Kathmandu Press

‘पब्जी’ले बनायो खर्बपति, एकै महिनामा तीन खर्ब कमाइ

‘प्लेयर अन्नन्स ब्याटल ग्राउन्ड्स’, अर्थात् ‘पब्जी’, भिडियो गेम्स इतिहासकै सबैभन्दा प्रख्यात र सफल गेम्समध्येमा पर्छ। हाम्रो समाजमा भिडियो गेम्स खेलेर समय बर्बाद गरेको...
‘पब्जी’ले बनायो खर्बपति, एकै महिनामा तीन खर्ब कमाइ

‘प्लेयर अन्नन्स ब्याटल ग्राउन्ड्स’, अर्थात् ‘पब्जी’, भिडियो गेम्स इतिहासकै सबैभन्दा प्रख्यात र सफल गेम्समध्येमा पर्छ। हाम्रो समाजमा भिडियो गेम्स खेलेर समय बर्बाद गरेको बुझाइ भएतापनि गेम्स मनोरञ्जन उद्योगको निकै ठूलो हिस्सेदार हो।

भिडियो गेम्सका बारेमा खोज तथा अध्ययन गर्ने संस्था न्युजूका अनुसार भिडियो गेम्स उद्योगले सन् २०२० मा मात्र एक खर्ब ५९ अर्ब ३० करोड अमेरिकी डलर आय गरेको थियो। न्युजूले सन् २०२३ मा आय बढेर दुई खर्ब डलरभन्दा बढी पुग्ने प्रक्षेपणसमेत गरेको छ।

यसमध्ये मोबाइल गेम्सले मात्रै ८५ अर्ब डलर आय गरेको न्युजूमा उल्लेख छ। भिडियो गेम्सको आयमा मोबाइल गेम्सको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको देखिन्छ।

पछिल्लो समय सबैभन्दा बढी खेलिने मोबाइल गेम्समा पर्छ, पब्जी। ‘पब्जी’लाई क्राफ्टन इन्क नामक कोरियन कम्पनीले बजारमा ल्याएको हो। सन् २००७ मा स्थापना भएको अनलाइन गेम्स निर्माण गर्ने कम्पनी क्राफ्टनका संस्थापक हुन् च्याङ ब्युङ–ग्यू।

सन् २०१८ मा क्राफ्टनमा विश्वको सबैभन्दा ठूलो भिडियो गेम्स वितरक तथा सबैभन्दा मूल्यवान कम्पनीमध्येमा पर्ने ‘टेन्सेन्ट’ले लगानी गरेपछि रातारात यसको बजार मूल्य आकासिँदै विश्वको ठूलो गेम्स कम्पनीमध्येमा पर्न सफल भयो।

चीनमा सर्वाधिक प्रयोग हुने मेसेजिङ एप विच्याट र सबैभन्दा बढी हेरिने वेबसाइट क्यूक्यू डटकम ‘टेन्सेन्ट’कै अधीनमा छन्। क्राफ्टनमा भने उसले १० प्रतिशत हिस्सा रहने गरी ५० करोड डलर लगानी गरेको थियो।

सन् २०१७ मा पब्जीले केबल ७९ दिनमै प्रिरिलिजमार्फत् १० करोड डलर कमाएर विश्व रेकर्ड नै तोडेको थियो। पब्जीको त्यही ‘क्रेज’ले प्रभावित हुँदै टेन्सेन्टले क्राफ्टनमा लगानी खन्याएको हो।

अर्को महिना क्राफ्टनको आईपीओ जारी हुँदैछ। क्राफ्टनको आईपीओ दक्षिण कोरियाको सेयर बजारको इतिहासमा जारी भएको सबैभन्दा ठूलो आईपीओ हुने सबैको अनुमान छ। क्राफ्टनले पनि आईपीओबाट चार अर्ब ९० करोड अमेरिकी डलरसम्म उठाउने अपेक्षा गरेको छ।

आईपीओ जारी भएपछि क्राफ्टनका संस्थापक च्याङ ब्युङ–ग्यूसँग १४ प्रतिशत सेयर रहने छ। र, आईपीओ जारी हुनासाथ उनको कूल सम्पत्ती कम्तीमा पनि तीन अर्ब ५० करोड डलर पुग्दैछ। अर्थात्, चार खर्ब १६ अर्ब नेपाली रुपैयाँभन्दा बढी।

फोब्र्सको १ जुनको तथ्यांकअनुसार अहिले ब्युङ–ग्यूको कूल सम्पत्ती ९९ करोड मिलियन डलर छ। यो एक खर्ब १७ अर्ब नेपाली रुपैयाँभन्दा बढी हुन्छ। क्राफ्टनको आईपीओ जारी भएसँगै उनको सम्पत्ती चार गुणा बढेर चार अर्बभन्दा बढी हुँदैछ। फोब्र्सका अनुसार उनी अहिले कोरियाका ४८औँ धनाढ्य व्यक्ति हुन्।

क्राफ्टनको आईपीओले उनलाई मात्र होइन, कम्पनीकी सीईओ किम चाङ–हान, उनकी श्रीमती चङ सिअङ–हाई र मुख्य लगानीकर्ता टेन्सेन्टलाई पनि मालामाल बनाउँदैछ। आईपीओपछि सीईओ किमसँग कम्तीमा ३३ करोड ६० लाख डलरबराबरको सेयर हुनेछ। अर्थात्, चार अर्ब नेपाली रुपैयाँ।

यस्तै संस्थापक ब्युङ–ग्यूकी श्रीमती चङले २० करोड ६० लाख डलरबराबरको सेयर हात पार्नेछिन्। अर्थात्, दुई अर्ब ४५ करोड नेपाली रुपैयाँ।

तीन वर्षअघि ५०० मिलियन डलर लगानी गरेको टेन्सेन्टको १३ प्रतिशत सेयर कायम रहने बताइएको छ। क्राफ्टनको आईपीओ जारी भएसँगै यसको मूल्य तीन अर्ब ३० करोड बिलियन डलर पुग्नेछ। तीन वर्षमै टेन्सेन्टले आफ्नो लगानीको ६ गुणाभन्दा बढी आय गर्न सफल हुने निश्चित छ।

पब्जीको कम्प्युटर र कन्सोल भर्सन ७५ मिलियन प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने यसको मोबाइल भर्सन विश्वका १५० भन्दा बढी देशमा सर्वाधिक डाउनलोड भएको एप्समा पर्छ। एन्ड्रोइडको प्लेस्टोर र एप्पलको एप स्टोरबाट सन् २०२० मा मात्र पब्जीले दुई अर्ब ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएको थियो।

(तथ्यांक स्रोतः ब्लुमबर्ग, फोब्स, बिजनेस टुडे, न्युजू, रोयटर्स)
 

प्रकाशित मिति: ०६:२३ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्