैमा ज्ञान छैन। अन्जानमा वा जानेर लामो समयसम्म यसको उपचार हुन नपाउँदा पछि ठूलो रूप लिन सक्ने सम्भावना उनी औँल्याउँछिन्।

सोही कारण पोस्ट कोभिडसँग सम्बन्धित कुनै समस्या आएमा सर्वप्रथम मस्तिष्कलाई तनावमुक्त बनाउनुपर्ने उनको सुझाव छ। त्यसका लागि व्यायाम गर्ने, सकारात्मक सोच बनाउने, आफूलाई अन्य काममा व्यस्त राख्नेलगायत कामहरू गर्न सकिन्छ। कतिपय मानिसलाई आफ्नो शरीरमा समस्या आउँदा तनावले वा अन्य केही कारणले हो भन्ने कुरा पत्ता नलाग्दा समस्या बल्झिनसक्ने सम्भावना रहने उनी बताउँछिन्।

प्रकाशित मिति: ०९:०१ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्